आज राष्ट्रिय धान दिवस, बागलुङ जिल्लामा २० प्रतिशत रोपाईं सकियो

आज राष्ट्रिय धान दिवस, बागलुङ जिल्लामा २० प्रतिशत रोपाईं सकियो

-राजेशचन्द्र राजभण्डारी

आज नेपालमा परम्परागत रूपमा दही चिउरा खाने दिनका रूपमा असार १५ मनाइन्छ । आजकै दिन सरकारले राष्ट्रिय धान दिवस तथा कृषकहरूले रोपाईं महोत्सव/रोपाईं जात्राका रूपमा मनाउने गरेकोमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियण्ट समुदायस्तरमा फैलिएर निषेधाज्ञा लागू भइरहेको बेला राष्ट्रिय धान दिवस भने मात्रै औपचारिकतामा सिमित हुनपुगेको छ ।

यो वर्ष छिट्टै मनसुन शुरू भएकाले दिनहुँजसो पानी पर्न थालेपछि गण्डकी प्रदेशको दोस्रो ठूलो व्यापारिक केन्द्र बागलुङ जिल्लाका कृषकलाई यतिबेला धान रोप्न भ्याइनभ्याइ छ । सरकारले चालु वर्ष धान दिवसको नारा ‘धान उत्पादनमा वृद्वि, खाद्यसुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने तय गरेको छ ।

मानो रोपेर मुरी फलाउने महिनाको मध्यमा पर्ने असार १५ को नेपालमा विशिष्ट महत्व छ । कृषिप्रधान देश भएकाले प्रायः देशैभर धानखेती र रोपाइँ हुने यो समयमा कृषकहरूको व्यस्तता र माहौल नै अर्कै हुने गरेकाले पनि असार १५ लाई विशेष मानिने गरिएको छ ।कोरोना महामारीको कारण गाउँघरमा आफू र आफन्त मात्र मिलेर धान रोपाईं गरिरहेको किसानहरु बताउँछन् । तर, कोरोना महामारीका कारण कुनै औपचारिक कार्यक्रम भने राखिएका छैनन् । १८ औँ राष्ट्रिय धान दिवस मनाउँदै गर्दा बागलुङ जिल्लामा २० प्रतिशत धान रोपाईं भइसकेको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ ।

कृषि प्रधान देश भएकाले ग्रामीण भेगका अधिकांश नेपालीको पेशा खेतीपाती रहेको छ । किसानहरु वर्षभरका लागि छाक जुटाउन यो एक महिना खेतिपातीमा निकै व्यस्त हुन्छन् । युवा जनशक्ति विदेशमा रहेको बेला शहर पसेकाहरु सरकारले निषेधाज्ञा जारी गरेपछि गाउँ फिर्ता भएका कारण यो वर्ष धान रोपाईंमा केही सहज भएको देखिन्छ ।

अहिले गाउँ गाउँमा हलोको रुपमा मिनी टेलर पुगे पनि गोेरू भएका किसानहरू भने गोरू जोतेरै धान खेती गरिरहेको बताउँछन् । टेलरमा पहुँच नभएको कारणले पनि आफूहरु गोरूबाटै खेत जोत्न बाध्य भएको बताउँछन् ।

बागलुङ जिल्लामा यो वर्ष जेठको तेस्रो सातादेखी मनसुन शुरू भएको छ । जिल्लाका चारवटा नगरपालिका र छ वटा गाउँपालिकामा धानखेती हुने ५ हजार हेक्टर खेतमध्ये अहिलेसम्म २० प्रतिशत खेतमा रोपाईं सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

नेपाल सरकारको २०६१ मंसिर २९ गतेको निर्णयअनुसार २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । आजको दिन कामको चटारोका कारण थकित भएका किसानले शक्ति प्राप्तिका लागि दहीच्यूरा खाने र शरिरमा शितलता भई शक्तिसञ्चय हुने विश्वास गर्छन् । साथै असारे भाकामा गीत गाउँदै हिलोमा रमाइलो समेत गर्ने गरिन्छ ।

टिप्पणीहरू