एक किसमा मन्त्री पद चौपट

एक किसमा मन्त्री पद चौपट

बेलायती स्वास्थ्यमन्त्रीलाई आफ्नी एक सहकर्मीलाई गरेको चुम्बन निकै महँगो साबित भएको छ । कोरोना महामारीमा सामाजिक दूरी कायम नगरेको र सहकर्मीलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि उनले राजिनामा दिएका छन् ।

स्वास्थ्यमन्त्री म्याट ह्यानककले सामाजिक दूरीको पालना नगरी आफ्नी एक सहकर्मीलाई चुम्बन गरेपछि बेलायतमा सनसनी मच्चिएको हो । चुम्बनको तस्बिर सार्वजनिक भएपछि ह्यानककले प्रधानमन्त्री बोरिस जोनसनसमक्ष राजीनामा बुझाउँदै माफी मागेका हुन् ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले भनेका छन् ‘हामी जनताप्रति ऋणी छौं । उनीहरूले महामारीमा निकै ठूलो त्याग गरेका छन् । इमान्दारितापूर्वक भन्नुपर्दा मैले राज्यको मार्गनिर्देशनको उल्लंघन गर्दै जनतालाई निराश तुल्याएँ ।’

बेलायती अखबार ‘द सन’ ले तीन सन्तानका विवाहित पिता ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर सार्वजनिक गरेपछि उनीमाथि राजीनामा दिन दबाब बढेको थियो । पत्रिकाले मन्त्री र सहकर्मीबीच ६ मेमा गरिएको चुम्बन भनेको छ ।

मन्त्रीको राजीनामापछि उनकी श्रीमतीसँगको झण्डै डेढ दशकको वैवाहिक सम्बन्ध पनि धरापमा परेको बेलायती समाचार संस्थाहरूले बताएका छन् ।

टिप्पणीहरू