खुवाएर जाँदा खत्तमै

चिनियाँ सरकारको छात्रवृत्तिमा पढ्न गएका एक जना विद्यार्थी दुई महिना पनि नबित्दै डिपोर्टमा परेका छन् । पाँचवर्षे भाषा शिक्षण कार्यक्रमअन्तर्गत स्नातक अध्ययन गर्न भदौ दोस्रो साता ‘बेइजिङ ल्याङ्ग्वेज एण्ड कल्चर युनिभर्सिटी’ मा पुगेका विद्यार्थी मानसिक रोगका कारण फिर्ता पठाइएपछि कुकुर तिहारको दिन काठमाडौं आइपुगेका छन् ।

निरोगिताको प्रमाणपत्र पेश गरेर झुक्याउने विद्यार्थी पोखराका मधुसूदन खनाल हुन् । नेपालमा हुँदा पनि मानसिक रोगको औषधि खाइरहेका उनले चीनमा पढ्न तनहँुका ध्रुब पौडेललाई डेढ लाख रुपैयाँँ बुझाएर छात्रवृत्ति हात पार्न सफल भएको आरोप छ । तर, उनी बेइजिङ पुगेको केही दिनमै पुरानो मानसिक रोग बल्झेपछि चीन सरकारको टाउको दुखाइ बनेको थियो । सोही युनिभर्सिटीमा अध्ययनरत एक विद्यार्थीका अनुसार खनालले विश्वविद्यालयमा पढ्ने सबै नेपाली विद्यार्थीलाई मेरो खुट्टा ढोग भनी मुक्का हान्दै हिँड्ने गर्थे । ठाडै छोप्ने हुँदा नेपाली युवती जोगिन भागेर हिँड्थे । केही युवासँग कुटाकुट पनि परेको थियो ।

खनाल नेपाली विद्यार्थीमाथि जाइलागे पनि चिनियाँको अगाडि भने लम्पसार पर्थे । कक्षामै बियरको बोतल समाएर चुरोट तान्दै पुग्ने उनी २४ सै घन्टा रक्सीको मातमा हुने गर्थे । विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले बल्लतल्ल पक्रेर चिनियाँको सहयोगमा अस्पतालमा राख्न सफल भएका थिए । अस्पताल भर्ना गरेको दुई हप्तापछि चीन सरकारले बेइजिङस्थित नेपाली दूतावासको रोहबरमा डिपोर्ट गरेको हो ।
मधुसूदन खनाल काण्डमार्फत नेपालबाट छात्रवृत्तिमा जाने विद्यार्थीले पैसा तिर्ने गरेको अर्को रहस्य पनि उद्घाटन भएको छ । चीन सरकारले गत वर्षदेखि शुरु गरेको स्नातक तहको पाँचवर्षे भाषा अध्ययन छात्रवृत्तिमा नेपालबाट जाने विद्यार्थीले विभिन्न व्यक्तिलाई पैसा बुझाएर छात्रवृत्ति पाएको गाइँगुइँ सुनिँदै आएको थियो । यस्तो गुनासो चीनका सम्बन्धित विश्वविद्यालयसम्म पुगेपछि छानबिन प्रक्रिया अगाडि बढाएको अवस्थामा खनालले पैसा बुझाएर आएको बताएका हुन् । विश्वविद्यालयले नेपाल फर्काउने निर्णय गरेर त्यसमा हस्ताक्षर गराउँदा अस्पतालमा खनालले भने, ‘मैले यहाँ पढ्न आउनका लागि डेढ लाख रुपैयाँँ बुझाएको छु । त्यो पैसा कसले फर्काउँछ ?’

चिनियाँ प्रशासनले थाहा पाएपछि थप प्रश्न गरिएको थियो । आफूले डेढ लाख रुपैयाँँ तिरेको उनले बताएका थिए । खनालले पौडेल आफ्नो पारिवारिक नाताको मान्छे रहेको पनि उल्लेख गरेका छन् ।

स्नातक तहमा पाँचवर्षे छात्रवृत्ति निकै आकर्षक छ । अध्ययन सकेर नेपाल फर्केपछि चीन सरकारले नै तलब दिने गरी नेपालका विभिन्न शैक्षिक संस्थामा भाषा शिक्षणको काम गर्नुपर्ने भएकाले पनि उच्च मावि उत्तीर्ण गरेका नेपाली युवापुस्तामा यसको आकर्षण बढेको हो । यो छात्रवृत्तिमा गत वर्ष सय र यो वर्ष दुई सय हाराहारी पढ्न गएका छन् ।

नेपालबाट विद्यार्थी छनोटको सम्पूर्ण काम काठमाडौं विश्वविद्यालयअन्तर्गत कन्फ्युसियस इन्स्टिच्युटले गर्दै आएको छ । इन्स्टिच्युटमा कार्यरत चिनियाँ अधिकारीले सोझै पैसा असुल्ने काम नगरे पनि विभिन्न नेपाली दलाल प्रयोग गरेर कोशेली लिन हुँदो मानसिक सन्तुलन गुमेको व्यक्तिसमेत छात्रवृत्तिमा पढ्न भन्दै चीन पुगेको हो ।

गत वर्ष पनि एकै विद्यार्थीबाट पाँच लाखसम्म असुलेको बाहिर आएको थियो । यो वर्ष पनि डेढ लाखदेखि पाँच लाख रुपैयाँँसम्म असुलेर छात्रवृत्तिमा पठाइएको छ ।

– सञ्जय क्षत्री

टिप्पणीहरू