माओवादीहरु एमालेतिर ओइरिँदै « Jana Aastha News Online
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022
Logo
२१ आश्विन २०७९, शुक्रबार
|  Fri Oct 7 2022

माओवादीहरु एमालेतिर ओइरिँदै

प्रकाशित मिति :  २५ कार्तिक २०७३, बिहीबार ०७:३५


अनिल शर्मा विरही


संविधान घोषणालगत्तै प्रदेश निर्माणको बहस उत्कर्षमा पुगेको बेला ७ नम्बर प्रदेशको बहस अगाडि आयो । त्यसलाई सरकारले अखण्ड सुदूरपश्चिमको विकल्पको रुपमा तुरुन्त मान्यता दियो । राष्ट्रिय राजनीतिको महत्वपूर्ण स्थानमा भएका तर अप्रकट भूमिकामा रहेकाहरु यसप्रकारको खेलमा सामेल भए । उनीहरु प्रचण्डको भूमिका कमजोर पार्न चाहन्थे ।

केन्द्रिकृत शासन प्रणालीलाई अर्को रुपमा यथावत राख्न चाहन्थे । संघीयतालाई अखण्ड शब्दद्वारा विस्थापित गर्न चाहन्थे । प्रचण्डलाई शीर्षस्थानबाट विभाजित गर्न लेखराज भट्टमार्फत् अभियान शुरु गरियो । लेखराज त्यही रणनीतिअन्तर्गत अखण्ड सुदूरपश्चिमको कमाण्डर बनाइएका थिए । ७ नम्बर प्रदेशको पहलकर्ता नेकपा (एमाले) थियो । त्यो माग संबोधन गर्न सबै शीर्ष नेता बाध्य भए । त्यसकारण सेती–महाकाली अर्थात् ७ नम्बर प्रदेशमा एमालेको राजनीतिक श्रेष्ठता कायम भयो । राजनीतिक श्रेष्ठता जसले कायम गर्छ, उसैले फौजी श्रेष्ठता कायम गर्दछ । संसदीय राजनीतिमा फौजी श्रेष्ठता भनेको संगठनात्मक अर्थात् पार्टीगत श्रेष्ठता हो । उक्त प्रदेशमा एमाओवादी केन्द्रका नेताहरू एमाले पार्टीभित्र आफ्नो भविष्य खोज्न, देख्न थालेका छन् ।

त्यसैक्रममा प्रचण्ड समूहका प्रमुख नेताहरू लेखराज भट्ट र भीमबहादुर कठायतको नेतृत्वमा एमालेमा प्रवेश गर्दैछन् । जनयुद्धताका लामो समय बाबुराम भट्टराई गुटमा रहेका भट्टले लडाइँकालिन प्रक्रियाबाट आएका स्थानीय कार्यकर्ताको मनोविज्ञान समेट्दैछन् भने कठायतले पूर्व एमाले पृष्ठभूमिका कार्यकर्ताको नेतृत्व गर्दैछन् । पदीय हैसियत र भागबण्डा मिल्नासाथ उनीहरू एमाले पार्टीमा प्रवेश गर्ने निश्चितजस्तै भएको छ । उता एमाले पार्टीले ‘माउ पार्टीमा फर्क’ अभियान नै चलाएको छ । भट्ट र कठायत एमालेमा प्रवेश गर्नासाथ सुदूरपश्चिम अर्थात् ७ नम्बर प्रदेशबाट प्रचण्ड समूह बढारिने निश्चित छ । त्यसको प्रभाव देशभरि पर्नेछ, पूर्व एमाले पृष्ठभूमिका नेताहरू घर फर्किन थाल्नेछन् । त्यसप्रकारको दुःस्वप्नले प्रचण्ड समूहका हस्तिहरू तर्सिन थालेका छन् ।

आफूभित्रको विघटनबाट ध्यान अन्यत्र मोड्न प्रचण्डले झारपातहरूलाई रकेट कामरेड बनाएर हल्ला गरिरहेका छन् । दशैंताका चितवनको एक कार्यक्रममा प्रचण्डले भद्दा संगठनात्मक स्वरुपप्रति असन्तुष्ट कार्यकर्तालाई धु्रविकरणका कारण केन्द्रीय समिति ५ हजारसम्म पुग्नसक्ने भएकाले नआत्तिन निर्देशन दिएका थिए । प्रचण्ड समूहका एकजना केन्द्रीय सदस्य राजनीतिक जीवनमा यतिबेला सबैभन्दा फुर्सदिला भएको बताउँछन् । वामपन्थी जनमत सधैं काँग्रेस विरोधी रहने गरेको छ । नेपाली काँग्रेससँगको गठबन्धन र भारतपरस्त नेतृत्वका कारण प्रचण्ड समूहका नेताहरू संगठनात्मक काममा तल जान सकेका छैनन् । उनीहरूको मनोबल खसेको छ । आन्तरिक विवादका कारण पटक पटक राष्ट्रिय सम्मेलन सरेको र कहिले हुने अनिश्चयका कारण पनि बेरोजगार रहेका छन् । अचम्म छ, केन्द्रीय सदस्य नै बेरोजगार, कामबिहीन रहने त्यो कस्तो पार्टी होला ?

विभिन्न माओवादी घटकबाट प्रचण्डमा प्रवेश गरेका नेता, कार्यकर्ता ‘चौटा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेझैं भएका छन् । संविधानसभा–२ को संघारमा ड्यास माओवादीका एकजना कार्यकर्ता प्रचण्ड समूहमा प्रवेश गरेका थिए । मैले माथिको उखानझैं भयौ ? भनेको थिएँ । उनले ‘झोलमा भए पनि डुब्न पाएको भए त हुन्थ्यो नि, कुँडोमै पो डुबियो त’ भन्ने जवाफ दिए । नवप्रवेशीहरूको त्यही हविगत छ । उनीहरू आत्मगौरवहीन, बेरोजगार, दिशाहीन मात्र भएका छैनन् काजी लेण्डुप दोर्जे पथगामीको आरोप भिर्न बाध्य भएका छन् । केही माथिल्ला नेताबाहेक कसैले जिम्मेवारी वा काम पाएका छैनन् । हैसियत के हो ? कुन सहमति हो थाहा छैन । चितवनका एकजना नवप्रवेशी नेता भन्छन्– गइहालियो तर विचित्र रहेछ, एकपटक पनि बैठक भएको छैन । जिम्मा के हो थाहा छैन । मान्छे छन्, पार्टी छैन ।’

त्यसरी चलेको छ प्रचण्ड समूह अहिले । त्यसकारण प्रचण्ड समूहमा एकातिर पहिरो जान थालेको छ, अर्कोतिर संस्थागत रुपमा नै एमाले पार्टीमा जानुपर्ने दबाव बढ्न थालेको छ । नेकपा माओवादी काभ्रे जिल्ला समितिले सर्वसम्मत निर्णय गर्दै एमाले पार्टीसँग विनाशर्त पार्टी एकता गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । त्यसरी दबाव दिने काभ्रे जिल्ला समिति एक्लो छैन । सुदूरपश्चिमका धेरै जिल्ला त्यसमा मिसिएका छन् ।

प्रचण्डले भारत भ्रमणका अवसरमा गरेको लम्पसारवादका रहस्य खुल्दै गएका छन् । विदेशी राष्ट्रप्रमुख आउँदा सार्वजनिक बिदा दिने मण्डले परम्परालाई ०४६ सालपछि प्रचण्डले पहिलो पटक निरन्तरता दिएका छन् । त्यसको औचित्य पुष्टि गर्न दलालहरूको झुण्डले अनेक कुतर्क गर्न सक्छन् । तर त्यसले दिल्लीका दलालहरूको जनमत अकल्पनीयरुपमा घटेको छ र त्यहाँभित्र विद्रोहको आगो सल्केको छ ।

प्रचण्डले ‘तेस्रो दलले सरकारको नेतृत्व गर्न पुग्नु सानोतिनो सफलता होइन’, कार्यकर्तामाझ भन्ने गरेका छन् । त्यसो त लोकेन्द्रबहादुर चन्द र सूर्यबहादुर थापाले पनि सरकारको नेतृत्व गरेकै थिए । दुईचार सांसद भएकै आधारमा प्रधानमन्त्री बनेकै हुन् । अंगीकृत नागरिकता लिएका भारतीयलाई वंशजको नेपालीसरहको मान्यता दिलाउन प्रचण्डलाई बालुवाटार पु¥याइएको रहेछ भन्ने रहस्य खुलेको छ । सो प्रस्ताव सदन पुग्न नपाउँदै तुहिएको छ । यो सामान्य अपराध होइन । भाजपा र हिन्दूवादीहरू भारतीय आप्रवासीलाई नेपालको राजकीय ओहोदाको शीर्षासनमा पु¥याउन चाहन्छन् । त्यसो गर्नका लागि थोरै पनि नैतिक बल छ भने उनीहरूले सोनिया गान्धीलाई प्रधानमन्त्री वा राष्ट्रपति बनाउन आँट गर्नुपर्छ । आफैंले नगरेको, नभएको नजिर नेपालमा थोपर्ने किन ?


प्रतिक्रिया दिनुहोस !