पूर्वमाओवादीको मुद्दा कुमार श्रीमानले हेर्ने

पूर्वमाओवादीको मुद्दा कुमार श्रीमानले हेर्ने

माओवादी केन्द्रले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालत पुगेका स्थानीय तहका जनप्रतिनिधिको मुद्दा न्यायाधीश कुमार चुडालको इजलासमा पेशी चढेको छ ।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेपछि रौतहटको मौलापुर नगरपालिकाको मेयरबाट निश्कासनमा परेकी प्रभु साहकी पत्नी रिनाकुमारीसहित चार जनाले हिजो रिट निवेदन हालेका हुन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादीबाट निर्वाचित भएका उनीहरूले दल त्यागेपछि माओवादी केन्द्रीय समितिले कारबाहीको निर्णय गरेको थियो । सोही निर्णयको आधारमा दल त्याग गरेको भन्दै निर्वाचन आयोगले १४ जनाकै पद रिक्त भएको सूचना प्रकाशित गरेको थियो ।हिजो रिनासहित सुदूरपश्चिम प्रदेशको विभिन्न स्थानीय तहका ५ जना पूर्वजनप्रतिनिधि आयोग पुगेर आफूहरूलाई पदमुक्त गरिएको सम्बन्धमा सोधखोज गरेका थिए । माओवादी केन्द्रको निर्णयको आधारमा आयोगले आफनो निर्वाचित पद रिक्तको सूचना प्रकाशित गरेकोमा उनीहरूले आपत्ति जनाउँदै सोको कागजपत्र उपलब्ध गराइदिन निवेदन दर्तासमेत गरेका छन् ।

तर, आयोगले विधिवत ढंगले गरेको कारबाही फिर्ता हुन नसक्ने जानकारी दिएपछि उनीहरू अदालतको सहारा लिन पुगेका हुन् । निर्वाचन आयोगलाई विपक्षी बनाइएको रिटमा उत्प्रेषणको आदेश माग गरिएको छ ।

माओवादीका पदमुक्त जनप्रतिनिधिहरूको रिट यसअघि ह्वीप उल्लंघनको कारबाहीमा परेका जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई पुनर्बहालीको आदेश सुनाउने न्यायाधीश चुडालको इजलासमा परेको हो ।

टिप्पणीहरू