यतिका कुरा राख्न त मिल्ला नि !

भारतीय सेनापति दलबीर सिंह पर्सि शुक्रबार नेपाल आउने भएका छन् । कपिलवस्तुको गोरुसिंगेमा यतिबेला दुई देशका सेनाबीच ‘सूर्यकिरण’ नामक संयुक्त अभ्यास जारी छ । उनले २६ गते बिहान नेपाल आएर हेलिकोप्टरमा त्यता गई उक्त अभ्यासको समापन कार्यक्रममा सहभागी हुने योजना छ । अस्ति नेपाली सैनिक श्रीमती संघको वार्षिकोत्सव थियो ।

त्यसमा भव्य साँस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी थियो । तर भारतीय पाहुनालाई समेत यस्तो कार्यक्रम देखाउन भन्दै त्यसलाई शुक्रबार साँझको लागि सारिएको छ । गोर्खा रेजिमेन्टका सिपाहीको छोरा दलबीर तलैबाट उठेर यो तहसम्म पुगेका कमैमात्र भाग्यमानीमा पर्छन् । उनी नेपाली भाषा पनि फर्रर बोल्न सक्छन् । सेनापतिका रुपमा उनको कार्यकाल ५÷६ महिनामात्र बाँकी छ ।

यसअघि पनि काठमाडौं आएर नेपाली सेनाको मानार्थ सेनापतिको उपाधि थापेर फर्किएका हुन् । नेपालसँग भावनात्मक सम्बन्ध जोडिएको हुँदा देहरादूनस्थित खलंगा (नालापानी) किल्लालगायत ऐतिहासिक युद्धस्थलहरूको संरक्षण र नेपाली बहादुर योद्धाहरूको सम्मान झल्कने सम्पदाको निर्माणलगायतका काममा उनको भूमिका रहने या नेपाली पक्षबाट यससम्बन्धी चासो यसपटक राखिने अपेक्षा गरिएको छ ।

टिप्पणीहरू