दुईतिर राखेर बाँसुरी बजाउने फेरि आउला र दिन !

दुईतिर राखेर बाँसुरी बजाउने फेरि आउला र दिन !

आहुतिले लेखेको गीतका केही हरफ यस्ता छन् –

ए मन भएका मान्छे मनलाई सञ्चै छ कि बिरामी
ए ज्ञान भएका मान्छे ज्ञानलाई सञ्चै छ कि बिरामी
ए इमान भएका मान्छे इमानलाई सञ्चै छ कि बिरामी

लक्ष्य समाजवाद भनिसकेपछि थप व्याख्या चाहिने कुरै भएन– समाजवादमा जान कस्ता मान्छे चाहिन्छन्, कस्तो नीति तथा कार्यक्रम चाहिन्छ, कस्तो बजेट चाहिन्छ भनेर । तर, न मान्छे छन् चाहिने खालका, न नीति र कार्यक्रम छ र न त बजेट नै छ समाजवादमा लैजाने किसिमको । मान्छे छन् त नव उदारवादसंग दार्शनिक तथा सैद्धान्तिक सामिप्यता रहेकाहरू मात्रै छन् । नीति तथा कार्यक्रम नवउदारवादलाई मलजल गर्ने किसिमको छ र बजेटले पनि धनी–उद्योगी र ब्यापारीलाई नै लक्ष्यित वर्ग मानेको छ ।

गरिबको हिमायती भन्ने तर काम भने धनी वर्गलाई फाइदा हुने गर्ने । सर्वहारा त नभनौं जेहोस्, गरिबको पक्षधर हौं भनेर आफूलाई भन्ने तर हिमचिम भने पुँजीपतिहरूसँग अत्यधिक हुने, भातभान्सा उनीहरूसँगै हुने । समाजवादको आधार खडा गर्ने लक्ष्य नै नभएपछि समाजवाद जाने–बुझेको मान्छे किन चाहियो वा त्यो बाटोमा लैजाने मान्छे किन चाहियो ? पुँजीवादकै पक्षपोषण गर्ने मनशाय भएपछि, पुँजीवाद जानेबुझेको पुँजीवादी नै चाहिने भयो र त्यस्ता मान्छेनै खोजेर साथमा राख्नु आवश्यक हुन्छ । अहिले साथमा मान्छे कस्ता छन् त भन्दा गरिबलाई, दुःखमा रहेकालाई, पहुँचभन्दा बाहिर रहेकालाई दुःख पु¥याउने, चुस्ने र हुनेखानेलाई सहयोग पु¥याउने । आफ्नो निजी ब्यापार बढाउन राजकीय शक्तिको दुरूयोग गर्ने । विभिन्न किसिमका छुट तथा मिनाहा लिन बंगला हस्तान्तरण गर्ने ।

पुस्तकमा कर लगाउने तर चकलेटमा कर बढाउनेहरू साथमा छन् । धेरैजसोले नेतृत्व लिँदा परिस्थिति सामान्यतया अलि अप्ठेरो, प्रतिकूल र चुनौतीपूर्ण रहेको हामी पाउँछौं । तर ओली कमरेडको हकमा यो पटक्कै लागू हुन्न । नेकपा (माके)सँगको एकतापश्चात् अभ्युदय यसरी हुनगएको देखिन्छ कि उहाँ त एक किसिमको ‘कल्ट’ जस्तै । मान्छेले बा भन्छन्, राष्ट्रनायक भन्छन्, राजनेता भन्छन् । अहिलेको व्यवस्था ल्याउने आन्दोलनमा सडकमा कहीँकतै सामेल नभएका बरु उक्त आन्दोलनलाई होच्याउने, खिसिट्युरी गर्ने गरेको आरोप लागेका मानिस यहि आन्दोलनले स्थापित गरेको शासन प्रणालीमा सर्वेसर्वा भएर स्थापित हुनु धेरै ठूलो कुरा थियोे । तर, यसलाई उहाँले महत्वपूर्ण र ऐतिहासिक अवसर मानेको र तद्नुसार चल्न चाहेको देखिन्न ।

देशको राजनीतिक ग्राउण्ड यस्तो बन्न गएको थियो कि त्यहाँ ओलीबाहेक अरु कोही छैनन् । अरु त अरु ओलीको लोकप्रियताको कारण पार्टीभित्र समेत उहाँका गलतै कामको पनि विरोध गर्ने हिम्मत देखाउन सक्ने अवस्थामा थिएनन् अन्य नेता । ओलीको लोकप्रियताको कारण सही आलोचना गर्दा पनि त्यसको ब्याकल्यास हुन सक्छ भन्ने डरमा थिए नेता । इतर दल त दृश्यमै थिएनन् । सरकार र पार्टी भनेका दुई फरक एन्टाइटी हुन् र दुबैको काम फरक फरक हो । सरकार निर्माण गरिसकेपछि पार्टी पनि सरकारको निम्ति प्रतिपक्षसरह नै हुन्छ र सरकारले गरेको कामको आधारमा आलोचना/प्रशंसा गर्न पार्टी स्वतन्त्र हुन्छ भन्ने कुरालाई पनि प्रधानमन्त्री ओलीले आत्मसात् गरेको देखिन्न ।

पार्टीले गरेको मैत्रीपूर्ण आलोचनालाई गलत तरिकाले बुझेकाले पार्टीसँगको रिसलाई संसद् विघटन गरेर फेर्नुभयो । भनिन्छ नि ज्ञानले अरु खा, रिसले आफू खा । महाभारत, गीता वा रामायणको अध्ययन गर्नु एउटा कुरा हो भने त्यसबाट ज्ञान आर्जन गर्नु अर्कै कुरा हो । देशमा ठूलो काम गरेर, विकासको मूल फुटाएर देखाउनुपर्ने बाध्यता ओलीलाई थिएन । गरिबीको संबोधन, बेरोजगारी तथा महङ्गीको संबोधन, नागरिक प्रशासनमा हुने भ्रष्टाचार तथा ढिलासुस्तीमा कडाइ तथा हरेक क्षेत्रमा रहेको सिण्डिकेटले निर्माण गरेको अराजकताको संबोधन गर्ने प्रयासमात्रै गरेको भए ओलीको हाइट कम्युनिष्ट आन्दोलनभित्र फिडेल क्यास्ट्रोको जस्तै बन्ने थियो । उहाँमा ज्ञानको ठूलो भण्डार छ भन्ने सुनिन्थ्यो । बेलाबखत नीति शास्त्र, धर्म र परम्परा, औषधि विज्ञानका विषयमा अर्ति–उपदेश त सुनिएकै पनि हो । तर, जनताको पक्षमा काम गर्ने कुरामा, पार्टीलाई एकताबद्ध बनाएर लैजाने कुरामा, संसद जीवित राख्ने कुरामा र जनताद्वारा प्राप्त म्याण्डेट बमोजिम पूरा कार्यकाल सत्तामा रही रहन जेजस्तो ज्ञानको जरुरत हुन्छ त्यस्तो ज्ञानको भने सर्वथा अभाव देखियो ।

चुनावपछिको देशमा अरु सबै विचारधारा किनारामा धकेलिएर कम्युनिष्ट विचारधारा नै एकमात्र सर्वमान्य विचारधारा हो कि जस्तो अवस्था बन्न गएको थियो । राजनीतिमा एक्ला खेलाडी हुनुहुन्थ्यो । तर त्यो स्थिति अब रहेन । इमान डगमगाउनु डरलाग्दो कुरा रहेछ । प्रचण्ड जस्तो भावनामा बग्ने, हौसिने र धेरैजसो हृदयको भावनाबाट प्रभावित हुने व्यक्तिसँग इमान कायम राखेर काम गर्न नसक्नु साह्रै ठूलो स्खलन थियो इमानको । यही स्खलनले नै प्रकारान्तरले डाउनफलको अवस्थामा ल्याएर राखेको छ ओली कमरेडलाई । भनिन्छ, जब मान्छेको डाउनफल शुरु हुन्छ तब उसले अँगालेको विचारको पनि सँगसँगै पतन हुन्छ । अहिले ओली कमरेडको अवस्था यस्तै प्रतीत हुन्छ । अहिले हाँसेर सहयोद्धा कमरेडहरूलाई दायाँबायाँ राखी बाँसुरी बजाउन सक्ने अवस्थामा हुनुुहुन्न उहाँ । बरु कुनामा लुकेर आँसु पुछ्दै समूहमा हाँसेको अभिनय गर्न बाध्य देखिनुहुन्छ । यसलाई हिन्दी गीतद्वारा यसरी बिट मार्न सकिन्छ– ‘तेरे नैना साउन भादो’ र यी महिना आउँदै पनि छन् ।

टिप्पणीहरू