हजार चोटि सोचेर बिहे गर्नुस् है हजुर

हजार चोटि सोचेर बिहे गर्नुस् है हजुर

भन्छन् नि लोग्ने मान्छे भएर रुनु हुँदैन तर सेनामा भर्ती भएको मान्छे, आज श्रीमतीका कारण पलपल रोइरहेको छु । रामेछापमा जन्मिएँ, हुर्किएँ । ०५८ सालमा सेनामा भर्ति भएर जिरी, भोजपुर, इटहरीमा जागिर खाँदै थिएँ । पाँच वर्षपछि पल्टनले सेकेण्ड लेप्टन क्लास कोर्सका लागि दुई नम्बर बाहिनी धनकुटा हिलेमा पठाउने निर्णय ग¥यो । गाडीमा जाँदै गर्दा भेटिइन् एक युवती । नदेखुञ्जेल कोहो कोहो ? देखेपछि माया मोह भनेझैं परिचय भयो तारामाया राईसँग । झापाकी, एकल महिला । म गाडीबाट उत्रिएर गुम्बा होटलमा बास बस्ने भएँ, उनी पनि त्यहीँ आइन् । त्यहाँ मन मात्र साटिएन । विवाह गर्ने निचोडमा पुग्यौं ।

यहीपछि मोडियो जीवनको रथ । पैसा कमाउन कसले चाहँदैन र ? उनैले प्रस्ताव गरिन् विदेश जाने । जागिर छाडें, पासपोर्ट बनाउन रामेछाप गएँ । विदेश जाने सबै प्रक्रिया उनैले चालिदिइन् । भिसा नलागुञ्जेलसम्म उनकै घर झापाको शरणामती–६ मा बसें, करिब ७ महिना । इराक, अफगानिस्तान अवैध थियो, त्यहाँ जानैपरे दुबईसम्मको भिजिट भिसा लगाएर जान सकिन्थ्यो । इराक जान उडेँ ०६४ सालमा तर पुगें अफगानिस्तान ।

संयोगले काम राम्रै पाएँ । नेटोमा आबद्ध रहेर काम गर्न थालेँ । फर्म फिलअप गराइयो । १ हजार ९० अमेरिकी डलर तलब थियो । हाम्रो हातमा हैन आफन्त जसको नाममा फर्म भरियो उसैको खातामा तलब आउँथ्यो । ०६४ सालबाटै उनको खातामा पैसा जान थाल्यो । सम्बन्ध राम्रै थियो । सन् ००७ सालदेखि ०१४ सम्म विदेशमै रहेँ । झण्डै एक करोड रकम पठाएँ । त्यो ठाउँमा कुन बेला मरिन्छ, ठेगान थिएन । श्रीमतीलाई स्वदेश फर्कन चाहेको सुनाए । उनले अहिले फर्कन पर्दैन भनिनन् यद्यपि म स्वदेश फर्किएँ । विदेशमा श्रम, पसिना बगाएको रकमले अब स्वदेशमै आनन्दको जीवन जिउँछु भन्ने कल्पना थियो । मैले विदेशमा कमाएको रकमले घर जोडिएको थियो । एउटा निजी विद्यालयमा लगानी गरिएको थियो । सम्पत्ति कहाँ छ भनेर सोधखोज गरेँ । अब उनी तपाईंबाट तिमी हुँदै तँ मा झरिन्, कोठा बन्द गरेर पिट्न पछि परिनन् ।

एक दिन घरमै बसिरहेको बेला उनको भाइ गजेन्द्रले मलाई हात छाड्यो । मुख हुँदाहुँदै हात किन छाड्ने भन्दा तँ नबोल् । मैले धेरैको लास गायब पारेको छु, तेरो पनि गायब पारिदिन्छु भन्यो । भनेर ठूलो हुनुभन्दा सहेरै सानो हुनु जाति भनेर सही बसेको थिएँ । सहनेको पनि हद हुन्छ । एउटा महिलाले कतिसम्म अत्याचार गर्दा श्रीमान्ले सहने त ? असैह्य भयो । जिल्ला प्रशासन कार्यालयमा गएर निवेदन हालेँ । त्यो निवेदन इलाका प्रहरी कार्यालयमा पुग्यो । आफ्नै घरमा श्रीमतीबाट कुटिँदा पनि न्याय पाइन । भाइबाट कुटिएको त सहेकै थिएँ, परपुरुषलाई ल्याएर मलाई पिटाइयो । त्यहाँबाट म काठमाडौं आएँ । पापी पेटको सवाल थियो । मसँग एक रुपैयाँ थिएन । फुपूको छोरालाई गुहारेर तरकारी बेच्न थालेँ बाटोमा ।

झापा छाडेर काठमाडौं आएँ तर टर्चर आउन छाडेन । दुःख गरेर खाइरहेको थिएँ । एक दिन उसले फोन गरेर– तँ कहाँ छस्, त्यहीँ आएर ठीक पार्छु भनिन् । काठमाडौं आएपछिे डिभोर्स मागिन् ।  मैले जवाफ फर्काएँ, ठीकै छ तिमीलाई म चाहिँदैन भने मलाई पनि तिमी चाहिँदैन तर मैले ज्यान दाउमा राखेर विदेशमा कमाएको सम्पत्ति मलाई चाहिन्छ । त्यसपछि उनी झापै फर्किइन् । पछि थाहा पाएँ, ०७५ भदौ २० गते डेढ बिघा जग्गा बेचेपछि उनले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेकी रहिछन् ।  किर्ते कागजात तयार पारेर ०७० पुस १६ मा नाता प्रमाणित गराएको पनि भेटियो । बिवाह दर्ता गरौं भन्दा मान्दै नमान्ने महिलाले के कसरी नाता प्रमाणित गरिन् ? मेरो जानकारीबेगर कसरी नाता प्रमाणित हुन्छ ? वडाका कर्मचारी, प्रतिनिधि कति पैसामा बिक्नुभयो ?

मुद्दा भदौ २९ गते दर्ता भएको, शरणामति–६ ठेगानामा म्याद गएको मैले जानकारी पाउने कुरा भएन, म काठमाडौंमै थिएँ । उनी आफैँले अदालतबाट आएको म्याद बुझे हस्ताक्षर गरिन् । पत्र बुझेको ३० दिनभित्र अदालतमा हाजिर भएर प्रतिउत्तर पत्र दायर गर्नुपर्ने थियो । २८ दिनपछि तारामाया राईकै वकिल डिकबहादुर बुढाथोकीले फोन गरेर भनेपछि पो बल्ल थाहा पाएँ ।

रामेछापबाट हान्निँदै झापा पुगेँ अदालतमा । एक दिन मात्र प्रतिउत्तर लेख्न समय बाँकी थियो । हतारहतार प्रतिउत्तर लेख्न लगाएर हालेँ । त्यसपछि तारन्तार तारामायाका अनेकन वकिलले टर्चर दिन थाले । नेपाल बार एशोसिएसन, झापामा त्यहाँबाट टर्चर दिने वकिलको नामसहित निवेदन दर्ज गराएपछि आउन बन्द भयो । बहिनीको घर झापामै थियो । उनकै घरमा बस्दा मलाई प्रहरी लगाएर उठाइयो र आरोप लगाइयो, श्रीमतीको पेन्सन पट्टा चोरेको । मैले प्रहरी चौकीमा पुगेर अनुनय विनय गरेँ म चोर हुँ भने प्रमाणित गरेर सजायँ दिइयोस् नत्र चोर आरोप लगाउनेलाई कारबाही गर्नुहोस् । मैले धरान जाऊँ, पेन्सन लिइरहेको छ वा छैन त्यसपछि हराएको नहराएको थाहा हुन्छ भनेर त्यहाँँको सइलाई जवाफ फर्काएपछि उनले पेन्सन खाइरहेको, पट्टा नहराएको जवाफ फर्काइन् ।

प्रहरी प्रशासन कतिसम्म भ्रष्ट भने, तारामायाको ठाडो निवेदनका आधारमा रातको ११ बजे गिरफ्तार गर्न मिल्ने तर म अन्याय परेको थाहा हुँदा पनि छलफलमा समेत राख्न नसक्ने ? महिला सञ्जालमा निवेदन हालें, त्यो सञ्जालको सचिव मेरै श्रीमती । के छलफल हुन्थ्यो, त्यहाँबाट के न्याय मिल्थ्यो ? अध्यक्ष वृन्दा दाहालले यस्तो निवेदनमा छलफल गराएको छैन भनेर तारामायालाई बचाउन लाग्नुभयो । श्रीमती तारामाया राप्रपाको जिल्ला सदस्य । त्यही राजनीतिक दबाबमा ममाथि चरम अन्याय भइरहेको छ । प्रेममा फसेर एउटा एकल महिलालाई सहारा दिनुपर्छ भन्ने लाग्यो र विवाह गरेँ । त्यसपछि पैसा पनि राम्रो कमाएँ । पैसा कमाएकै कारण अहिले यस्तो भएको हो । सायद पैसा नकमाएको भए यी अन्याय भुक्तमान गर्नुपर्ने थिएन होला । यद्यपि, अझै न्याय मरिसकेको छैन, न्याय पाउँछु भन्ने आशा बाँकी नै छ ।

– तेजबहादुर भण्डारी

टिप्पणीहरू