साढुभाइ जोगिँदा गृहसचिवलाई सास्ती

साढुभाइ जोगिँदा गृहसचिवलाई सास्ती

नुवाकोटका कांग्रेसी नेता रामशरण महतको गाउँबाटै ५३ लाख गायब भयो,यो प्रकरणमा जोडिएर गाली खाँदैछन् गृहसचिव महेश्वर न्यौपानेले । पञ्चकन्या पूर्व अर्थमन्त्री रामशरण महतको गाउँ हो । त्यहाँको गाउँपालिका कार्यालयबाटै त्यति ठूलो रकम गायब भयो । अहिले यो प्रकरणमा कर्मचारीलाई डाम्ने र जनप्रतिनिधिलाई उम्काउने खेल चल्दै छ ।

यो प्रकरणमा संलग्न त्यहाँका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीलाई अहिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ तर सो वडाका अध्यक्ष धु्रवप्रसाद मिश्रमाथि किन अनुसन्धान हुँदैन ? त्यहाँका अन्य जनप्रतिनिधिहरूले उठाइरहेको प्रश्न हो यो । जनप्रतिनिधिलाई छुँदै नहुनुको कारण,उनी गृहसचिव महेश्वर न्यौपानेको नातेदार हुनु हो ।

गत चैत्रमा सोही गाउँपालिका २ नम्बर वडा,सरेटारका ६ सय ३८ जना ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएकाहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न भन्दै हिमालयन बैंकबाट ५० लाख रकम निकालिएको थियो । ०७७।७८ को दोस्रो चौमासिकको भत्ता बाँड्नका लागि सो रकम निकासा गरिएको थियो । कार्यालयमा थियो, ३ लाख ६१ हजार ८ सय ५६ रूपैयाँ । झण्डै ५३ लाख कार्यालयकै दराजबाट गायब भएको झण्डै तीन महिना व्यतित हुन लाग्यो । जहाँ प्रमुख प्रशासकीय अधिकृत पुडासैनीको गम्भीर त्रुटि रह्यो, सामाजिक सुरक्षा भत्ता बैंकमार्फत मात्रै वितरण गर्नुपर्नेमा नगद वितरण गर्ने लालायित हुनु, एकैपटक ५० लाख रकम निकासा गर्न अनुमति दिनु,निकासा गरिएको रकम वडा सचिव सरिता राउतको नाममा उनकै खातामा पेश्कीस्वरूप निकासा गर्नु र त्यत्रो रकम निकासा गरी अनकन्टार स्थानमा रहेको वडा कार्यालयमा ल्याइँदा समेत सुरक्षा निकायलाई कुनै खबर नगरिनु । यी कमजोरी आँैल्याइएपछि उनलाई असार पहिलो साता मात्र सामान्य प्रशासनले जगेडामा तानेको छ ।

पैसा ल्याउने वडा सचिव राउत र कार्यालय सहायक रामकुमार गिरी तथा अर्का एक कार्यालय सहयोगी गरी ३ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको थियो । तीनै जना अदालतबाट धरौटीमा छुटेकाछन् तर मिलेमतोमा भएको यो घोटला प्रकरणमा वडाध्यक्ष मिश्रमाथि कुनै अनुसन्धान भएको छैन । कारण उनी गृहसचिव न्यौपानेका साढुभाइ हुन । सोही कारण गृहसचिव न्यौपानेले वडाध्यक्ष मिश्रलाई बचाउन अनुचित दबाब दिएको त्यहाँका सरकारी अधिकारीहरू सुनाउँछन् । गृहसचिव न्यौपानेले यो प्रकरणमा नुवाकोटका एसपीदेखि प्रमुख जिल्ला अधिकारीसम्मलाई फोन घुमाएर अनुसन्धान प्रभावित पारेको आरोप लागिरहेको छ ।

तर, सामान्य प्रशासनका अधिकारीहरूचाहिँ यो प्रकरणमा वडाध्यक्ष नजोडिने प्रतिक्रिया दिन्छन् । हालै उसले तयार पारेर अख्तियारमा पठाएको प्रतिवेदनमा सो वडाका अध्यक्षलाई कहीँ कतैबाट जोडिएको छैन ।

सामान्यका सहसचिव बसन्त अधिकारीका अनुसार,यो प्रकरणमा प्रमुख प्रशासकीय अधिकृत पुडासैनीकै काँधमा प्रशासन र लेखाको जिम्मेवारी पर्दछ ।

टिप्पणीहरू