शीतल निवासको एउटा सुइँको

सुरक्षा संवेदनशीलता, अविश्वास हो वा हेपाहा प्रवृत्ति कुन्नि के नाममा हो, भारतीय राष्ट्रपति प्रणव मुखर्जी शीतल निवास छिर्नुअगाडि त्यहाँ सजाइएको एउटा फूलदानी धुजाधुजा भएको छ ।

गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै प्रधानमन्त्रीले प्रयोग गर्ने बुलेटप्रुफ कारमा नेपालकी राष्ट्रपति विद्या भण्डारीसँगै बसेर मुखर्जी शीतल निवास आएका थिए । सोभन्दा अगाडि नै भारतीय सुरक्षाकर्मीले राष्ट्रपति भवनको बैठकस्थलको सुरक्षाजाँच गर्ने क्रममा टेबलमा सजाइएको फूलदानी भुइँमा खसालेर फुटालेका हुन् । ब्रिफकेशबाट एउटा मेशिन निकालेर असावधानीपूर्वक यताउता छुवाउँदै गर्दा फूलदानी खसेको काँग्रेस केन्द्रीय कार्यालय, सानेपातिर खबर पुगेको छ । संयोगले सो फूलदानी चीन निर्मित थियो ।

मुखर्जी शीतल निवास छिरेपछि ५ मीनेट होल्डिङ रुममा नै बसे जहाँँ भण्डारीले आफ्ना दुई छोरीको परिचय गराइन् । बैठक कक्षमा दुवैपक्षका १२÷१२ जना बसेर कुराकानी भएपछि उनीहरू पहिलो तल्लामा रहेको क्रेडिन्सियल कक्षमा बसे जहाँ ४०/४५ जना जतिको उपस्थिति थियो । मुखर्जीका एडिसीचाहिँ छालाको एउटा ठूलो ह्याण्ड ब्याग बोकेर उभिएका थिए । भारतीय राष्ट्रपतिको सुरक्षार्थ कश्मिरमा भिभिआईपीहरूको भ्रमणका बेला दिइने विशेष सुरक्षा प्रबन्ध ‘जेड प्लस’ विधि नै अपनाइएको थियो ।

जानकारहरूका अनुसार, भारत र पाकिस्तानको बढ्दो तनाव तथा मुखर्जी सरकारमा रहँदा कश्मिरलगायत क्षेत्रमा भएका केही कारबाहीको कारण पनि उनको सुरक्षार्थ विशेष व्यवस्था जरुरी परेको हो । नेपालमा विगतमा केही महत्वपूर्ण अप्रिय घटनासमेत सहज रुपमा भएको कुरालाइ मध्यनजर गर्दै भारतले सुरक्षा चिन्ता व्यक्त गरेको बताइन्छ । स्मरण रहोस्, सांसद मिर्जा दिलसादबेग, फैजान अहमद, सञ्चार उद्यमी जमिम साह तथा युनुस अन्सारीलाई अपत्यारिलो ढंगबाट काठमाडौंमा गोलीप्रहार गरिएको थियो । सुरक्षा जानकारहरूका अनुसार, ‘फूलदानीमा कुनै रेकर्डिङ डिभाइस हुनसक्ने आशंकामा फुटाइएको हुनसक्छ ।’ यसबारे यथार्थ बुझ्न खोज्दा राष्ट्रपतिका सहयोगीहरुले सूचनामा कुनै सत्यता नभएको बताए ।

प्रणव मुखर्जीसँग उताबाट ७६ जनाको टोली आएकोमा नेपालले २१ जनाको खर्च व्यहोरेको हो । हाम्रा प्रधानमन्त्री दिल्ली जाँदा पनि त्यस्तै भएको थियो । अहिलेको भ्रमणका लागि ६ वटा बुलेटप्रुफ गाडी ल्याउने भनिएकोमा ३ वटामात्र ल्याइयो । जसलाई काठमाडौं, पोखरा र जनकपुर यात्राका लागि तैनाथ गरिएको हो । प्रधानमन्त्री मोदी नेपाल आउँदा एउटा मात्र बुलेटप्रुफ गाडी जहाजमा र अरु सडक मार्गबाट ल्याइएकोमा अहिले भने सबै गाडी जहाजबाटै ल्याइएको थियो । गाडी भारतीय भए पनि त्यसमा चालकचाहिँ नेपाली सेनाका जवान नै थिए । हामीसँग सन् १९९९ मा सार्क सम्मेलन हुँदा जर्मनीबाट ल्याइएको बुलेटप्रुफ गाडी अहिले काम नलाग्ने अवस्थामा छन् ।

यसै कारण चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेपाल आउँदा तत्कालिन प्रम बाबुराम भट्टराईको लागि राखिएको बुलेटप्रुफ कारमा चढाइएको थियो । समग्रमा मुखर्जी आफ्नो औपचारिक भ्रमण सफल पारेर स्वदेश फर्किएका छन् भने आगामी जनवरी २६ मा दिल्लीमा आयोजना हुने भारतीय गणतन्त्र दिवसमा नेपालकी राष्ट्रपति विद्या भण्डारीलाई प्रमुख अतिथि बनाइने सम्भावना बढेको छ । भेटघाटको क्रममा भने मुखर्जी र एमाले अध्यक्ष केपी ओलीबीच निकै रोचक संवाद भएको थियो । हायात होटलमा १२ मीनेट कुरा हुँदा एमाले टोलीलाई राष्ट्रपति मुखर्जीले सोधेका थिए– ‘मैले भारत सरकारसमक्ष पु¥याइदिनुपर्ने कुनै सन्देश छ कि ?’

प्रत्युत्तरमा ओलीको जवाफ थियो, ‘बयान्नब्बे प्रतिशत सभासदहरूको समर्थनमा नेपालको संविधान जारी भएको हो । अनि संविधान जसले जारी ग¥यो त्यसलाई कार्यान्वयन गराउने जिम्मेवारी पनि उसैको हुन्छ । हामी त्यो गरेर देखाउँछौं । जम्मा आठ प्रतिशतबाट मात्र यसको विरोध भएको हो । के पनि भुल्नु हुँदैन भने सतप्रतिशत समर्थनमा संविधान संसारको कुनै पनि मुलुकमा जारी भएको इतिहास छैन । हामी कार्यान्वयनकै चरणमा थियौं तर स्थिति बद्लियो ।’ उनको असन्तुष्टि यसरी प्रकट भयो ।

मुखर्जीले फेरि सोधे– ‘तपाईं भारत भ्रमणमा रहँदाको बखतको कुनै गुनासो छ कि ?’ ओलीले व्यङ्ग्यात्मक जवाफ दिए, ‘प्रम मोदीले गुजरातमा हजारौं मानिसहरू सडकमा उतारेर भव्य स्वागत गर्नुभो । अर्कातिर सरकार ढाल्ने खेल पनि हुँदैरहेछ ।’

टिप्पणीहरू