हामी भित्रैबाट पनि बदमासी भएको छ

पुरुषोत्तम पौडेल, पूर्वमन्त्री तथा एमाले सांसद


कांग्रेस–एमाले गठबन्धनको सरकारमा युवा तथा खेलकुद मन्त्रालय सम्हालेका पुरुषोत्तम पौडेल लोकमानपीडित हुन् । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव नियुक्ति प्रकरणमा एमालेभित्र उत्पन्न विवाद पार्टीकै केही नेताको उक्साहटमा अख्तियार पु¥याइयो । अख्तियारले क्षेत्राधिकार नाघेर मन्त्रिपरिषद् सदस्यलाई स्पष्टिकरण सोध्ने काम ग¥यो । तत्कालिन उर्जामन्त्री राधा ज्ञवाली पनि यसरी नै लोकमानबाट पीडित भइन् । अन्ततः सरकारको स्वाभाविक बहिर्गमनपूर्व नै उनले राजीनामा दिइन् । अख्तियारको कारवाहीलाई अदालतले ‘अनुचित’ भनिसकेको छ । अहिले पालो परेको छ, उनै लोकमानको । सर्वोच्च अदालतको मुद्दादेखि संसदको महाअभियोगसम्मको झमेलामा लोकमान छन् । एमालेभित्र झलनाथको खास मान्छे मानिएका पुरुषोत्तम अस्ति सोमबार आफ्नो गृह जिल्ला बारामा आफ्नै गुटका सुन्दर विश्वकर्मालाई पार्टी जिल्ला अध्यक्ष निर्वाचित गरेर काठमाडौं फर्किए । जिल्लामा ओली पक्षको पुरानो बर्चस्वलाई अन्त्य गर्दै उनीहरुले सफलता पाएका हुन् ।
० लोकमानविरुद्धको महाभियोग समयमै आयो कि ढिलो भयो ?
– यस्तो हुनु नै थियो, भयो पनि । ढिलो–चाँडोको कुरा अर्कै हो । नियुक्तिकै बेला, अझ त्योभन्दा अगाडिदेखि नै उनी विवादमा रहिरहे । त्यसमध्ये मेरो प्रकरण पनि एउटा थियो ।
० तपाईंको प्रकरणबारे अलिकति भन्दिनुस् न !
– संविधानले मन्त्रिपरिषद्को सदस्यलाई कारवाही गर्ने अधिकार प्रधानमन्त्रीसँग मात्र रहने व्यवस्था गरेको छ । तर, लोकमानले मन्त्रीहरुलाई पनि कारवाही गर्न थाले । जुन ऐनको हवाला दिएर मन्त्रीहरुलाई कारवाही गरे, त्यो नै अवैधानिक थियो । हुँदै नभएको प्रावधान देखाएर जबरजस्ती गरे । राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त सदस्य सचिवको योग्यता जाँच्ने अधिकार अख्तियारसँग छँदै थिएन, छैन । तर, नभएको अधिकार जबरजस्ती प्रयोग गरे । त्यसबेला सबैले बुझेर पनि अहिलेको जसरी कुरा उठाएनन् । मभन्दा ठूल्ठूला अत्याचारबाट अरु पनि पीडित भए । चर्चामा आउनका लागि गर्न नमिल्ने अनगिन्ती काम गरे ।
० ठूला पार्टीका शीर्ष नेता नै अहिले महाभियोग लगाउन सक्रिय छन् । यो सक्रियता तपाईंहरु पीडित भएकै बेला किन नदेखाएका होलान् ?
– ठूला नेता र ठूला पार्टीका बीचमा मूल प्रश्न राजनीतिक नै हो । महाभियोग प्रस्ताव ल्याउन एक चौथाई सांसदको सहमति र पारित हुन दुई तिहाई चाहिन्छ । त्यस्तोमा प्रस्ताव ल्याइसकेपछि पारित गर्ने कुरा महŒवपूर्ण हुन्छ । त्यसका लागि राजनीतिक सहमति जुट्नुपर्ने हुन्छ । त्यस्तो वातावरणको खोजी गर्ने क्रममा अलिकति ढिलाई भएको हो । अहिले लोकमानको योग्यताकै प्रश्न उठेको छ । सरकारी सेवामा निरन्तर २० वर्ष काम गरेको योग्यता उनका हकमा पुग्दैन । उच्च नैतिक आचरण हुनुपर्ने कुरा छ । पटक–पटक स्पष्टिकरण सोधिएका र कारवाही गरिएका व्यक्ति हुन् उनी ।
० लोकमानको पदच्युत मात्र समाधान हो वा उनीमाथि थप अनुसन्धान र कारवाही हुनुपर्छ ?
– गलत काम गर्नेहरुलाई, राज्यको उच्च तहमा बसेर, राज्यको नोक्सानी गर्ने र लोकतन्त्रकै विरुद्ध भूमिका खेल्नेलाई कारवाही हुनुपर्ने कुरा पटकपटक उठेका हुन् । डा.गोविन्द केसीलगायत नागरिक समाजबाट यस्ता कुरा उठिरहे । अहिले महाभियोग प्रस्ताव पारित गर्ने र उनलाई पदच्युत गर्ने अभ्यास भइरहेको छ । पदच्युत भइसकेपछि उनको काम–कारवाहीका विषयमा छानवीन, अनुसन्धान र थप कारवाही नहुने भन्ने छैन, हुन्छ । कानुन सबैका निम्ति बराबर हो । अरुले कारवाही भोग्नुपर्ने, लोकमानले उन्मुक्ति पाउनुपर्ने कुरा छैन ।
० तपाईं रहेको सरकारमा अरु पनि थुप्रै मन्त्री थिए । तर, लोकमानले छानेरै हो वा कसरी हो, तपाईं र राधा ज्ञवालीमाथि नै निशाना सोझ्याए । किन होला ?
– मेरोबारेमा त विशिष्ट कुरा छ । मलाई कुनै भ्रष्टाचार वा अख्तियार दुरुपयोगको कुरा उठाएर कारवाही गरिएको होइन । मैले राष्ट्रिय खेलकुद परिषद् ऐनको अधिनमा रहेर सदस्य सचिव नियुक्त गरेँ । त्यो प्रश्न पार्टीमा उठ्यो । पार्टीमा यस्ता कुरा उठ्नु, छलफल हुनु स्वाभाविक पनि हो । पार्टीमा उठेका कुराको छलफल र छिनोफानो पार्टीभित्रै लाग्छ, हाम्रो पार्टीमा पनि हुने त्यही नै हो । तर, पार्टीमा उठेको प्रश्नलाई अख्तियारले ‘क्यास’ गरेको छ । यसमा हाम्रो पार्टीका केही मान्छे, जो अरुलाई नै राखेपको सदस्य सचिव बनाउन चाहन्थे, ले अख्तियारलाई प्रयोग गरेको पनि हुनसक्छ । वा, राखेपकै लागि अख्तियारका अधिकारीबाट सिफारिस भएका व्यक्तिलाई नियुक्त गर्नुपर्ने दबाब नमानिदिनाले पनि त्यसो गरिएको हुनसक्छ । अर्को कुरा, यति धेरै चर्चामा आएको विषयमा हात हाल्दा चर्चित होइन्छ भनेर पनि त्यस्तो भएको हुनसक्छ । नियुक्तिमा चित्त नबुझेका मानिसहरु अदालत जान सक्थे । जान चाहँदा ठाउँ पनि थियो । तर, ती अदालत गएनन्, अख्तियार गए । यसकारण पनि त्यहाँ कहिँ न कहिँ बद्नियत छ । त्यस्तो बद्नियत बाहिरकाबाट होइन, पार्टीभित्रैका बाट भएको पनि बुझ्न सकिन्छ ।
० राधा ज्ञवालीविरुद्ध चाहिँ किन लागेको होला ?
– उहाँले पनि अदालतबाट सफाई पाइसक्नुभएको छ । भोलि लोकमानका गतिविधिबारे छानवीन हुने क्रममा यस्ता बद्नियतपूर्ण कारवाहीका फेहरिस्त खुल्दै जालान्, आशा गरौँ ।
० लोकमानलाई चम्काउने तत्व पार्टीहरुभित्रै थिए त ?
– त्यसरी बुझ्न सकिन्छ । मसँग पनि त्यस्तो प्रसंग जोडिएको हुनसक्छ । मलाई अझै पनि शंका छ ।
० एमालेमा गुटबन्दी नगर्ने, प्यानल खडा गरेर नेतृत्व चयन बन्द गर्ने भनी स्थायी कमिटीले निर्णय गर्ने, तर फेरि पनि गुटकै आधारमा चुनाव गर्ने काम तपाईंकै जिल्लामा पनि भयो नि †
– निर्वाचनको माध्यमबाट आन्तरिक जनवादको प्रयोग गर्ने नीति पार्टीले लियो । यसबाट विभिन्न उम्मेदवार बन्ने भए । उम्मेदवारहरु मतदाताका बीचमा पुग्ने भए । त्यसरी पुग्दा कुन उम्मेदवार कुन खेमाको, कुन नेतानजिकको भन्ने कुराको हिसाब पनि हुने नै भयो । हुँदाहुँदा ती विभिन्न खेमाका नेता अलग–अलग ढंगले लाग्ने र त्यही बिन्दुबाट गुट जन्मिने भयो । त्यसले पार्टीलाई अप्ठेरोमा पारेको छ । म अख्तियारबाट पीडित हुनुमै पनि त पार्टीको गुटबन्दीले काम गरेको छ । त्यसैले म पनि गुटविहीन पार्टी चाहन्छु । हिजो हाम्रो पार्टीका अधिवेशनमा पहिला सदस्यहरु हलबाट चुनिन्थे । सदस्यबीचको छलफलबाट एकजना सचिव हुन्थे । अब हामी बहुपदीय प्रणालीमा गइसक्यौँ । निर्वाचन प्रणालीबाट नेतृत्व चयनको अभ्यासमा गयौँ । त्यसले भित्रभित्रै चलेका गुटहरु बाहिर देखिने गरी आए । त्यसो गर्दा कतिपय ठाउँमा पार्टीमै हानी–नोक्सानी पुग्नेजस्ता काम पनि भएका छन् । एउटै पार्टीका साथीहरु, एउटै थालमा खाएका, एउटै ओछ्यानमा सुतेर पार्टी निर्माणमा लागेका साथीहरु नै जानीदुश्मनजस्ता बन्न थालेका छन् । त्यसैले गुटबन्दीको अन्त्य जरुरी भइसकेको छ । जहाँसम्म बारा जिल्लाको कुरा गर्नुभयो, चुनाव भएकै हो । हामी एकजना दलित समुदायको साथीलाई अध्यक्ष बनाउन सफल भयौँ । तर, त्यहाँ प्यानल खडा गरेर चुनाव गरिएन । मैँ पनि एउटा गुटको थिएँ होला, तर मैले त्यस्तो हुन दिइनँ । जो–जो साथीले जित्नुभयो, आ–आफ्नो क्षमता र सम्पर्कका कारण जित्नुभयो, गुटका कारण होइन ।
० गुटबन्दी रोक्न के गर्नुपर्ला ?
– सानो आकारको नेतृत्व चयन गर्नुपर्छ र पदाधिकारीलाई प्रत्यक्ष निर्वाचनबाट छान्ने परिपाटीको अन्त्य गर्नुपर्छ । नत्र, प्रत्यक्ष निर्वाचनबाट सबै नेतृत्व छान्ने हो भने त्यहाँ नगरौँ भन्दाभन्दै गुट भइहाल्दोरहेछ ।
० एमालेमा गुटबन्दीको सबभन्दा ठूलो प्रभाव धुम्बाराहीबाटै चलेको हो ?
– सही कुरा भन्नुभयो । पानी र बानी माथिबाटै बग्छ, तलबाट आउँदैन । पानी फोहोर र सफा भन्ने कुरा मुहानबाट निर्धारित हुन्छ । बानी पनि त्यसरी नै आउने हो । धुम्बाराहीबाटै कसलाई बनाउने, को आफ्नो, को बिरानो भनेर छिनोफानो लगाउञ्जेल यस्तै हुन्छ । माथिको मुहान बन्द भयो भने मात्र तल–तल बग्न छोड्छ ।
० माधव नेपालले पार्टीको समस्या संसदकै भाषणमा गरिदिनुभयो । उकुसमुकुस भएरै हो ?
– वरिष्ठ नेताले संसदमै त्यो कुरा नबोलेको भए हुन्थ्यो । अन्त बोल्ने ठाउँ नपाएर बोल्नुभयो कि ? मलाई थाहा छैन । तर, त्यस्तो कुरा संसदमा उठ्नुभनेको पार्टीभित्र संस्थागत प्रक्रिया स्थापित छैन भन्ने संकेत हो । त्यसविषयमा पार्टीभित्र बहस, छलफल हुनुपर्छ । विधि र प्रक्रियासम्मत ढंगले, संस्थागत निर्णयबाट पार्टी चल्नुपर्छ । जब मान्छेले संस्थागत प्रक्रियामा सहभागी हुन पाउँदैन, अनि त्यस्ता कुरा ठाउँ–कुठाउँमा उठ्छन् । यसबारे नेतृत्व गम्भीर हुनुपर्छ ।
० लोकमान महाभियोग प्रकरणमै पनि सत्तासाझेदार माओवादी अगाडि बढिसक्यो, तर सरकारको साझेदार कांग्रेसको कुरा टुङ्गो लाग्न जुन मुस्किल परिरहेको छ, यसलाई के भन्नुहुन्छ ?
– कांग्रेसको चरित्र ढुलमुले हो भन्ने कुरा विगतका थुप्रै घटनाले देखाइसकेको छ । ऊ परिस्थितिलाई हेरेर मात्र निर्णय गर्छ । आफ्नो फाइदालाई हेरेर चल्ने पार्टी हो, कांग्रेस ।
० यही कारण माओवादीसँगको गठबन्धनमा समस्या आउला त ?
– कांग्रेसले अझै पनि महाभियोगका विषयमा आनाकानी गर्छ भने उनीहरुको गठबन्धन टिकिरहला भन्ने विश्वास मलाई छैन । किनभने, एमाले र माओवादी अब पछाडि फर्किन सक्दैनन् ।
० महाभियोगका नाममा एमालेले माओवादीलाई बोकेर सरकारमाथि छिर्के दाऊ हानेको हो ?
– एमालेलाई छिर्केमिर्के दाऊ लगाएर कसैको गठबन्धन जोगाउनु र टुटाउनुपरेको छैन । एमालेको क्यारेक्टर पनि त्यो होइन । सरकारमा जानै प¥यो भने आफ्नै एजेन्डाका आधारमा जानसक्छ ।

टिप्पणीहरू