प्रदेश १ मा भौतिक मन्त्रीको पारो तातेपछि सभामुखको चार रुलिङ

प्रदेश १ मा भौतिक मन्त्रीको पारो तातेपछि सभामुखको चार रुलिङ

प्रदेश १ सरकारमा पहिले राज्य र पछि मन्त्री बनेका भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री आइतबार प्रदेशसभाको बैठकमा व्यक्तिगत गालीगलौजमा उत्रिएका छन् । आगामी आर्थिक वर्षको बजेटमा भौतिक मन्त्रालयतर्फबाट विनियोजित योजना र रकमबारे ओखलढुंगाबाट निर्वाचित विपक्षी दलका सांसद मोहनकुमार खड्काले विभेद गरेको भन्दै चर्को बिरोध पोखेपछि मन्त्री गुरुङ जवाफ दिने क्रममा रोष्टमबाटै गालीगलौजमा उत्रिएका हुन् ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन लिखित भाषण लेखेर ल्याएका गुरुङ लिखित जवाफ पढिसक्नासाथ आफ्नै जिल्लाका माओवादी सांसद मोहनकुमार खड्काविरुद्ध चर्को स्वरले गालीगलौजमा उत्रिएका थिए । उनले आफनो चरित्रहत्या गर्न सांसद खड्काले झुठो आरोप लगाएको मात्र भनेनन् जिल्लामा योजना लान आफू र मुख्यमन्त्रीसँग कहिल्यै भेटघाटसमेत नगरेको आक्रोश पोखे ।

उनले आफूले भनसुन गरेकै कारण आफ्नो निर्वाचन क्षेत्रमा विकासका योजना पार्न सफल भएकाले सांसद खड्का आरिसले जलेर जथाभावी आरोप लगाउन थालेको भन्दै आक्रोश पोखे । उनले रोष्ट्रमबाटै चेतावनी दिँदै भने, ‘तपाईं भिजन नै नभएको सांसद हो,सुध्रिएर आउनु होला,अन्यथा ठीक हुने छैन ।’

मन्त्री गुरुङले निरन्तर गाली गर्न थालेपछि विपक्षी दल संघीय समाजवादीका नेता जयराम यादवले संसदको बैठकमा उठेर नियमापत्ती जनाए । त्यसपछि सभामुख प्रदीपकुमार भण्डारीले पटक पटक मन्त्री गुरुङलाई आफ्नो भनाई छोट्याउन रुलिङ गरे पनि पारो तताएका मन्त्री गुरुङले सांसद खड्कालाई गाली गर्न छाडेनन् ।

उनलाई रोक्न सभामुख भण्डारीले चार पटक रुलिङ गर्नुपरेको थियो । आइतबार प्रदेश १ सभाको बैठकमा विपक्षीहरु मात्र नभएर सत्ताधारी दलका सांसदहरुले समेत बजेटमा मुख्यमन्त्री र भौतिक मन्त्रीले चरम विभेद गरेको आरोप लगाए । उनीहरुले नयाँ योजना नपार्ने भन्दै सांसदहरुलाई ढाँटेर आफनो जिल्लाको निर्वाचन क्षेत्रमा सुटुक्क करोडौंको नयाँ योजना पारेको आरोप लगाएका छन् ।

सत्ता पक्षका सांसद विमलकुमार कार्कीले मुख्यमन्त्री र भौतिक योजना मन्त्रीले आफनो जिल्लाको निर्वाचन क्षेत्रमा मात्रै मनखुशी योजना पारेर आगामी वर्षका लागि सरकारले प्रस्तुत र पारित गराएको नीति तथा कार्यक्रमको चीरहरण गरेको भन्दै बजेट सँशोधन गर्न माग गरेका छन् ।

टिप्पणीहरू