उद्योगी व्यवसायीको एकै स्वर,खोप नहुँदा सारै झुर

उद्योगी व्यवसायीको एकै स्वर,खोप नहुँदा सारै झुर

तत्काल बहुमत नेपालीलाई कोभिड–१९ विरुद्धको खोप नलगाउने हो भने मुलुकको अर्थतन्त्र धराशायी हुने चेतावनी उद्योगी व्यवसायीले दिएका छन् । नेपाली काँग्रेस केन्द्रीय उद्योग तथा व्यापार विभागको आयोजनामा “कोभिड–१९ को महामारी र त्यसले अर्थतन्त्रमा पारेको प्रभाव” विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीले सरकार भ्याक्सिनमा केन्द्रित नहुनुले मुलुकको अर्थतन्त्र समस्यामा जाने बताएका हुन् । सरकारले घरभित्र जनता थुनेर समस्या समाधान नहुने भएकोले भ्याक्सिनमा केन्द्रित हुन आग्रह गरेका छन् ।

उद्योगपति विनोद चौधरीले संकटमा सरकारले अक्सिजन उपलब्ध गराउन नसक्नु र भ्याक्सिन समयमै नपाएर मानिस मर्ने अवस्था आउनु सरकारको कमजोरी रहेको समेत बताउनुभयाे । अरबपति चाैधरीले खाेपकाे लागि पत्राचार गर्दै रमाई रहेको बताउनुभयाे । ‘बजेटसमेत छुट्याइएको छ,तर बिचौलिया राखेर भ्याक्सिनमा चलखेल गर्नु भनेको दुर्भाग्यपूर्ण हो’ चौधरीले आरोप लगाउनु भयो ।

नेपाल उद्योग बाणिज्य महांसघका अध्यक्ष शेखर गोल्छाले सरकारले खोप ल्याएर जनतालाई नदिएसम्म मुलुकको अर्थतन्त्रमा असहज अवस्था आउने बताउनुभयो । कोभिड १९ को यस्तो समस्यामा समेत निजी क्षेत्रले आपूर्ति व्यवस्थालाई सहज बनाइरहेको तर राज्यले गर्नुपर्ने काम भने नगरेको गोल्छाले आरोप लगाउँदै ‘धेरै भन्दा धेरै नेपालीलाई खोप लगाउने हो भने अर्थतन्त्रलाई चलायमान बनाउन सकिन्छ,घरमा थुनेर समस्या समाधान हुँदैन,’ भन्ने राय व्यक्त गर्नुभयो । त्यसैगरी पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले पर्यटन क्षेत्रमा लागेका १५ लाख मानिस अहिले बेरोजगार भएर बसेको अवस्था रहेको बताउँदै “अब भ्याक्सिन लगाएर मुलुक खुल्यो भन्ने अवस्था नआएसम्म पर्यटक नआउने भएकोले सरकारलाई त्यसमा केन्द्रित हुन´ जाेड दिनुभयो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले सरकारले असार २५ भित्र कर तिर्नका लागि सूचना निकालेर बस्नु गलत भएको बताउनु भयो । सरकारलाई पहिले भ्याक्सिन दिएर मात्र अन्य कुरातर्फ लाग्न मल्लकाे आग्रह छ । त्यसैसैगरी नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भन्नुभयो ‘पुँजीगत खर्च नहुनुमा सरकारले म्यादथपको काम नगर्दा समस्या आएको छ,काम गर्ने समयमा कम गर्न नपाएपछि म्यादथपको विकल्प हुँदैन,’ भर्चुअल बैठकमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुवराज थापा र नेपाल उद्योग परिसंघ वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ ले धराशायी बनाएको नेपालको अर्थतन्त्रलाई उठाउन ‘राजश्वमा योगदान गर्न उद्योगलाई चलायमान गराउने एक मात्र विकल्प भ्याक्सिन हो,’ भन्ने राय पाेख्नुभयो ।

साे बैठकमा सहभागी नेपाली काँग्रेसका सह–महामन्त्री प्रकाशशरण महतले अहिलेको सरकारबाट केही पनि आशा गर्ने ठाउँ नभएको बताउनुहुँदै यो सरकारको बहिर्गमन पहिलो शर्त भएको राय व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय उद्योग व्यापार विभागका सभापति चिनकाजी श्रेष्ठले काँग्रेस मुलुकको अर्थतन्त्र चलायमान गराउन केन्द्रित हुने बताउनु भयो । श्रेष्ठले व्यवसायीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिने आश्वासनसमेत दिनुभयो ।

टिप्पणीहरू