शुल्क खारेजीको माग राख्दै विद्यार्थीको प्रदर्शन,पीएचडीपछि स्वतः जागिर पाउनुपर्ने माग

शुल्क खारेजीको माग राख्दै विद्यार्थीको प्रदर्शन,पीएचडीपछि स्वतः जागिर पाउनुपर्ने माग

त्रिभुवन विश्वविद्यालयले हालै निर्धारण गरेको शुल्क खारेजीको माग राख्दै विश्वविध्यालय विद्यार्थी संघले आज बिरोध प्रदशन गरेको छ । संघले एमफिल र पिएचडीजस्ता अनुसन्धानात्मक कार्यहरु निःशुल्क हुनुपर्नेलगायतका माग राख्दै प्रदर्शन गरेको हो ।

प्रदर्शनमा त्रिभुवन विश्वविद्यालय विद्यार्थी समितिमा रहेका अखिल क्रान्तिकारी वैद्य समूहका केन्द्रीय सदस्य संघ दाहाल,नेकपा एमाले त्रिभुवन विश्वविद्यालय सदस्य प्रेम विश्वकर्मा,मनिषा कार्की,नेविसंघ त्रिभुवन विश्वविद्यालय इकाइका सचिव श्याम ओझा,नेकपा (विप्लव समूह) विश्वविद्यालय इकाइ सदस्य प्रेम चलाउनेलगायतको उपस्थिति थियो ।

उनीहरु विभिन्न नारा लेखिएको प्लेकार्डसहित त्रिभुवन विश्वविद्यालयको घडी भवन अगाडिबाट नाराबाजी गर्दै उपकुलपति कार्यालयसम्म पुगेका थिए ।

विश्वविद्यालयलाई ज्ञान र उत्पादनको थलो बनाउ,व्यापारको थलो होइन,राज्यको लगानीमा उच्चशिक्षाको सुनिश्चितता गर, त्रिविमा शिक्षाको व्यापार बन्द गर, एमफिल र पिएचडीमा लगानी गर, शैक्षिक माफिया बन्द गर,निःशुल्क अनिवार्य र वैज्ञानिक शिक्षा लागू गर,शैक्षिक माफिया होशियार, शैक्षिक दलाल होशियार, हाम्रो आन्दोलन जारी छ, भ्रष्ट उपकुलपति मूर्दावाद, उपकुलपति राजीनामा देऊ लेखिएका प्लेकार्ड र ब्यानर प्रयोग गरिएको थियो ।

प्रदर्शनपछि आयोजित कोणसभाका वक्ताहरुले त्रिभुवन विश्वविद्यालय निजीकरणतर्फ उन्मुख भएको,एमफिलको नतिजा अन्यायपूर्ण तवरले प्रकाशन गरिएको,विश्वविद्यालयमा भ्रष्टाचार मौलाएको बताएका छन् ।

उनीहरुले पिएचडी गरिरहेका विद्यार्थीहरुले अध्यापनसमेत गराउनुपर्ने भएको हुँदा कि पारिश्रमिक दिनुपर्ने कि उनीहरुको पिचडी अध्ययन निःशुल्क हुनुपर्ने बताउँदै पिएचडीपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने माग गरेका छन् ।

टिप्पणीहरू