बालुवाटार जाँदा प्रभुको चिल्लीबिल्ली

बालुवाटार जाँदा प्रभुको चिल्लीबिल्ली

माओवादी छोडेर एमाले प्रवेश गर्नासाथ भएभरका पद एकैचोटी माटोमा मिलेपछि पूर्वमन्त्री प्रभु साहलाई बालुवाटार गमन ‘नखाऊँ भने दिनभरिको शिकार,खाऊ भने कान्छा बाउको अनुहार’ भनेजस्तै भएको छ । एमाले प्रवेशलगत्तै आफूसहित श्रीमती र निकटहरुले समेत पद गुमाउन परेपछि उनको ‘कन्तबिजोग’भएको हो ।

माओवादीले प्रभुसहित एमाले प्रवेश गरेका पाँच सांसदलाई पहिले नै कारवाही गरेको थियो । हालै १४ जना स्थानीय तहका जनप्रतिनिधि पनि कारवाहीमा परेपछि माओवादी छोड्नेहरुको छटपटी बढेको हो । कारवाहीमा परेका १४ जनप्रतिनिधिमध्ये अधिकांश प्रभुको गृहजिल्ला रौतहटका छन् । पद गुमाएकी मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह प्रभु-पत्नी हुन् ।

एकातिर भएभरका पद गुमाउनुपर्ने अवस्था,अर्कोतिर बलुवाटार यात्रा कष्टदायी बनेपछि प्रभु आफ्नो राजनीतिक करियर नै ध्वस्त भएको निष्कर्षमा पुगेको बताइन्छ । बालुवाटारले हिजोका वाचाअनुसार संरक्षण नगरेको ठहर गर्दै प्रभु माओवादीमै फर्कन खुमलटारसँग सम्पर्क जोड्ने प्रयासमा रहेको बुझिएको छ ।

एमाले प्रवेश प्रभुका लागि ‘सौताको रिसले लोग्नेको काखमा ………’ भनेजस्तै भएको बताइन्छ । नेकपाको अन्तरविरोधमा यौटै जिल्लावासी माधव नेपालको रिसले प्रचण्डलाई छोडेर उनी ओलीतिर लागेका थिए । रौतहटमा नेपालसँगको टसलका कारण उनी माधव नभएको समूह चाहार्दै हिँडेका हुन् । प्रचण्ड र माधव एकै ठाउँमा उभिएपछि प्रभु ओलीतिर लागे ।

‘माओवादी छोडिहाल्नु भयो, केपीले रौतहटमा जिताउन सक्दैनन् । त्यसैले उहाँमा अहिले बेचैनी बढेको छ । खुमलटारले हुन्छ भन्दिए उहाँ दौडिएर आउनुहुन्छ’,माओवादीका एक नेता भन्छन् ।
त्यसो त,प्रभुका पछिल्ला अभिव्यक्तिमा माओवादी छोडेर गल्ति गरेको आशय बुझ्न सकिन्छ । केही दिनअघि त उनलाई निर्वाचन आयोगसम्म पुर्याएको थियो । अर्का एमाले प्रवेशी टोपबहादुर रायमाझीसँगै आयोग पुगेका प्रभुले माओवादी केन्द्रीय सदस्यको लिष्टमा आफ्नो नाम खोजेको चर्चा थियो ।

नेकपाको अन्तरविरोधमा ओलीतिर लागेकाले अदालतको आदेशपछि पनि ओलीलाई नै साथ दिएपनि आफू एमाले बन्न नसक्ने सार्वजनिक टिप्पणी गर्दै आएका प्रभुले केही दिनअघि एमालेको मार्गदर्शक सिद्धान्त जबजलाई स्वीकार गर्न नसक्ने बताएका थिए ।

टिप्पणीहरू