कहिलेकाहीं त यसरी पनि आइलाग्ने

  • राजेन्द्र स्थापित

एक समय हिन्दू अधिराज्य दाबी गरिएको सियाम तेह्रौं शताब्दीमा चीनको युन्नान प्रान्तनिवासी थाई जातिका मानिसको प्रवेशपछि थाइल्याण्ड कहलिन पुगेको हो । कालान्तरमा बर्माबाट मोन र कम्बोडियाबाट खमेरहरुले प्रवेश गरे । सियाम अर्थात् स्यामको अर्थ संस्कृतमा कालो वा गहुँगोरो हो । तर, खमेर भाषामा सियामको अर्थ हुन्छ ‘चोर’ । अतः थाइहरुले सियाम मन पराएनन् तर पनि सन् १९३९ को जुन २३ पछि मात्रै यो मुलुक थाइल्याण्ड कहलिन पुग्यो । यहाँका प्रथम राजा सुकोथाइ बौद्ध धर्मावलम्बी थिए । चाओफाया मन्त्री र सेनापति भए । उनैले आफूलाई राजा घोषणा गर्दै सन् १७८२ देखि रामा (प्रथम) को नाउँबाट राज्य चलाउन थाले । अस्ति अक्टोबर १३ मा दिवंगत राजा भूमिबोल अब्दुल्यादेज रामा चक्री वंशका नवौं राजा हुन् ।
सन् १८६८ मा गद्दीसिन भएका रामा (पञ्चम) अर्थात् चुलालोङकर्नका कूल १ सय १६ रानी, ३३ छोरा र ४४ छोरी थिए । सन् १९१० मा उनैका छोरा बजिराबुध र १९२५ मा प्रजाधिपोक राजा बने । राजा बन्ने सपना पनि नदेखेका उनको पालामा सन् १९३२ को अप्रिल ६ मा चक्री वंशले शासन गरेको १५०औं वर्षदिन मनाइयो । तर, दुई महिनापछि जुन २४ मा सरकारी कर्मचारीले सेनासित मिलेर रक्तपातहिन ‘कू’ गरे । सक्रिय राजा संवैधानिकमा सीमित भए । सेनाको नेतृत्वमा अस्थायी सरकार बन्यो । प्रधानमन्त्री प्रिदी फानोम्योङले पश्चिमी शैलीको दुई सदनात्मक व्यवस्था स्थापना र सुधार गरे तर मन्त्रिमण्डलका अन्य सदस्यबाटै ‘कम्युनिष्ट’ को बिल्ला भिराइएपछि सत्ता छाडे । चुनाव भयो । प्रिदी र वामपन्थीहरुको गठबन्धनले सरकार बनायो । यसबीच सन् १९३५ मा राजनीतिक शक्तिको दुरुपयोग गरेको आरोपमा राजा प्रजाधिपोक अपदस्थ भए । उनी बेलायत पलायन भएपछि स्विट्जरल्याण्डमा पढिरहेका भतिजा १० वर्षीय आनन्द माहिडोल राजा घोषित भए । आनन्द रामा (पञ्चम) चुलालोङकर्नका ८९ औं सन्तान माहिडोल अब्दुल्यादेजका छोरा थिए । राजा घोषित आनन्द नाबालिग र विदेशमै रहने गरेकाले उनको नाउँमा राज्यपरिषद्ले शासन चलायो । परिषद्का एक सदस्य प्रिदी पनि थिए । सन् १९३९ मा दोस्रो विश्वयुद्ध शुरु भयो । तत्कालीन प्रधानमन्त्री फिबुन आश्चर्यजनक ढंगले जापानसित मिल्न गएपछि अर्थमन्त्री प्रिदीले जापानविरोधी गतिविधिको नेतृत्व गर्न थाले । युद्धकै क्रममा जर्मन–इटली र जापानविरोधी संयुक्त सेनाले हवाई आक्रमण थालेपछि जनविद्रोह भयो । फिबुन राजीनामा दिन बाध्य भए । पहिला ख्वाइ अफाइबोङ र पछि प्रिदी प्रधानमन्त्री बने । प्रिदीले सन् १९४६ मा नयाँ संविधान दिए । चुनाव भयो, फेरि उनी प्रधानमन्त्री बने ।
यसबीच राजा बनेको १० वर्षपछि सन् १९४५ मा मात्र स्वदेश फर्केका आनन्द माहिडोल राजदरबारभित्र आफ्नै शयनकक्षमा मृत फेला परे । सरकारले यसलाई दुर्घटना भन्यो तर टाउकोमा गोली लागेका राजाको हत्याको आरोप प्रिदीमाथि लाग्यो । विवादकै बीच दुई महिनापछि राजीनामा दिएर चीन भागे । २० वर्षीय राजाको रहस्यमय मृत्युपछि फेरि उत्तराधिकारीको सूचीमै नभएका भूमिबोल अब्दुल्यादेज रामा (नवौं) को नाउँमा राजा घोषित भए । नेपालमा जेठ १९ को घटना हुँदा ज्ञानेन्द्र शाह काठमाडौंबाहिर चितवन र पोखरामा भएजस्तै अविवाहित राजा आनन्द माहिडोलको बैंककमा रहस्यमय मृत्यु हुँदा आनन्द माहिडोलका भाइ भूमिबोल (भूमिबोलकी एउटी दिदी पनि छिन्) स्विट्जरल्याण्डमा थिए । अमेरिकाको म्यासाचुसेट्समा जन्मिएर सन् १९४५ मा पहिलोपटक आफ्नो भूमिमा पाइला टेकेका उनी राजा बनेपछि पनि दाजु आनन्दजस्तै तत्काल स्वदेश फर्केनन् । इञ्जिनियरिङ र राजनीतिशास्त्रमा स्नातकोत्तर गर्न उतै बसिराखे ।
भूमिबोल जन्मँदा सन् १९२७ मा उनका बाबु माहिडोल अब्दुल्यादेज अमेरिकाको हावर्ड विश्वविद्यालयमा पढ्दै थिए । बाउको निधन हुँदा दुई वर्ष र काका प्रजाधिपोदक अपदस्थ हुँदा आठ वर्षका थिए । उच्चशिक्षा हासिल गर्न स्विट्जरल्याण्ड पुगेका उनी र सम्पूर्ण परिवार दोस्रो विश्वयुद्ध नसकुञ्जेल त्यहीं रहे । एकदिन फ्रान्सका लागि थाई राजदूतकी छोरी राजावोङसे सिरिकित र भूमिबोलको भेट भयो । दुवै असल साथी बने । यसबीच भूमिबोल कार दुर्घटनामा परे । सिरिकित आमासँगै स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगिन् । डिस्चार्ज भइसकेपछि पनि पूर्ण स्वस्थ नभइसकेका भूमिबोललाई त्यहाँको लाउसेनमा दिनहुँ घुमाउन लाने जिम्मा उठाइन् । दिनहुँको भेटघाट र कुराकानीबाट नजिकिए । प्रेमी–प्रेमिका बने । उता, थाइल्याण्डका नवनियुक्त राजाको प्रेमप्रसंगले ठूलो हंगामा खडा ग¥यो । यसपछि बल्ल भूमिबोलले प्रेमलाई बिहेमा परिणत गर्ने निर्णय गरे र सन् १९५० को अप्रिल २८ मा थाई परम्पराअनुरुप बिहे भयो । त्यस समय भूमिबोल २३ र सिरिकित १८ वर्षका थिए । दुवैले दक्षिणी थाइल्याण्डस्थित समुद्री तट ह्वाइलिनमा हनिमुन मनाए । एक हप्तापछि सन् १९५० को मे ५ मा राज्याभिषेक भयो, सिरिकित महारानी घोषित भइन् ।
राजारानी थाइल्याण्डमै बसिराखेनन्, लगत्तै स्विट्जरल्याण्डतर्फ रवाना भए । लाउसेनस्थित अस्पतालमा सिरिकितले छोरी उबोल्रत्ना राजकन्यालाई जन्म दिइन् । दुवै पढाइ सकेपछि सन् १९५२ मा स्वदेश फर्के । केही समयपछि सिरिकितले छोरा (महा बजिरालोङकर्न) लाई जन्म दिइन् । पछि दुई छोरी सिरिनधोर्न र चुलाभोर्न जन्मिए । भूमिबोलले विश्वमै सबैभन्दा लामो शासन (७० वर्ष १ सय २६ दिन) गरे । ३० जना प्रधानमन्त्रीलाई शपथ खुवाए । तथापि थाइल्याण्डमा राजनीतिक स्थिरता भने कहिल्यै भएन । सन् १९३२ यता २१ पटक सेनाले विद्रोह गरे, १५ पटक उनकै शासनकालमा मात्र यस्तो विद्रोह भयो । १२ वटा सफल नै भए । प्रायः सबै विद्रोह राजाविरुद्ध हैन, सरकारविरुद्ध लक्ष्यित थिए । राजा र सेनाको सम्बन्ध भने सदासर्वदा राम्रो रहेको छ । राजतन्त्र संवैधानिक भएकाले राजा जनताको प्रिय बन्न पुगेका छन् । यहाँसम्म कि बहुमत थाई जनता राजा भूमिबोलको आलोचनासमेत सुन्न मन पराउँदैनन् । जबकि त्यहाँ सम्पन्न प्रायः सैनिक विद्रोहमा राजाको समेत मिलेमतो हुने गरेको छ । प्रजातान्त्रिक र निर्वाचित गैरसैनिक सरकार टिकेको इतिहासै छैन । पछिल्लोपटक पनि जब निर्वाचित प्रधानमन्त्री यिंकलक सिनावात्रा संवैधानिक अदालतको आदेशमा अपदस्थ भएर उपप्रधानमन्त्री निवाथाम्रोङले कार्यवाहक सरकार प्रमुख भई काम गर्न थालेका थिए तर दुई हप्तामै सन् २०१४ को मे २२ मा सेनाले सत्ता हातमा लियो । सैनिक सरकारका वर्तमान नेता प्रायुत चान ओ–चा त्यहाँका पूर्व प्रधानसेनापति हुन्, जसले सत्ता सम्हालेको चार महिनापछि मात्र सो पद छाडे । निर्वाचित प्रधानमन्त्री थाक्सिन सिनावात्राका प्रमुख प्रतिद्वन्द्वी र राजा भूमिबोलनिकट  भनेर चिनिन्छन् ।
थाइल्याण्डमा राजा, रानी र गद्दीको उत्तराधिकारीको विरोध र अपमान गर्न निषेध छ । जसले यस्तो दुस्साहस गर्छ, ऊ १५ वर्ष जेल पर्न सक्छ । यस्तो कडा कानुनको विरोध पनि त्यहाँ यदाकदाले गर्छन् । सन् १९७६ को अक्टोबरमा थामासात विश्वविद्यालयभित्र सेनाले आमसंहार ग¥यो । कम्युनिष्टका कट्टर विरोधी र राजावादीको रुपमा परिचित प्रधानमन्त्री तानिन क्राइभिसियनको आदेशमा आन्दोलनरत वामपन्थी विद्यार्थीमाथि आमसंहार गरियो, जसमा ४६ जनाको मृत्यु भई १ सय ६७ जना सख्त घाइते भए । राजाको मिलेमतोमा भएको उक्त घटनालाई लिएर समेत भूमिबोलको आलोचना नगन्य तवरमा मात्र भयो, जबकि भूमिबोल आफैंले बरु सन् २००५ मा सम्पन्न जन्मोत्सवमा राष्ट्रको नाममा संबोधन गर्न गल्ती स्वीकारे । फोब्र्स पत्रिकाले भूमिबोल ३२ अर्ब डलरबराबर सम्पत्तिका मालिक भएको दाबी गरेको छ । थाइल्याण्डकै राजकीय कोष ब्युरोका अनुसार उनको नाममा मध्यबैंककमा ३ हजार ३ सय एकड र ग्रामीण इलाकामा १३ हजार २ सय एकड भूमि छ । सियाम सिमेन्ट कम्पनीमा ३२ प्रतिशत (१२ अर्ब ६० करोड डलर) र सियाम वाणिज्य बैंकमा २३ प्रतिशत शेयर छ । होटल बैंकक, सुआन लुभ नाइट मार्केट, सियाम पारागोन, सेन्ट्रल वल्र्ड टावरलगायतमा हिस्सा छ । उनीसित विश्वमै ठूलो मानिएको ४० लाख र १ करोड २० लाख डलर मूल्य पर्ने गोल्डेन जुब्ली हिरा छ । तैपनि जनता उनीप्रति नतमस्तक रहे । सबैका प्रिय थिए । त्यसैले त वर्तमान सैन्य सरकारले दिवंगत राजा भूमिबोलको शोक एक वर्षसम्म मनाउने घोषणा गर्न पुगेको छ । युवराज महा बजिरालोङकर्न पनि अहिलेसम्म गद्दीमा बसेका छैनन् ।
भूमिबोलको अवसानसँगै राजाप्रति थाई जनताको इज्जत र सम्मान भने स्वतः कमजोर बन्न पुगेको छ किनभने भावी राजा बजिरालोङकर्न लोकप्रिय छैनन् । प्रबुद्ध र बुद्धिजीवी मानिँदैनन् । १ करोड २० लाख युरोमा किनेको जर्मनीको ‘भिल्ला स्टोलबर्ग’ का कारण आलोचित छन् । १५ वटा कोठा र १४ सय वर्गमिटरमा फैलिएको यो स्थान दक्षिण म्युनिखमा अवस्थित छ । जहाँ एउटा सुन्दर ताल पनि छ । त्यसो त स्विट्जरल्याण्डमा रहँदा भूमिबोल बस्ने गरेको ‘भिल्ला बधना’ भन्दा सानो नै छ । स्मरणीय छ, बधना (साभानी बधना) भूमिबोलकी बज्यै अर्थात् महिडोल अब्दुल्यादेजकी आमा हुन् । बजिरालोङकर्न जर्मनीमा बद्नाम छन् । सन् २०११ मा त्यहाँको अदालतले उनको स्वामित्वमा रहेको विमान ‘बोइङ ७३७’ जफत गर्ने आदेश दिएको थियो । पछि बल्ल थाई सरकारले युवराजले जर्मन निर्माण कम्पनीलाई तिर्नुपर्ने रकम ३ करोड युरो तिरेर विमान छुटाउनुप¥यो । विमान जफत भएपछि मर्सिडिज गाडी म्युनिखको केम्पिन्स्की पार्कमा लुकाइराखेको र त्यसलाई एक दर्जन अंगरक्षकले सुरक्षा दिइराखेको फोटो सार्वजनिक भयो । बाबु भूमिबोलजस्तै उनी पनि गाडी तीव्र गतिमा कुदाउन सौखिन छन् । यसका लागि सेतो पोर्च ९११ टर्बो २ लाख युरोमा किनेका थिए । जर्मनीमा रहँदा उनको जीवनशैलीबारे त्यहाँका पत्रपत्रिकाले दिनहुँ चर्चा गर्थे ।
बजिरालोङकर्न विलासी छन्, करोडौं खर्च गरेर निजी विमानबाट विश्व भ्रमण गर्छन् । सिंगापुरसम्म पुगेर जुवा खेल्छन् । राजतन्त्र समर्थकहरुका कट्टर विरोधी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रासँग राम्रो सम्बन्ध जोडेका छन् । थाक्सिनले उनैको सहयोगमा विभिन्न क्षेत्रमा लगानी गर्ने सौभाग्य पाएका थिए । थाक्सिन निर्वासनमा छन् तैपनि दुईजनाले पटक–पटक भेटेका छन् । युवराज बजिरालोङकर्न पत्नी, प्रेमिका फेर्नमा पनि उत्तिकै माहिर छन् । वेश्याहरुकोमा समेत धाउँछन् भन्ने आरोप छ । पहिलो बिहे सन् १९७७ मा राजकुमारी सोवाम्सावाली कितियाकारासँग गरेका हुन् । दुवैबीच पाँच वर्षको फरक छ । कितियाकारा महारानी सिरिकितको दाजुकी छोरी हुन् अर्थात् बजिरालोङकनले मामाकी छोरीसँग बिहे गरेका थिए । एक वर्षपछि जब कितियाकारा छोरीको आमा बनिन्, बजिरालोङकर्न उनीबाट टाढिँदै गए । युवाथिडा सुरात्सावाडीको नाउँले चर्चित अभिनेत्री सुचारिनी विवात्चारावोङसँग लहसिए । सँगै बस्न थाले । तर, सुचारिनीसँग बिहे गर्ने डरले कितियाकाराले सम्बन्ध बिच्छेद गर्न अस्वीकार गरिन् । युवराजले कितियाकारामाथि ‘सम्बन्ध’ राख्न असफल बनेको आरोपसमेत लगाए । अन्त्यमा बल्ल सन् १९९३ मा अदालतबाट सम्बन्धविच्छेदको फैसला भयो । पछि राजा भूमिबोलले ‘राजाको प्रथम नातिको माता’ पद्वी दिए । युवराज्ञी नरहे पनि राजकीय कार्यक्रममा सक्रिय सहभागी भइरहिन् ।
उता त्यसबेलासम्ममा सुचारिनी युवराजको तर्फबाट चार छोरा र एक छोरीको आमा बनिसकेकी थिइन् । पहिलो छोरा सन् १९७९ मा अर्थात युवराज र कितियाकाराबीच बिहे भएको दुई वर्षपछि नै जन्माइसकेकी थिइन् । गर्भवती बनेपछि चलचित्रबाट सन्यास लिएकी उनी १५ वर्षकै उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । सन् १९७८ मा युवराज २६ र उनी १६ का थिए । कितियाकाराबाट छुटकारा पाएको अर्को वर्ष सन् १९९४ मा युवराजले उनीसँग बिहे गरे । बिहेमा आशीर्वाद दिन राजा भूमिबोल र मुमाबडामहारानी श्रीनगरिन्डारा उपस्थित थिए । रानी सिरिकित भने गइनन् । बिहे गरेको दुई वर्षपछि सन् १९९६ मा एकाएक छोराछोरी लिएर ब्रिटेन पलायन भइन् । उनी गएपछि युवराजले पत्नीमाथि हवाई सैन्य मार्सल ६० वर्षीय आनन्द रोत्साम्खानसँग अवैध सम्बन्ध राख्ने गरेको आरोप लगाए । पछि छोरी सिरिभान्नाभारीलाई स्वदेश फर्काउन सफल भए । सुचारिनी पछि तीनै छोराका साथ अमेरिकामा बसिन् । युवराजले तेस्रोपटक सन् २००१ मा श्रीरश्मी सुवाडीसँग बिहे गरे । तर, छोरो जन्मिएपछि बल्ल सन् २००५ मा मात्र बिहेलाई सार्वजनिक गरे । तर, सन् २०१४ मा सुवाडीको परिवारका सदस्यहरु भ्रष्टाचारमा संलग्न रहेको पाइएपछि ५५ लाख डलर दिएर छुटकारा पाए ।
युवराज बजिरालोङकर्नकी बहिनी छन् महाचक्री सिरिन्थोन, जो अविवाहित हुन् । युवराज र अधिराजकुमारी सिरिन्थोनबीच शुरुदेखि नै मतभेद छ, बजिरालोङकर्नको विलासिता, प्लेब्वाइ चरित्रका कारण कतिपयले सिरिन्थोनलाई गद्दी सुम्पिनुपर्छ भन्ने आवाज उठाउने गरेका छन् । ‘फ्रा थेप’ अर्थात् ‘परी राजकुमारी’ को नाउँले चर्चित सिरिन्थोनको पक्षमा पनि उल्लेख्य जनमत छ तर पनि त्यहाँको संसद र सैन्य मन्त्रिपरिषदले युवराजकै पक्षमा मत जाहेर गरिसकेको छ ।

टिप्पणीहरू