छिछि यस्तो पनि हुन्छ अधिकार ?

– यमुना अर्याल


तिम्रा श्रीमान्ले भान्साको काममा कत्तिको सघाउँछन् हँ बैनी ?
अहँ, कहिलेकाहीँ नसक्दा, बिसञ्चो भएका बेला मात्र हो सघाउने भनेको ।
उसोभए भाँडा माझ्न, लुगा धुन पनि सघाउँदैनन् होला हैन त ?
खाना त नपकाउने, सघाए भाँडा माझ्न, लुगा धुन ? मलाई त लोग्नेमान्छेले भान्साको काम गरेको, लिपपोत गरेको पटक्कै मन पर्दैन हो दिदी । मेलोमेसो केही पाउँदैनन्, जान्दा पनि जान्दैनन्, जहिले पनि आफैं गर्छु । ठूलै गाह्रोसाह्रो परेका बेला सघाइहाल्छन्, त्यो अलग कुरा हो, सानातिना कुरामा अह्राउनै झर्को लाग्छ । आमा हजुरआमाले गरेको देखियो– सिकियो, महिलाले गर्ने काम यही रहेछ जस्तो लाग्छ, तेरो–मेरो काम भन्नै मन लाग्दैन ।
अनि लोग्नेलाई के भनेर बोलाउँछ्यौ नि ? हजुर तपाईं,….के ?
श्रीमान्लाई शीरको स्वामी भन्न सिकाए आमा हजुरआमाले, सधंै हजुर, तपाईं नै भन्छु दिदी !
अनि लोग्नेले तिमीलाई पनि तपार्इं, हजुर नै भन्छन् ? कुनै गल्ती भएको रहेछ भने हजुरले यस्तो गर्नुभएछ नि भन्नुहुन्छ नत्र तिमी नै भन्नुहुन्छ । हाम्रो परिवारमा श्रीमान्लाई तपाईं हजुर नै भन्छौं, आमालाई बुबाले अहिले पनि तँ भन्नुहुन्छ तर मलाईचाहिँ श्रीमान्ले तिमी भन्नुहुन्छ, तिमी भनेकामै आनन्द लाग्छ ।
केही दिनअघि कार्यालय समयमा दुई जना महिला कर्मचारीबीच यस्तै–यस्तै भलाकुसारी चलिरहेको थियो । प्रश्न गर्ने सुब्बास्तरकी– ४ दशक हाराहारीकी कर्मचारीले आफ्ना श्रीमान्लाई खुबै तह लगाएको बताउँदै थिइन् । कार्यालय सहयोगी अर्की महिलाचाहिँ प्रश्नको जवाफ मात्र दिइरहेकी थिइन् । हेर बैनी, तिमी हामी चुप लाग्यौँ भने श्रीमान्ले कहिले पनि अधिकार दिँदैनन् । मैले त लोग्नेलाई खुब ट्र्याकमा ल्याएकी छु । बिहानको काम आफू गर्छु, बेलुका सिन्को पनि भाँच्दिनँ । उनी जागिरे– म पनि जागिरे, उनी जत्तिको काम गर्छु, म पनि थाक्छु, त्यही भएर काम बराबरी छ हामीकहाँ । तिमीजस्तो होइन म, लोग्ने भनेर हजुर तपार्इं भन्दिनँ, उसले जे शब्दले संबोधन गर्छ त्यस्तै फर्काउने हो । आजकल लोग्ने–स्वास्नीका संबोधनका कुरा मिडियामा छाएको प्रसंगलाई दिदीले निकै चर्चा गरिन्– देख्यौ, हिजो एउटा अनलाइनमा मैले श्रीमान्लाई तँ भन्छु नि भन्दै हाकाहाकी एउटी केटीले लेखी बा † यस्ता आँटिला महिला पनि यही समाजमा देखा पर्न लागे । दिदीको कुराले लोग्नेलाई तँ नभनेकै कारण उनीहरूले दबाएका हुन् कि जस्तै भान पथ्र्यो । संबोधनमा होइन, व्यवहारमा फरक गर्न सिकौँ न !
दुई जनाको अधिकारको कुरा सुनिरहेका पल्लो कुर्सीका एक पुरुष कर्मचारी कर्के नजरले दिदीलाई नियालिरहेका थिए । सँगै रहेका अर्का कर्मचारीलाई खुसुक्क भनिहाले, हेर न यी दिदीका फुर्ती ? अर्काको लोग्ने अँगालो हाल्न आउने आफंै अझ अधिकारका गफ लगाउने ? मति राम्रो भएको भए त पहिलेको घरबार भइहाल्थ्यो नि † पहिलो लोग्नेसँग अधिकारकै बारे कुरा नमिलेर बुढेसकालमा दोस्रो बिहे गरेकी दिदीले अधिकार निकै बुझेकी रहिछन्– उनले सही थपिहाले ।
सहायक स्तरकी कर्मचारीले सोधिन्– दिदी, तपाईंको घरका अरू सदस्यले श्रीमान्लाई यो काम गर, त्यो काम गर भन्दा केही भन्दैनन् ? हामीलाई त श्रीमान्ले सघाए पनि सासू–ससुराको डर लाग्छ, जोइटिंग्रे भन्छन् कि भन्ने लाग्छ, त्यही भएर पनि म सानातिना काम आफैं गर्छु, श्रीमान्लाई भन्न मन लाग्दैन ।’ दिदी खरो रूपमा बक्न थालिन्, हेर बैनी, हामी नारी लोग्नेमान्छेको खुट्टामा लगाउने जुत्ता हौँ र ? खुट्टा भए जुत्ता कतिकति किन भन्छन् त ? मलाई बढी पेलिएको मन पर्दैन । सासू–ससुरालाई पनि ठाडै भनिदिने हो मतलव छैन, बिहान सबै धन्दा गर्छु, बेलुका मैले खाएको थाल पनि उसै (श्रीमान्) लाई माझ्न लगाउँछु । बिहान मैले उसको माझ्नुहुन्छ भने बेलुका उसले मैले खाएको किन माझ्न नहुने ? पहिले–पहिले अलि अड फिल भए पनि अहिले आफ्नो ड्युटी सम्झेर झर्को नमानी काम गर्छ, उसका बाबु आमाले पनि पचाइसके, केही भन्दैनन् । दिदीले पटक–पटक श्रीमान्लाई ऊ भनिरहन्थिन् । उसले मलाई तँ भन्छ भने म किन हजुर यसो गरिस्योस् उसो गरिस्योस् भन्ने ? उसले तपाईं भन्छ भने म पनि उसलाई तपाईं नै भन्छु नि † सम्मान चाहनेले गर्न पनि जान्नुप¥यो नि, होइन ?
एकैछिनमा दिदीको मोबाइलमा घण्टी बज्यो, श्रीमान्ले गरेका रहेछन् । फोन उठाइन्, अँ कहाँ अरे तिमी ? बेलुका किचनमा के–के चाहिन्छ थाहा होला नि † बेलैमा घर जाने, आफ्नो काम गर्ने ल ल भन्दै फोन काटिन् । उनले फोनमा बोलेको सुनेर कतिपय महिला जिब्रो टोक्न बाध्य भए । होइन यी दिदीले गफ गरेकी होलिन् भनेको त साँच्चिकै पो बूढालाई तह लगाएकी रहिछन् बा † हामीले फोनमा यसो गरी बोल्यो भने त घरै नगए पनि हुन्छ । मान्यौँ दिदी तपार्इंलाई यत्तिको आँटेर लोग्ने तह लगाउने महिला पहिलोपटक देखँे अर्की कर्मचारीले कुरा खोलिन् । हो, तिमीहरू यसै भन्छौ र हेपाइमा पर्छौ नि बहिनी हो । सबै कर्मचारीकी दिदी उनले हाकिमबाहेक अरू कर्मचारीलाई भाइबहिनीको नाताबाटै बोलाउँछिन् । अहिले कसले हेप्छ ? यत्रो महिला अधिकारबारे थाहा छैन ? जागिर खान आउँछौ, श्रीमान्सँग अधिकार खोज्न सक्दैनौ, दिदी सधैँ यसै भन्छिन् ।
उनको नाम चलेका महिला अधिकारवादीसँग राम्रो लिंक रहेछ । दर्जन बढी महिला अधिकारवादीको नाम लिइन् । हेर उनीहरू कसरी त्यत्रो मासको अगाडि महिला अधिकारबारे कुरा गर्छन् ? तिमीहरूलाई खै अधिकारबारे थाहा ? कम्प्युटरमा काम गरिरहेका पुरुष कर्मचारी महिला कर्मचारीको चेपमा परे, अघि बसेका दुई जना कर्मचारी उठेर हिँडे । आधा दर्जन महिलाको बीचमा एक्लै बसेर काम गरिरहेका थिए । बोल्नुहुँदैन बा, केही बोल्यो कि अधिकारको कुरा, अफिसमा आएर काम छैन, कुरा गरेको ताल हेर न † यस्ता श्रीमती परे भने त बिहे गरेको भोलिपल्टै खेदाइदिन्छु मैले । अधिकार चाहिने ठाउँमा खोजे त ठिकै हुन्थ्यो नि ! भान्सा र बाथरुममा अधिकार खोजेर हुन्छ दिदी ? पुरुषसरह पढ्न पाउनुपर्छ, पुरुषले जति अवसर पाउनुपर्छ, आरक्षण चाहिँदैन, महिलालाई अवसर चाहियो भनेर अधिकार खोज्नुस् न कसले दिँदैन ? भोलिदेखि महिलाले मात्रै बच्चा जन्माउने हो भन्ने कहीँ लेखेको छ ? साढे चार महिना महिलाले पेटमा राख्ने, बाँकी समय लोग्नेले राख्ने भन्न बेर छैन यस्तै हो भने । कतिपय कुरामा प्रकृतिले नै महिलालाई अधिकार दिएको छ, त्यसमा तपाईंले लिन्नँ भने पनि पाउनुहुन्न तर कतिपय कुरा चाहेर पनि लिन नसक्ने खालका छन् । समझदारी र विवेक हो दिदी, कार्यालयको कुर्सीमा बसेर लोग्ने तह लगाएँ भन्दै अरूलाई किन उकास्नुहुन्छ ? घरबार भाँड्ने काम त तिनै अधिकारको कुरा गर्नेहरूले धेरै गरेको देखिएको छ । अधिकारको कुरा गर्ने कतिका घरबार भताभुंग भएका छन् ? आफ्नो घरबार मिलाउन नसक्नेले अर्काको अधिकारको कुरा गरेर हुन्छ ?
 म पनि अविवाहित पुरुष हुँ, तपाईंहरूले सधैंभरि यो भाइ पनि अब एउटी महिलालाई दास बनाएर मालिक बन्ने तरखरमा छ भनिरहनुहुन्छ । सुनिरहन्छु, तैपनि बोल्न मन लाग्दैन । पुरुष भन्दैमा उसमा दास मनोभावना हुन्छ भन्ने छैन । मेरा पनि आमा, दिदी–बहिनी छन्, सबैलाई सघाउँछु, अहिले काठमाडौंको डेरामा बस्छु, घरधन्दा सबै गर्छु, बहिनी बिहानै पढ्न जान्छे उसका लुगा पनि धोइदिन्छु, फुर्सदका बेला मेरा उसले धोइदिन्छे । घरमा हुँदा आमाको सारी, चोलो धोइदिएको छु । भाउजू सुत्केरी हुँदा दाइ विदेशमा हुनुहुन्थ्यो, आमा घरबाट आउन ढिलो भयो, सुत्केरी स्याहार्ने कामसम्म गरेको छु । परिआए जे पनि गरिन्छ । पुरुषलाई तह लगाउनै पर्छ भन्ने तपाईंको शैली र श्रीमान्सँग बोलेको कुराचाहिँ मन परेन दिदी, माइण्ड नगर्नुहोला ।
जे भए पनि तपार्इं श्रीमती हो, आधा अंग हो । सम्मान गर्ने ठाउँमा दुवै जनाले गर्नुपर्छ, काम लिने ठाउँमा दुवै जनाले लिन सक्नुपर्छ । तर, अफिसबाट श्रीमान्लाई होच्याएको शैलीमा थर्काएकोचाहिँ अलि सुहाएन दिदी, जे गर्नुस् घरमा गर्नुस् तर कार्यालयबाट सबैसामु श्रीमान्लाई दबाउन पाएकोमा किन आफूलाई ठूलो ठान्नुहुन्छ ? एकोहोरो कुरा सुनेकी दिदी किन कम हुन्थिन् र ? हेर भाइ, तिमी काँचै छौ, महिलालाई हेप्न जानेका छैनौं, अब पक्कै सिक्नेछौ । तिमीलाई तह लगाउने केटी परी भने त फेला पर्छौ भाइ राम्रैसँग, नत्र तिमीले दबाउनै खोज्छौ । यो लोग्ने मान्छेको जन्मजात गुण नै हो । दिदीका कुरा झर्को लागेर उनी बाहिर निस्किए । बाहिर गेटमा उभिएका पालेसँग गुनासो गरे, ए दाइ महिला कर्मचारीको श्रीमान् उडाउने भन्दा अफिसमा काम हुँदैन कि क्याहो ? कति न सरकारी जागिर खाएर भुइँमा न भाँडामा छन् बा † कुरा गरिसाध्य छैन दाइ । सरकारी जागिर खाएका केटी बिहे गर्न सकिँदैन कि क्याहो ? पाले दाइले तिनै दिदीको नाम लिएर भने, ए ती दिदी हुन् यस्ता कुरा गर्ने ? उनको के ठेगान छ ? दबाउञ्जेलसम्म दबाउने हो दबिन छाडेपछि अर्को खोजिहाल्छिन् नि सर † दोस्रो श्रीमान् हो क्या अहिलेको, यी दिदी खान्दानकी छोरी, बूढो ठिकठिकै हैसियतको परेछ, हेप्नुसम्म हेप्छिन् बा † पालेका कुरा सुनेर ती कर्मचारी जिल खाए । हुन त अधिकारका कुरा गर्नेको पारा एकाधबाहेक अधिकांशको यिनै दिदीको जस्तै त हो नि– पालेसँग सही थपे ।
कसैले दोस्रो विवाहबारे दिदीलाई सुनाएछ, दिदीले त्यसमा पनि झपार्न भ्याइछन्, पुरुषले अर्काकी श्रीमती रोज्न हुन्छ भने महिलाले अर्काको लोग्ने रोज्न किन नहुने ? सौता बन्दा पनि अधिकारको कुरा गर्न थालेपछि अरू कुरा गर्ने ठाउँ के रह्यो र ? अधिकारको नाम भजाएर कति बद्नाम भएका छन् । आफ्नो स्वार्थका लागि जे पनि गर्ने, स्वार्थ पूरा भएन भने अधिकारको कुरा गरेर जे पनि गर्ने महिला धेरै छन् । आफ्नो दुनो सोझ्याउन त्यही पुरुष काखी च्याप्ने, दुनो सोझिएपछि उसैलाई बद्नाम गराउने अनि आफंै अधिकारको कुरा गर्ने ? कतिसम्म गिरेका छौँ नारी ? वाद भिर्दैमा कोही पनि परिपक्व र पूर्ण हुँदैन, पहिलो कुरा आफू आफ्नो इज्जतबाट गिर्नु भएन । एक पटक गिरेपछि त्यसको पूर्ति गर्न कठिन हुन्छ । अधिकार माग्न पाइन्छ तर किचन र आँगनमा होइन, मिसनमा खोज्नुपर्छ । किचनमा खोजिने अधिकारले हाम्रो मानसिकता त्यहाँभन्दा माथि उठ्न सक्दैन । यसतर्फ पनि विचार पु¥याउने हो कि ?

टिप्पणीहरू