घरबेटी प्रधानको पक्षमा आज पनि हस्ताक्षर संकलन

घरबेटी प्रधानको पक्षमा आज पनि हस्ताक्षर संकलन

जातीय विभेदको अभियोगअन्तर्गत बेफ्वाँक तीन दिन प्रहरी हिरासतमा थुनिएकी सरस्वती प्रधानलाई न्याय दिलाउन भन्दै आवाज उठ्न थालेको छ । सञ्चारकर्मी तथा गायिका रुपा सुनारलाई जातीय विभेद गर्दै कोठा भाडामा नदिएको भन्ने रुपाको उजुरीका आधारमा घरबेटी प्रधानलाई प्रहरीले तीन दिन हिरासतमा लिएको थियो । पछि सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भनेपछि प्रहरीले बबरमहलकी प्रधानलाई हिरासतमुक्त गरेको हो ।

अहिले उनको समर्थनमा आवाज उठ्न थालेको छ । सोही क्रममा आज काठमाडौंको हनुमानढोका क्षेत्रमा निर्दोष प्रधानलाई न्याय दिलाउन गठन भएको संघर्ष समितिले हस्ताक्षर संकलन सम्पन्न गरेको छ । आज बिहान साढे १० बजेको समयमा समितिका संरक्षक यादवलाल कायस्थ र संयोजक श्रेणा प्रजापतिको नेतृत्वमा उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

हस्ताक्षर संकलन कार्यक्रममा विभेदविरूद्ध हाम्रो पनि साथ छ, तर अरुको सम्पत्तिमा आफ्नो अधिकार खोज्नु सरासर गलत हो, निर्दोष महिला तीन दिन थुनिनु र उनलाई अपराधी ठान्नु गलत हो, सरस्वती प्रधानलाई न्याय दिलाउन एक जुट बनौँ भन्ने नारासमेत लगाइएको थियो ।

टिप्पणीहरू