हेरौं, अर्को लोकमान बाटोमा छ कि ? « Jana Aastha News Online
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022
Logo
३१ श्रावण २०७९, मंगलवार
|  Tue Aug 16 2022

हेरौं, अर्को लोकमान बाटोमा छ कि ?

प्रकाशित मिति :  ११ कार्तिक २०७३, बिहीबार ०८:१७


राजेश मिश्र


नेपाली संसदीय राजनीतिको इतिहासमा महाअभियोगको सामना गर्ने पहिलो पात्रको रूपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की कठघरामा खडा छन् । महाअभियोग मात्र होइन, अन्य थुप्रै सन्दर्भमा पहिलो उदाहरण हुन् ।
लोकसेवा आयोगको परीक्षामा सहभागी नै नभई तत्कालीन राजा वीरेन्द्रको ठाडो आदेशको बलमा सरकारी सेवामा प्रवेश गर्ने उनी नेपालका पहिला व्यक्ति हुन् । ०४६ सालमा राजाको सक्रिय शासनको अन्त्यपछि गठित प्रत्येक जननिर्वाचित सरकारका पालामा आफूले रोजेको अर्थ मन्त्रालयअन्तर्गतका दूधको तर सोहोर्न मिल्ने निकायमा नियुक्ति पाउन सफल कर्मचारी पनि उनै हुन् ।
पूर्वराजा ज्ञानेन्द्रको पालामा उठेको दोस्रो जनान्दोलनमा मुख्यसचिवका रूपमा आफ्ना कुनै बेलाका ‘माइबाप’ गिरिजाप्रसाद कोइरालाको थाप्लोमा लाठी बजार्न आदेश दिने पनि लोकमान नै हुन् । जनआन्दोलनपछि, अपमानित ढंगले जगेडा समूहमा फालिएका उनी नेपालका पहिला मुख्यसचिव हुन् ।
भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिएका उनी नेपालको पहिलो मुख्यसचिव बने । तर, सबैभन्दा रोचक कुरा, सुन तस्करीमा अख्तियारबाट डामिएर पनि त्यही अख्तियारको प्रमुखका रूपमा संवैधानिक निकायको नेतृत्व गर्न मौका पाउने पहिलो व्यक्ति पनि उनै हुन् । लोकमानको संक्षिप्त जीवन वृत्तान्त यही हो ।
सम्भवतः लोकमानले आफ्ना बाबु जनरल भूपालमानले दरबारको पाउ मोलेर कमाएको कीर्तिको उकालो बाटो चढेर भ्याइसके । सामन्ती संस्कारमा हुर्केको मान्छे स्वभावले नै असहिष्णु हुन्छ । यस्तो व्यक्तिमा परिवर्तनलाई आत्मसात् गर्न सक्ने सामथ्र्यको सर्वथा अभाव हुन्छ । लोकमानले गणतान्त्रिक लोकतन्त्रलाई स्वीकार गरेनन् । बरु भागेर भारत पुगे ।
‘अध्यात्मिक’ ज्ञानको खोजीमा दक्षिण भासिएका उनी नेपाल राजनीतिक अस्थिरताको उत्कर्षमा पुगेका बेला, विदेशी आशीर्वाद लिएर प्रकट भए । ‘भैयाहरूको’ ठाडो हस्तक्षेपबाट संसद्को सहमतिविना प्रधानमन्त्रीले समेत हल्लाउन नसक्ने संवैधानिक निकायको प्रमुखका रूपमा विराजमान भए ।
के अब लोकमानको अवरोहको यात्रा सुरु भयो ? मुलुकको पहिलो दल नेपाली कांग्रेसलाई शंका छ । ‘घामको रापमा हँसिया लिएर वनमारा झार छिमल्न हिँडेको प्रक्रियाप्रति रूख चुपचाप छ ।’ माइतीघरबाट बानेश्वर पुगेको एउटा जुलुस पछि कांग्रेसको यो मौनताको प्रतिध्वनिले विदेशमा समेत तरंग सिर्जना गर्दै छ ।
कांग्रेस निःसन्देह एउटा परम्परावादी पार्टी हो । यो पार्टीले २०११ सालमै बिपी कोइरालाको नेतृत्वमा संविधानसभाको बाटोमा जाने निर्णय गरेको हो । कांग्रेस त्यसपछि ०१५ सालसम्म चुप लाग्यो । ०१५ सालमा यथास्थितिमा चुनाव लडेको कांग्रेसले ०१७ सालमा महेन्द्रको मात खायो ।
०४८ सालमा सत्तामा पुगेको गिरिजाप्रसाद कोइरालाको ‘एकमना कांग्रेसी सरकार’ ३६ र ७४ मा विभाजित भई ढलेपछि मध्यावधि चुनावको तयारीमा रहेका कोइरालालाई मैले विराटनगर कोइराला निवासमा संविधानसभाको चुनावबारे सोधेको थिएँ । उनको उत्तर थियो, ‘संविधानसभा पाण्डोराको बाकस हो ।’ पछि कोइरालाले यो उक्तिलाई धेरै आमसभामा दोहो¥याए ।
अहिले संविधानसभारूपी पाण्डोराको बाकसले जातीयता, धर्म र क्षेत्रीयताजस्ता धेरै विषालु सर्प निकालेको छ । कांग्रेसलाई सोचेर निर्णय गर्ने अधिकार छ । तर, परचक्रीले जाल हानिसकेपछि सोचेको कुराको अर्थ हुँदैन भन्ने कांग्रेसले नबुझ्नु नेपाली प्रजातन्त्रका लागि अभिशाप हुने गरेको छ । बाटेको डोरी जलेर खरानी भए पनि डोरीका गाँठाको आकार यथावत हुन्छन् । कांग्रेस त्यस्तै पार्टी हो । कांग्रेसको ‘राष्ट्रियता–प्रजातन्त्र–समाजवाद’ भन्ने नारा ०४८ पछि चुनावमा आएका वामपन्थी दलले उहिल्यै अपहरण गरिसके । गिरिजाप्रसाद कोइरालाका अर्थमन्त्री डा. रामशरण महतले निजीकरण र आर्थिक उदारवादको नाममा बिपीको समाजवादलाई पँुजीवादी विश्व बैंकको कित्तामा लगेर आत्मसमर्पण गरिदिए ।
नेपाली कांग्रेससँग मुलुकको आर्थिक उन्नतिका लागि अब कुनै निश्चित मार्गदर्शन छैन । कांग्रेससँग मात्र अर्घेलो नगर्ने हो भने कुनै पार्टीसँग पनि छैन । सबै दल आफ्नो स्थायित्वका लागि भारतसँग अनि विदेशी अनुदानका लागि दातृ निकायसँग लम्पसार पर्नुको विकल्प छैन ।
प्रसंग लोकमानको हो । २४० वर्ष पुरानो जग गाडेको राजतन्त्र फाल्ने हैसियत भएका नयाँ नेपालका नेता दरबारको कृपाभोगी लोकमानसँग तर्सिनुपर्ने कारण के थियो ? सर्पको खुट्टा सर्पले देख्छ । लोकमानलाई सबै दलका नेताको आर्थिक चलखेलबारे थाहा छ । ४५ महिना अख्तियारमा हुँदा उनले सबैको फाइल खडा गरेका छन् । उनले त्यसलाई बेलामा पल्टाउने तुरूपको पत्ताका रूपमा सुरक्षित राखे ।
त्यसबाहेक, लोकमानले नेपालका हरेक नेताले दिल्ली पुगेर के–के मन्त्रणा गरे, त्यसको पनि हिसाब–किताब राखेका छन् । जसरी लोकमान दिल्लीलाई रिपोर्ट गर्छन्, लोकमानलाई नेपाली नेताबारे ‘डोसियर’ आउँछ । लोकमान नेपाली नेता र भारतीय स्वार्थको चाकाचुलीमा एउटा ‘उत्तोलक’ हुन् ।
खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने रणनीति भारतको थियो । तर, त्यसका लागि मुख खोल्न भारतले बाबुराम भट्टराईलाई लगायो । प्रचण्ड लाचार भए । बाबुराम प्रचण्डसँगको लगनगाँठो चुँडाउन आतुर थिए । एमाले नेता दिल्लीमा आफ्ना दूत पठाउँदै थिए । कांग्रेस त सधंै विभाजित, उनका दुई वटा दूत एकैपटक दिल्ली जान्थे । यो नेपाली नेताको दिल्ली रिझाउने चातुर्य थिएन भने, त्वं शरणं को पराकाष्ठा थियो ।
लोकमानहरू आउँछन्, जान्छन् । हाम्रा नेता कतै जाँदैनन् । यिनीहरूको उपचार नगरे, यिनीहरूले अर्को लोकमान जन्माउनेछन् । जनता सर्प, बिच्छी र भ्यागुताको गठबन्धनमा राहत खोज्न बाध्य हुनेछन् ।
लोकमानजस्तै दीप बस्नेत पनि नाटकीय ढंगले ‘ठाउँमा’ पुगेको मान्छे हो । हेरौं, अर्को लोकमान बाटोमा आउँदै छ कि ?


प्रतिक्रिया दिनुहोस !