रोल्पामा यसचोटि यसरी रमाइयो

– सुदर्शन मंगोल


यसपालिको दसैंअघि रोल्पा सदरमुकाम लिवाङमा जिल्ला पार्टीद्वारा आयोजित भेला ऐतिहासिक र भिन्न रह्यो । जिल्ला र बाहिरसमेत कार्यरत नेता–कार्यकर्ताको उपस्थिति रहेको सो अन्तरक्रियात्मक भेलामा जिल्ला पार्टीका निकै चर्चित नेता–कार्यकर्ता सहभागी थिए ।
दुईदिने भेलामा स्थायी समिति सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य वीरजंग, सञ्जीवकुमार, आदर्श, सन्तोषी विक उपस्थित थिए ।
जिल्लामा कार्यरत नेतामा केन्द्रीय सदस्य नन्दबहादुर बुढा विजय, जिल्ला सेक्रेटरी जागृति, जिल्लाका चर्चित र पुराना नेता थवाङका कमरेड प्रताप, पश्चिम रोल्पाका पुराना नेता सुन्दर ओली पनि सहभागी थिए ।
थवाङका पुराना एवं सबैका सम्माननीय नेता गोरे दाइको सहभागिता रोचक र उत्साहमूलक थियो ।
१९ र २० असोज भेलामा सेक्रेटरी जागृतिले रोल्पा अहिले सुतेजस्तो देखिए पनि अब उठ्न थालेको बताए । प्रचण्ड–बाबुरामको धोका र गद्दारीले जनतामा अझै पनि निराशा र अन्योल कायम रहेको थवाङका प्रतापको अनुभूति थियो । जिल्लामा आफ्नो पार्टीले धेरै हदसम्म आशाको किरण छरेको अनुभूति अर्का नेता सुन्दर ओलीको थियो ।
सन्तोष बुढामगरले १० वर्षे जनयुद्धलाई प्रचण्डले अघि बढाउन नसक्दा माओवादी आन्दोलनले ठूलो क्षति व्यहोरेको र अहिले महासचिव विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशाबाट नयाँ र मौलिक ढंगले क्रान्ति गर्न थालिएको बताएका थिए ।
१० वर्षे जनयुद्धताका मेसको खाने संस्कृतिलाई निरन्तरता दिँदै भेलामा उमेरले पनि पुराना कमरेड खटिएका थिए । नेता–कार्यकर्ता अनुशासित भएर दुई दिनसम्म बस्नु अहिलेको सन्दर्भमा निकै आशावादी र प्रेरणादायी कुरा हो । पहाडको चुचुरोमा पुग्नै आँटेको मान्छेलाई मुख्य मान्छेले पछाडि धकेलिदिँदा कस्तो पीडा हुन्छ भन्ने कुरा तिनै मान्छेलाई सोधे पुग्छ । माओवादी जनयुद्धमा भएको त्यही हो ।
रोल्पा भेलामा तिनै नेता–कार्यकर्ताको जमघट थियो जसले माओवादी आन्दोलनमा ठूलो योगदान गरे तर त्यसबाट कुनै व्यक्तिगत लाभ र फाइदा हासिल गरेनन् । सन्तोष बुढामगर कृष्णबहादुर महरापछि सिनियर नेताका रूपमा चिनिन्छन् । उनले एकपटक सभासद् लिनुबाहेक अरू कुनै व्यक्तिगत लाभ हासिल गरेनन् ।
त्यसैगरी, वीरजंग, सञ्जीव कुमार, आदर्श, सन्तोषी विकलगायतले पनि कुनै लाभ लिएनन् । विचार छाडेर प्रचण्डको बाटो समाएको भए यी सबैले व्यक्तिगत सुविधा हासिल गर्न सक्थे । अर्कोतिर, माओवादी जनयुद्धको बलबाट शान्तिप्रक्रियामा आइसकेपछि रोल्पाका कृष्णबहादुर महरा, वर्षमान पुन, नन्दकिशोर पुन, ओनसरी घर्ती, जयपुरी घर्तीलगायत कैयौंले उपराष्ट्रपतिदेखि सभामुख हुँदै सांसद बन्ने अवसर पाएका छन् ।
 त्यही भएर त माओवादी विभाजन भयो । एउटा संसदीय र अर्को क्रान्तिकारी बन्न पुग्यो ।
माओवादी जनयुद्धको केन्द्र भाग र ऐतिहासिक जिल्ला रोल्पामा जन्मिएका नेत्रविक्रम चन्द विप्लवले पछिल्लो क्रान्तिकारी माओवादी आन्दोलनलाई हाँक्दै छन् । यो महान् अवसर पनि हो ।

टिप्पणीहरू