एउटा तानाशाहको सुरुङभित्र अन्त्य

एउटा तानाशाहको सुरुङभित्र अन्त्य

सन् १९३३ को जनवरी ३० मा हिटलर जर्मनीको चान्सलर अर्थात् भाग्य बिधाता बने । आफ्नो प्रेमी चान्सलर बनेको खबर फैलिंदा ईभा मस्त निद्रामा थिइन् । देशभरि हिटलर चान्सलर (प्रधानमन्त्री) बनेको खबर फैलियो । चान्सलरको कार्यालयमा फोनको ताँती लाग्न थाल्यो । तर, हिटलर भने ईभाको फोन र बधाइको प्रतिक्षामा थिए । निकै बेरसम्म पनि आफूले मन् पराएकी युवतीको बधाइ सन्देश नआएपछि उनले अपरेटरलाई ब्रान परिवारको म्युनिखस्थित घरमा फोन मिलाउन लगाए । फोन ईभाले नै उठाइन् । अपरेटरले भनिन्’ बर्लिनबाट श्रीमान चान्सलर कुरा गर्न खोज्दै हुनुहुन्छ ।’ एकैछिनमा ईभाको कानमा हिटलरको स्वर पस्यो । ‘ईभा, जर्मनीमा सूर्योदय भयो त ! तिमीलाई धेरैधेरै धन्यवाद !! म भोलि बिहानै म्युनिख पुग्दैछु । तिमी मेरो घरमा बस्ने गरी आउनू ।’

तर, हिटलर म्युनिख पुगेनन् । ईभा बाहेक अन्य दुई प्रेमिका लेनी रिफेन्स्ताल र युनिटी मिटफोर्डलाई पनि समय दिनुपर्ने भयो । उता, ईभा हिटलरको प्रतिक्षामा बसिरहिन् । एकदिन हैन दुईदिन हैन, हप्तौंसम्म । उनी एकदम निराश बनिन् । सहनशक्तिले सीमापार गरेपछि एकदिन निद्रा लाग्ने औषधीको चक्की धेरै मात्रा खाइदिइन् र अचेत बनिन् । संयोगले दिदी इल्सा १० मीनेटमै कोठाभित्र छिरिन् । गाउन फर्काउन पुगेकी उनले ईभालाई अचेत अवस्थामा देखिन् र डाक्टरलाई फोन गरिन् । डाक्टरले दुई घण्टाको अथक प्रयासमा फेरि ईभाको ज्यान बचाइदिए । परिवारको सदस्य यो कुरो हिटलरलाई थाहा दिन चाहन्नथे । तर, हिटलरका गुप्तचरहरू सर्वत्र सकृय थिए । ती डाक्टर यहुदी थिए त्यसैले झन उनको निगरानी त गर्ने नै भए । ४ घन्टा नबित्दै ईभाले बिष सेवन गरी मर्न खोजेको समाचार हिटलरको कानमा प¥यो । अनि त छिनभरमै म्युनिखको सडकमा यातायात जाम हुन थाल्यो । नाजी सैनिक दस्तासहित हिटलर अस्पताल पुगे । बुकी ईभाको तकियासँगै कुर्सीमा राख्दै उनले भने ‘ईभा, कृपया यस्तो बिचार मनमा फेरि कहिल्यै नल्याउनु । तिमी गए तिम्रा अभो अभाव पूर्ति मैले कसरी गरुँला ? जिन्दगीभर गर्न सक्दिन । तिमीलाई गुमाउनु मेरोलागि असहनीय हुनेछ ।’

हिटलरको कुरोले ईभा आश्वस्त भइन् । उनले अब हिटलरबाट दिनहुँ फूलको गुच्छा प्राप्त गर्न थालिन् । हिटलरले फोनबाट हालचाल सोध्न थाले । ईभाको लागि म्युनिखको भोजेनहासेनमा ३० हजार डलरमा ३ कोठाको घर लिइदिए । नोकरचाकरको ब्यवस्था गरिदिए । फोन जडान गरिदिए । एउटा गाडी । दुइटा कुकुर स्तासी र नेगस उपहार दिए । रेखदेख गर्न छुट्टै एउटा शेफर्ड कुकुर बास्को थियो । महङ्गो फर्निचर, भित्ते चित्र, लुगाफाटा, गरगहना, खर्च गर्न पैसा । औपचारिकतवरमा ईभा नै प्रथम महिला घोषित भइन् । हिटलर जब म्युनिख जान्थे, ईभाकै बंगलामा रात बिताउन थाले । म्युनिख बाहिर रहँदा पनि दिनहुँ फोन गर्थे । ईभा खुशी थिइन् । उनले हिटलरको मनमा बिशेष स्थान बनाइसकेकी थिइन्, जुन हिटलर आफैले पनि आशा गरेका थिएनन् ।

सन् १९३९ मा दोश्रो बिश्वयुध्द शुरू भयो । जर्मनीले एकपछि अर्को बिजय हासिल गर्दै गयो । यो समय अधिकांश समय हिटलर ईभासंगै हुन्थे । हिटलरले ईभालाई जता पनि लान थाले । ईभाकोलागि बस्ने ब्यवस्था बिशेष हुन्थ्यो । ईभालाई लिन विमान, रेल र गाडीको ताँती लाग्थ्यो । हिटलर आफ्नो सबै पैसा नाजी पार्टी मुख्यालयका प्रमुख तथा सचिव मार्टिन बोर्म्यानलाई राख्न दिन्थे । हिटलरको बिश्वास जितेका मार्टिन पार्टी र सरकारमा शक्तिशाली बन्न पुगे । उनले कहिलेकाहिं धाक देखाउन ईभाको बील तिर्न पनि आनाकानी गर्न थाले । यो समस्याबाट मुक्ति पाउन ईभाले बीलै मार्टिनको नाउँमा बनाउन थालिन् । यो कुरो थाहा पाएपछि हिटलरले बोलाएर मार्टिनको सातो लिए ।

सन् १९४४ को सुरुवातमै स्थितिमा परिवर्तन आयो । जर्मनीले पराजय भोग्दै जान थाल्यो । पराजयको समाचार सुनेर हिटलर विक्षिप्त बन्थे । बहुलाले जस्तो ब्यवहार गर्थे । यस्तो अवस्थामा हिटलरलाई सम्हाल्ने काम ईभाले नै गरिन् । हिटलरलाई काखमा सुताएर, टाउको दबाउने, हौसला दिने काम उनैले गरिन् । उनी एकछिन पनि हिटलरलाई एक्लै छाड्दिन थिइन् । सन् १९४४ को अप्रिल २४ मा म्युनिखमा बमबारी भयो । ८०% घर ध्वस्त भयो । त्यो दिन ईभा आफ्नो घरमै थिइन् । दुखद समाचार सुनेर हिटलरले ईभासंग सम्पर्क गर्न धेरै प्रयास गरे । सम्पर्क नभएपछि बिचलित बनेर कोठामा ओहोरदोहोर गर्न थाले । उनले सचिवलाई भने ’ मलाइ ईभाको चिन्ता लागेको छ । मलाई थाहा छ, उनको बानी । घरमा लुक्ने ठाउँ हुँदाहुँदै उनी बमबारी भएको हेर्न छतमा दौडन बेर लगाउँदिनन् ।’

एकपटक सचिवले उनीसित सोधे ‘फ्युहरर, तपाईं बिबाह किन गर्नु हुन्न ?’ प्रश्न सुनेर हिटलर अन्तमुर्खी बने अनि गुनगुन गर्दैै भने ‘म आफ्नो परिवारको मुखिया बन्न सक्दिन । म पत्नीलाई समय दिनै सक्दिन भने गैरजिम्मेवार किन बन्ने ? अर्को कुरो, म कुनै सन्तान पनि चाहन्न ।’

पराजय भोग्दै जाने क्रममा बर्लिन आधा ध्वस्त भएपछि हिटलरले मानसिक सन्तुलन गुमाउए । हात काम्न थाल्यो । ईभाले आफूलाई सम्हाल्न भन्दा उनले भने’ मेरो हात पो काँपिरहेको छ, टाउको फुटिसकेको त छैन नि ? ईभाले फेरि भनिन् ‘तपाईं कुरै सुन्न तयार हुनुहुन्न । मलाई तपाईंको स्वास्थ्यको धेरै चिन्ता लाग्छ ।’ कुरा सुनेर हिटलर एकछिन ईभालाई हेर्दै बसे । अनि भावुक हुँदै भने ‘तिमी नै एकजना त छ्यौ, मेरो चिन्ता लिने । मात्र तिमीलाई चिन्ता छ मेरो, अरु कसैलाई छैन ।’

स्थिति धेरै खराब बन्न थालेपछि हिटलरले सुरक्षार्थ ईभालाई बर्घौफ पठाउने निश्चय गरे । शुरुमा ईभा मानिनन् तर पछि मानिन् । बर्घौफ जाने क्रममा म्युनिखमा दुइ चार दिन बिताइन् । घरको हेरचाह गरिन्, कुकुरको हेरचाह राम्रोसित गर्न नोकरहरुलाई चेतावनी दिइन् । आमा, बुबासित भेटिन् । पछि बर्घौफ नगई फेरि बर्लिन् फर्किइन् । सहरमा बम वर्सिरहेको थियो । बाटोमा एउटा बमको छर्रा उनी चढेको गाडीको पांग्रामा पर्यो । ड्राइभर पांग्रा फेर्न गाडीबाट निस्के । तर, एकैछिनमै चिच्याए ‘म्याडम, गाडीबाट निस्केर कतै लुक्न गइहाल्नुस् ।’

ईभा भाग्दै एउटा बंकरमा पुगिन् । पुरा रात त्यहिं बिताइन् र बिहान मात्र बर्लिन पुगिन् । उनले बाटोमा देखिन् कि चान्सलरको कार्यालय भवन आधा ध्वस्त भैसकेको थियो । उनले खेल खत्तम भएको ठानिन् ।

ईभा सिधै हिटलर लुकेर बसेको जमीनभन्दा १६ मीटर तल बनेको बंकरमा पुगिन् । ईभालाई देखेर हिटलरले अचम्म माने अनि रिसाएर सोधे ’तिमीलाई मैले बर्घौफ पठाएको हैन ? फेरि किन यहाँ ? ईभा जवाफ नफर्काई उभिरहिन् । प्रेमीको हात समातेर सुम्सुम्याउँदै मुसुमुसु हाँसिरहिन् । ईभा हातमुख धुन बाहिर जानेबित्तिकै हिटलरले आफ्ना सचिवलाई भने ‘ईभाबाहेक अरु को मूर्ख होला यो संसारमा ? बर्घौफ जस्तो सुरक्षित स्थान नगई मसँग बस्न आइन् ।’

सन् १९४५ को अप्रिल २० । हिटलरको ५७ औं जन्मदिन । उक्त अवसरमा ईभा लगायत सबै साथमै थिए तर पर्सिपल्टदेखि नै सबै साथी उनलाई छोडेर हिंड्न थाले । सोहीक्रममा बिदेशमन्त्री जोचिम रिबेन्ट्रोप बिदा माग्न आइपुगे । उनले ईभालाई भने ’ ईभा, तिमी फ्युहररलाई सम्झाऊ यहाँबाट संगै निस्कौं भनेर । तिमीले उनलाई निकालेर अन्तै लान सक्यौ भने यो जर्मनीकोनिम्ति ठूलो सेवा हुनेछ ।’

तर ईभाले सटिक जवाफ दिइन् ‘म त उनलाई यस विषयमा केहि भन्दिन । निर्णय उनैलाई लिन दिऊँ । उनी जहाँ बस्छन् म साथमै बस्नेछु ।’ अन्त्य नजिक आइपुगिसकेको थियो । हिटलरका दुईजना सेवक आएर ईभालाई भने ’हामी भागेर जान्नौं । फ्युहररकै सेवामा ज्यान अर्पण गर्छौं । मर्नुअघि हामीलाई आ–आफ्नो प्रेमिकासंग बिहे गर्न अनुमति दिनुस्, बस् ।’

ईभा उनीहरूको कुरा सुनेर भावबिह्वल बनिन् । उनले हिटलरसंग सल्लाह लिएर अनुमति दिइन् । बंकरभित्र बिबाह समारोह सम्पन्न भयो । हिटलर स्वयं उक्त समारोहमा सरिक भए । कोठामा पसेपछि हिटलरले ईभाको कानमा केहि कुरो भने । ईभा खुशीले नाचिन् । सोहि साँझ त्यहाँ पादरी आइपुगे । ईभा दुलहीको लुगा लगाई हिटलरको पछिपछि हलमा प्रवेश गरिन् । पादरी वाल्टर वाग्नरले टेबुलमा राखिएको कागजमा दुबैलाई हस्ताक्षर गर्न भने । ईभा हस्ताक्षर गर्न निहुरेकी मात्र थिइन् बंकरमा बम खस्यो । हिटलरले हस्ताक्षर गर्दै गर्दा बिस्फोटसँगै प्लास्टर झ¥यो । अपृल २९ सुरू भैसकेको थियो । रातिको २ बजे त्यहाँ उपस्थित सबैले दुलाहा दुलहीलाई बधाइ दिए । हिटलरले भने ’मेरो इच्छा, चान्सलरबाट निवृत्त भई जीवनको अन्तिम समय ईभासँग अष्ट्रियाको कुनै गाउँमा बिताउँला भन्ने थियो, तर हामीसँग त्यो समय रहेन । भगवानको इच्छा यहि होला, सायद ।’

त्यसपछि हिटलर ईभासँग सुहागरात मनाउन कोठाभित्र पसे । बिहान ११ बजे बल्ल ईभाको निद्रा खुल्यो । उनी हिटलरसँग चिया खान बसिन् । एकाएक हिटलरको हात काँप्न थाल्यो, र चिया पोखियो । ईभाले मायालुपाराले पाइन्टमा लागेको चिया पुछिदिइन् । दिउँसो हिटलरले साइनाइड कुकुरलाई ख्वाएर परिक्षण गरे । कुकुर म¥यो । उनी ढुक्क बने ।

सन् १९४५ अप्रिल ३० को दिन दिउँसोको साढे दुई बजे दुबैले सँगै खाना खाए । अनि साढे तीन बजे सबैसँग बिदा लिएर कोठाभित्र पसे । कोठाभित्र प्रवेश गरेको छिनभरमै गोली चल्यो । सैनिकले ढोका खोली हेर्दा हिटलर र ईभा दुबैजना मरिसकेको पाइयो । संगै पेस्तोल थियो । दुबैको लाशलाई सुरक्षाकर्मीले ग्यासोलिन छर्केर जलाइदिए । हिटलरले पहिला ईभालाई साइनाइड ख्वाएर मृत्युको मुखमा पु¥याएका थिए अनि आफैले आफूलाई गोली हानी मरेका थिए ।

बाहिर बर्लिन शहरमा त्यो बेलासम्म सोभियत संघले ५ लाख सेना उतारिसकेको थियो । त्यहि साँझ रुसी सेनाले बर्लिनमा रुसी झण्डा गाडे । तेश्रो दिन मे २ मा सम्पूर्ण बर्लिन शहर रुसी लालसेनाको कब्जामा गयो । हिटलर र इभाको दुखद अन्त र बिश्वमा शान्तिको लहर छायो । ६ दिनपछि मे ८ मा जर्मनीले सोभियतसंघसहित मित्रराष्ट्रको गठबन्धन सेनासमक्ष घुँडा टेक्यो । बर्लिन कब्जा गर्न रुसी सेनालाई १७ दिन लागेको थियो । उक्त अवधिमा ८१ हजार रुसी सेनाले ज्यान गुमाए भने २ लाख ८० हजार घाइते भए । जर्मनीतर्फ ९२ हजार सैनिक र २२ हजार सर्वसाधारणको ज्यान गयो । ४ लाख ८० हजार जर्मन सैनिकलाई रुसी सेनाले कब्जामा लिए । रुसले जर्मनीमाथि कब्जा जमाउन कूल २३ लाख सेना उतारेको थियो ।

टिप्पणीहरू