“ओलीमा सबैलाई पेलेरै जाने मनशाय देखियो”,नेपाल पक्ष

“ओलीमा सबैलाई पेलेरै जाने मनशाय देखियो”,नेपाल पक्ष

नेकपा एमालेले सर्वोच्च अदालतले अवैध ठहर गरेको दशौँ महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। भर्खरै बालुवाटारमा सम्पन्न ओलीपक्षीय स्थायी कमिटीको बैठकले असार १६ गतेलाई बैठक बोलाउने निर्णय गरेको हो ।

एमालेमा पार्टी एकताका लागि वरिष्ठ नेता माधव नेपाल पक्षले ०७७ फागुन २८ को निर्णय सच्याएर २०७५ जेठ २ को अवस्थाबाट पार्टीका कमिटीहरु क्रियाशील बनाउनुपर्ने माग राखिरहेका बेला ओलीले आयोजक कमिटीको बैठक बोलाउने निर्णय सुनाउनु भएको हो ।

पार्टी एकताका लागि भन्दै नेपाल समूहबाट सक्रिय एक नेताले पार्टी एकताको सम्भावना टरेको प्रतिक्रिया दिएका छन् । अदालतले समेत नचिन्ने आयोजक कमिटीको बैठक बोलाएर अध्यक्ष ओलीले जेठ २ मा फर्किने कुरा अस्वीकार गर्नुभएको छ । यसले एकताको सम्भावनालाई कमजोर बनाएको हाम्रो बुझाइ छ’,ती नेताले संक्षिप्त प्रतिक्रिया दिंदै भने । यसअघि नेपाल निकट कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्दै सर्वोच्च अदालतले फागुन २८ गते ओलीले बनाएको अधिवेशन आयोजक कमिटीलाई अवैध ठहर्याएको थियो ।

नेकपाको एकता भंग गरी एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काउने फागुन २३ को सर्वोच्चको आदेशको ५ दिनपछि आफूपक्षीय केन्द्रीय सदस्यहरुले बैठक राखेर ओलीले नवौँ महाधिवेशनबाट निर्वाचित आफू र इश्वर पोख्रेलबाहेक सबै पदाधिकारी खारेज,नेताहरुको जिम्मेवारी हेरफेर र महाधिवेशन आयोजक कमिटी गठन गर्नुभएको थियो । नेपाल पक्षले पार्टी एकताका लागि फागुन २८ को निर्णय खारेजीलाई शर्त बनाएको छ ।

‘अदालतले नै महाधिवेशन आयोजक कमिटी नचिन्ने भनिसकेको अवस्था र पार्टीलाई एकतावद्ध बनाउने हाम्रो प्रयास जारी रहेको बेला त्यहि कमिटीको बैठक बोलाइएको छ । यसले अदालतलाई पनि च्यालेन्ज भयो । ओलीले एकता नचाहेको र अझै पेलेरै जाने मनस्थिति बनाएको प्रष्ट देखियो’,ती नेताले भने ।

टिप्पणीहरू