बिहेलाई पेसा नबनाऊँ न बिन्ती !

कालोकोटको आडमा जसले जे गरे पनि हुने मुलुक रहेछ यो । रौतहट जिल्ला अदालतको श्रेस्तेदार (उपसचिव) रही हाल पुनरावेदन अदालत बाग्लुङका उपरजिष्ट्रार कुलप्रसाद भण्डारीबाट व्यहोरेको मानसिक र शारीरिक पीडाको अत्यासलाग्दो पहाड बोकेर हिँडिरहेको छु । न्यायको खोजीमा कहाँ–कहाँ मात्र भौंतारिनँ । सबैतिर चहार्दै अन्ततः न्यायको झिनो आसमा सर्वाेच्च अदालतसम्म आइपुगें । थाहा छैन, कालोकोटबाटै लुटिँदा, खुसी खोसिँदा यो मुलुकमा न्याय पाइन्छ कि पाइँदैन ?
भरतकुमार दाहाल । ओखलढुंगा कांग्रेस जिल्ला नेता । सिद्धिचरण नगरपालिका–१ सानिटार स्थायी घर । पेसाले घर–जग्गा व्यवसायी । जेठी श्रीमतीबाट तीन छोरीसहित एक छोरा । छोरा कलेज पढ्ने भइसकेको । प्रौढ उमेरमा पहिलो श्रीमती ओम शान्ति धर्ममा गइन् । यो धर्ममार्गी अरूले पकाएको समेत खाँदैन अर्थात् यी ‘स्वयंपाकी’ । आफैं पकाउँछन्, आफैं खान्छन् । यो धर्ममा लागेपछि यौनादी कार्य वर्जित छ ।
 श्रीमती ओम शान्तिमा गएसँगै यौनकुण्ठा बढ्दै गयो । खोजीमा थिएँ, उम्लँदै गएको जवानीको पानी बिसाउने ठाउँ । सायद नियतिले यस्तै लेखिदिएको थियो । ठट्टामै साथीभाइसँग यस्तै विषयमा जिस्कँदा एक मित्रमार्फत परिचय भयो सीता थापासँग । उमेरले उनी पनि प्रौढ । बुबा, आमा र आफन्त नभएको बताइन् सुरुमा । नजिकिँदै जाँदा पहिलो श्रीमान्ले छाडेर बसेकी, दुई छोरीलाई हुर्काइरहेको संर्घषशील महिलाका रूपमा चिनँे । मन साटिँदै गयो । आज भेट्यो, भोलि भेट्यो । भेटघाट बाक्लिँदै जाँदा मन साटियो । बुढेसकालमा प्रेम भयो ।
उनी पनि बाँकी जीवन काट्ने कुनै सहयात्रीको खोजीमा थिइन् । दुई छोरीकी आमा सीतासँग निरन्तरको भेटघाटपछि मनमुटु साटियो । विवाह गर्ने निर्णयमा पुग्यौँ । विवाह गर्नुअघि सीता वीरेन्द्र कपडा पसलअगाडि टेलरिङ चलाएर जीवनयापन गर्दै थिइन् । विवाह त गर्ने नै भयौं तर सर्त थियो सन्तान नजन्माउने । सोहीबमोजिम भेटिएको केही समयपछि ०६६ साल वैशाख १ गते विवाह गरिएको हो रौतहटमा ।
केही समयपछि आफ्नै गृहजिल्ला ओखलढुंगा पुगी विवाह दर्ता गराइयो । र, उनको नाममा नागरिकता लिइदिएँ । यता, सीताको पहिलो श्रीमान्को तर्फबाट जन्मिएकी छोरी सुजाता थापा अध्ययनका लागि स्कटल्याण्ड जाने भइन् । उनको अध्ययनका लागि पैसा जुटाउन अनुनय–विनय गरिन् । मैले ऋण खोजेर हालिदिएँ ४ लाख ।
माओवादी भर्खर युद्धबाट शान्ति प्रक्रियामा फर्किएको समय । घर–जग्गामा लगानी ह्वात्तै बढेको थियो । विवाह गरेको केही महिना नबित्दै कारोबार राम्रो हुँदै गयो । राम्रै पैसा कमाएँ । सोचेको थिएँ, भाग्यमानी, लक्षणकी लक्ष्मी रहिछ सीता । त्यही घरजग्गा कारोबारबाट कमाएको आम्दानीले सोही वर्षको २३ भदौमा चन्द्रनिगाहपुरमा जग्गा किनियो । जग्गा किनेसँगै सीताको दबाब सुरु भयो । भनिन्छ, ‘नारी हठ, राजहठ र बालहठको अगाडि कसैको केही जोर चल्दैन ।’ त्यही जग्गा धितो राखेर बैंकबाट १५ लाख निकालेँ । घर बनाएँ । दुःखजिलो गरेरै तीन तलाको घर ठडियो । घर दुवैको नाममा (संयुक्त) भयो ।
पहाडको जग्गा तीन छोरा, एक छोरी र श्रीमतीको नाममा गरी मधेस झरेको थिएँ । यता, दोस्रोे श्रीमतीसँग म नजिकिँदै जाँदा पहाड (ओखलढुंगामा) रहेका श्रीमती र छोरा टाढिँदै गए । स्वाभाविकै थियो । यता, पहाडमा रहेको छोराले घर बनाउन लागेको खबर आयो, घर बनाउने, बेच्ने काम गर्दै आएका बाबुलाई घर बनाइदिन आग्रह गरेसँगै नकार्न सकिएन । तिनको इच्छापूर्ति गर्नु बाबुको दायित्व हुन आउँथ्यो । सीतासँग बिदावारी भएर पहाड उक्लिएँ । रौतहटको सिंगो घर उनै श्रीमतीको जिम्मामा थियो ।
एउटी छोरी स्कटल्याण्ड र अर्की पोखरामा । यता सीता एक्लै थिइन् । यत्तिकैमा उनले मन बहलाउने साथीका रूपमा गौर अदालतका श्रेस्तेदार कुलप्रसाद भण्डारीलाई भेटिछन् । दाजुको नाता लगाउँथिन् । उनको कुलप्रसादसँग चिनजान पहिलो श्रीमान्सँग सम्बन्धविच्छेद गर्दाको समयमा भएको रहेछ । रौतहट जिल्ला अदालतको तामेलदार पदमा कार्यरत शम्भु नामका व्यक्तिले नै चिनाएका रहेछन् । उनीहरूबीच ६ महिनाअघि मात्र चिनजान भएको थियो । त्यहाँका मान्छेले सुनाउँथे तपार्इं घरमा नभएका बेला तपार्इंको श्रीमती (सीता) र कुलप्रसाद यतै बस्ने गर्छन् । एक कान, दुई कान, मैदान, यो खबर पहाडमा रहेको मेरोे कानसम्म आइपुग्यो । हतारिँदै, आत्तिँदै चन्द्रनिगाहपुर झरँे । म घरमा भएको बखत सीताको बास उतै क्वार्टरमा जाने क्रम बढ्दै गयो । हावा नचली पात त हल्लँदैन !
नानीदेखि लागेको बानी, किन जान्थ्यो र ? विस्तारै असली चेहरा देखा पर्न थाल्यो । जति–जति असली चर्तिकलाको भेउ पाउँदै जान्थँे, त्यति–त्यति आफ्नो गल्तीप्रति पश्चात्ताप महसुस गर्थें । पछुतोको आगोले बेस्सरी पोल्थ्यो । तर के गर्नु ? पश्चात्तापको आँसु झारेर मात्र समस्या सामाधान हुनेवाला थिएन ।
सँगै सुत्दा मध्यरातमा समेत परपुरुषको फोन आउने क्रम बढ्दै गयो । कसैलाई ‘ठुल्दाइ’ भन्ने, घरमै ल्याउने । जबकि, सीताको आफन्तका नाममा छोरीबाहेक अरू छन् भन्ने थाहा थिएन । उनले अरू आफन्त छ भनेर भनेको पनि थिइन । जे भन्थी, म त्यही पत्याइदिन्थें । हामी सँगै सुत्थ्यौं एउटै विस्तरामा । शरीर एउटै ओच्छ्यानमा थियो तर मन कोसौं टाढा । दुःखजिलो गरी बैंकबाट ऋण निकालेर बनाएको घर बेच्न दबाब दिन थाली । तर, म भने नबेच्ने पक्षमा उभिएँ ।
पर्दापछाडि अर्काे खेल मञ्चन भइसकेको चालै पाइनँ । पहाडमा घर बनाउँदै गर्दा फर्कन ढिला हुने भयो । पहाडबाट फर्किने चाला नदेखेपछि अदालतका श्रेस्तेदार भण्डारीको दबाबमा प्रहरी पठाएर ओखलढुंगा प्रहरीबाट ३ दिनभित्र रौतहट प्रहरी कार्यालयमा हाजिर हुनू भन्ने खबर पाइयो । २३ साउनमा रौतहट झरें । र, त्यसको केही घण्टा नबित्दै सीता घरबाटै हराइन् । आखिर स्याल कराउनु र कुखुरा हराउनु एकैपटक भएपछि मनमा चिसो पसेको छ । हामी दुईको नाममा संयुक्त रूपमा रौतहट जिल्ला चन्द्रनिगाहपुर वडा नम्बर १ कित्ता नम्बर ५२०४,र ५४०५ को जग्गामा घर बनाइएको थियो । त्यही घर खान कुलप्रसादले सीतालाई प्रयोग गरेको रहेछ । त्यो घरको मूल्य एक करोड हाराहारी पर्न आउँछ । एउटा अदालतको जिम्मेवार उपसचिवले अर्काकी श्रीमती लैजाँदा उसलाई जार मुद्दा लाग्ने कि नलाग्ने ? न्यायमूर्तिहरू बस्ने निवासमा परस्त्रीलाई राखी अनैतिक कार्य गर्न पाइने कि नपाइने ?
 कुलप्रसाद रौतहटबाट सरुवा भएर बागलुङतिर पुगेका छन्, सीता उनकै निर्देशनमा चल्ने गरेकी छ । अहिले यी दुवै मिलेर मैले दुःख गरी बनाएको घर कब्जा जमाए । म यतै डेरा लिएर जीवन निर्वाह गर्दै छु । कहिले ओखलढुंगा पुग्छु । चन्द्रनिगाहपुरको आफ्नै घरमा मलाई छिर्नसमेत दिइएको छैन । अदालतमा सीतालाई मविरुद्ध मुद्दा दायर गर्न उनै कुलप्रसादले उक्साए । खासमा कुलप्रसादको पहिलो श्रीमती बितेको रहेछ । दोस्रो श्रीमतीले छाडेर गएपछि सीतासँग नजिकिएको उनका छोरा–बुहारी सबै आफन्तलाई थाहा छ । खड्का, थापा, सुवेदी, दाहाल हुँदै पुनः खड्का नै बनेकी सीता कहिले भण्डारी बन्ने हो, प्रतीक्षाको घडी अब धेरै कुर्नु नपर्ला । एउटी महिलालाई कानुनले सवल र सक्षम बनाउन खोज्यो । तर, त्यही कानुनको कमजोरीलाई टेक्दै सीताले झँै महिलाले विवाहलाई पेसा बनाउन थाल्दा समाजको अवस्था के होला ? हेर्न बाँकी छ ।
अर्काकी श्रीमती भगाएर लैजाने कुलप्रसादहरूलाई कुनै कानुनले छुन्छ कि छुँदैन ? भरतकुमार दाहाल,
सिद्धिचरण नगरपालिका–१ ओखलढुंगा

टिप्पणीहरू