परिक्रमा प्रधानमन्त्रीको वरिपरि

परिक्रमा प्रधानमन्त्रीको वरिपरि

– लेखनाथ भण्डारी

अन्धेर नगरी चौपट राजा,
टकासेर भाजी टकासेर खाजा ।

जनबोलीको यो कहावतले संकेत गर्छ, सर्वत्र भद्रगोल छ । कतै कुनै कुराको ठेगान छैन । प्रधानमन्त्री वरिपरिकाले प्रधानमन्त्री वरिपरिकालाई नै छिर्के हानेको विषयमा गत साता यसै साप्ताहिक अर्थात् जनआस्थाको अनलाइन संस्करणमा २–३ वटा समाचार सार्वजनिक भए ।

ती समाचार हुन्, गृहमन्त्रीका लागि प्रस्तावित महेश बस्नेत र परराष्ट्रमन्त्रीका लागि प्रस्तावित राजन भट्टराईको नाम शपथग्रहणका लागि राष्ट्रपतिसमक्ष पठाइएको नामावलीबाट हटाइयो । त्यसरी हटाइएका नाम पनि प्रधानमन्त्रीवरिपरि रहनुहुनेहरू नै हुनुहुन्छ भने उहाँहरूको गुनासो अर्थात् आफ्नो नाम हटाउनेमा प्रधानमन्त्रीकै वरिपरि रहनुहुनेहरूको हात छ । प्रधानमन्त्रीवरिपरि रहेर प्रधानमन्त्रीवरिपरि रहेकैहरूलाई हातले ‘लात’ हान्नुहुनेहरूको भने अहिलेसम्म पहिचान खुलाइएको छैन ।

दुनियाँलाई घामजत्तिकै छर्लङ्ग छ, प्रधानमन्त्री वरिपरि राजन भट्टराई र महेश बस्नेतहरू नै हुनुहुन्छ । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार स्वयं परराष्ट्रमन्त्रीसरह नै हो भने आन्तरिक मामिलामा सुरक्षा निकायका अधिकारीहरूलाई समेत परिचालन गर्न सक्ने महेश बस्नेत पनि गृहमन्त्री सरह नै हो । तर, उहाँहरूमाथि नै घात गर्ने कसको हात होला त्यो पनि प्रधानमन्त्रीकै वरिपरि बसेर ?

नेपाल–भारत सम्बन्ध र समस्याको पहिचान तथा समाधानका लागि गठित विज्ञ समूहका विद्वान् सदस्य हुनुका नाताले पनि परराष्ट्रमन्त्रीमा राजन भट्टराईको रोजाइ र दाबीमा अन्यथा कसैले नमान्नुपर्ने थियो । सरकारको नीति, कार्यक्रमको पक्षमा रक्षात्मक पंक्तिमा वकालत गर्ने मात्र होइन, अलमलमा परेका विरोधीहरूलाई आवश्यकताअनुसार ‘बाहुबल’ कै सुरक्षा दिन अग्रसर महेश बस्नेतको रुचि गृहमन्त्रीमा हुनु स्वाभाविक नै मानिनुपर्ने हो ।

तर, वरिपरिकाले वरिपरिकैलाई ‘डाँडा कटाउने’ काम कसरी भयो त ? यसो त राजनीतिमा पनि अन्य नीतिको निर्देशन महत्वपूर्ण मानिन्छ । ती नीति हुन्, रणनीति, कूटनीति, अर्थनीति आदि । यदि, यी गुनासा अरू धेरै गुनासा मत्थर पार्ने रणनीति अर्थात् आफू यथास्थितिमा ‘तर’ मारिरहेकाका लागि हात्तीको देखाउने दाँतजस्तै मात्र हुन् भने एउटा कुरा अन्यथा स्वाभाविक मान्न सकिन्न ।

नेपालको समकालीन राजनीति र त्यसमा पनि बालुवाटारको ‘आराम कक्ष’ बाट राज्य सञ्चालनमा सक्रिय प्रम खड्गप्रसाद ओलीको वरिपरि को छन् हँ ? पञ्चायतकालको उत्तरार्धमा राजदरबारमा राजालाई पनि नचाउन र खेलाउन सक्ने कुनै अदृश्य शक्तिको नाम थियो– भूमिगत गिरोह । के अहिले पनि बालुवाटारको आराम कक्ष वपरिपरि त्यस्तै अदृश्य गिरोहको शक्तिले प्रम ओलीलाई ‘रामराज्य’ को सपना देखाइरहेको त छैन ? उहाँका वरिपरि रहेर ‘सुमेरु परिक्रमा’ गर्नेहरूको गुनासो जायज हो भने प्रधानमन्त्री ओलीले कि त स्वविवेक गुमाइसक्नुभएको छ कि त अदृश्य शक्तिमा परनिर्भर हुँदै आराम कक्षमा बेचैनीका दिन काटिरहनुभएको छ ।

प्रधानमन्त्रीका वरिपरि परिक्रमा गर्नेहरूले के यी खबर उहाँका हजुरमा जाहेर गर्दैनन् ? संसद् विघटनको सिफारिस अदालतले उल्टाइदिइसकेको छ एकपटक । नेकपा विघटन पश्चात्को एमाले पनि नवौं महाधिवेशनबाट अनुमोदनप्राप्त हुनुपर्ने अदालतको फैसला छ । बजेट घाटा कम गर्न ढुंगा, गिट्टी, माटो बेचेर समृद्ध नेपाल र सुखी नेपालीको सपनामा पनि अदालतले अंकुश लगाइसक्यो । योग्यता नपुगे पनि पूर्व मन्त्रीका नाममा वर्तमान महामहिम (राजदूत) बन्ने बाटोमा अदालतले तगारो हालिसकेको छ । संरक्षित क्षेत्र र निकुञ्जमा विद्यमान कानुनलाई अध्यादेश ल्याएर दिएका आदेशमा निर्माण कार्य नगर्न अदालतले पनि आदेश गरिसकेको छ ।

दुईतिहाई बराबरको शक्तिशाली सरकारले प्रधानमन्त्रीकै वरिपरीका रहेकाहरूलाईसमेत छिर्के हानेर १८ औं पटक पुनर्गठन गरेको मन्त्रि परिषदका २१ मन्त्री हटाउनुका साथै तिमीले पार्टी अध्यक्षका नाताले बनाएको दशौं महाधिवेशन आयोजक समिति मान्दिन पनि यही अदालतले भनिसकेको छ । संसद् छलेर नागरिकताको विषयमा हात नहाल्न पनि अदालतले सम्झाइसकेको छ । तर, ‘बा’ कै दर्जामा शिर झुकाएर प्रधानमन्त्री ओलीको ‘आराम कक्ष’ परिक्रमा गर्ने र पंखा हम्किनेहरूले किन उहाँलाई यतिका कुरा नसुनाएर गुमराहमा राखेर खोपीकोे देउता बनाइरहेका छन् हँ ?

दिल्ली दरबार र नेपालको राजदरबारको एउटा रणनीतिको बारेमा चर्चा हुने गर्छ, त्यो हो आफ्ना आसेपासेहरूबाटै आफ्नो विरोधको स्वर चर्को रूपमा गराउनु । यो सिको नेपालमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले पनि गरेका थिए । भारत भ्रमणमा जानुपहिले प्रधानमन्त्री कोइरालाले केही विपक्षी दलका नेतालाई भेटेर ‘खर्चपानी’ समेत दिई आफ्नाविरुद्ध काठमाडौंमा नारा जुलुस लगाउन अनुरोध गरेका थिए । त्यसो गर्दा भारतले आफूलाई व्यक्तिगत प्रभावमा पारेर नेपालको हितविपरीतका ठूला सन्धि–सम्झौता गर्न दबाब दिन नसक्ने उनको बुझाइ थियो ।

अहिलेको अवस्थामा बालुवाटारको नीति पनि सम्भवतः यही रणनीतिको प्रदर्शन हुन सक्छ । यसो गर्दा ‘बा’ का रूपमा शिर झुकाएर आफ्नो परिक्रमा गर्नेहरूले नै बाहिर चर्को स्वरमा जतिसुकै कराए पनि त्यो घेरा तोडेर साँच्चैका आफ्ना विरोधीले आवाज निकाल्नुको अर्थ के हुन सक्छ र ? यसले दिने सन्देश हो प्रम ओलीको वरिपरि परिक्रमा गर्नेहरूले नै त भाग पाएका छैनन् भने त्यो घेराबाहिर बस्नेहरूले झन् के आशा गर्ने ? तैँ चुप मै चुप । ‘बा’ को सरकार संकटमा जोगाइदिए यस्ता अवसर त घुमीघुमी आइरहन्छन् नि !

जाँदाजाँदै यो एउटा अप्रिय आशंका पनि गरौं, भोलि प्रधानमन्त्रीज्यूका वरिपरिकाले नै गर्दा मैले पाइसकेको अवसर पनि गुमाउनु पर्यो भनेर दुखेसो गरेको सुन्नुपर्ने दिन आउनेछ, कमरेड केशव बडाल र पूर्व पश्चिमतिरका भट्टराई बन्धुहरू विशाल वा खिमलाललगायतले पनि । विचार र विषय एउटै भए पनि भाइ बन्धुहरू नै हुन् रमेश बडाल वा गुरु भट्टराईहरू भनेर उहाँहरूले चित्त बुझाउन कसरी सक्नुहोला ! आखिर खाने मुख त सबैको आ–आफ्नै छ, विचार र विषय प्रकट एकै स्वरमा गरे पनि !

टिप्पणीहरू