यस्तो लाजमर्दाे पनि हुन्छ यहाँ

प्रेमराज सिलवाल


टर्की, जोर्डन र लेबनानको छिमेकमा रहेको मुस्लिम देश सिरियामा सन् २०११ देखि लगातारको सशस्त्र द्वन्द्वले आधुनिक विश्वका मानिसलाई ३ सय वर्षअघिको युरोपेली हिंसाको झल्को दिएको छ । अमेरिका, रुसले आफ्नो खेलमैदान र युद्धभूमि सिरियालाई बनाएका छन् । सन् २०११ को मार्चबाट सुरु भएको हिंसामा सन् २०१६ को अन्त्यसम्म आइपुग्दा २ लाख ५० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने ६ लाख ५० हजारभन्दा बढी परिवारले घर छाडेका छन् । दक्षिणी सहर ड्रामाबाट पूर्वप्रजातन्त्रवादी युवाले आन्दोलन सुरु गरेपछि त्यहाँ मुस्लिम आइएसआइको नाममा हिंसा भइरहेको छ । बेलायतमा पढेका ट्रेन्ड डाक्टर बसर अल असद सन् २००० मा राष्ट्रपति भएपछि लगातार सत्तामा छन् । सन् १९४६ मा स्वतन्त्रता पाएको सिरियामा सन् १९७१ देखि २००० सम्म बसरकै बाबु हाफेज अल असद राष्ट्रपति थिए । राष्ट्रपति बसर असद निरंकुश चरित्रका छन् र विद्रोहलाई साम्य पार्न राजनीतिक उपायभन्दा पनि बम र बन्दुकको सहारा लिएका छन् । सुन्नी मुसलमानको संख्या ७४ प्रतिशत रहेको सिरियामा सन् २०१२ मा चुनाव भएदेखि झन् हिंसा बढेको छ । सन् २०१३ मा मात्र ९० हजार मान्छे मारिएका थिए । संयुक्त राष्ट्रसंघका अनुसार कुल भू—भागमध्ये चार भागको तीन भाग जनता आन्तरिक शरणार्थी बनिसकेका छन् । १३ लाख ५० हजारभन्दा बढीलाई खाद्यान्न आवश्यक भएको छ अर्थात् ५० प्रतिशत सिरियालीका लागि खाद्यान्न, औषधि, खानेपानीलगायत सहायता आवश्यक छ भन्ने राष्ट्रसंघलगायत सहायता एजेन्सीको रिपोर्ट छ । बिबिसी वल्र्ड न्युज एजेन्सीका अनुसार ४ लाख ५० हजारभन्दा बढी मानिसले छिमेकी लेवनान, टर्कीमा शरण लिएका छन् । जोर्डन, इराकलगायत अन्य देशमा समेत लाखौंले शरण लिएका छन् । दैनिक हजारौं मानिस युद्धका कारण घरबार छाडेर भागिरहेका छन् । सन् २०१५ मा मात्र १ लाख २० हजार अन्यत्र गई बसेका छन् । राष्ट्रसंघले खाद्यान्न, औषधिलगायत सामग्रीको सहयोग जारी राखेको भए पनि सन् २०१६ को नोभेम्बरमा एलिपोमा खाद्यान्न र औषधि बोकेका सहायता सामग्रीका लरी (गाडी) मा बम प्रहार भएपछि थप सहायता उपलब्ध गराउन राष्ट्रसंघले विश्व समुदायसमक्ष गरिरहेको अपिलमाथि बाधा पुगेको देखिन्छ । विद्रोही आइएसआइएसलाई सिध्याउन अमेरिकी नेतृत्वमा रुसलगायत अन्तर्राष्ट्रिय समुदायले राष्ट्रपति बसर अल असदको नेतृत्वलाई हतियारलगायत युद्ध सामग्रीको सहयोग जारी राखेका छन् । शान्तिका लागि विद्रोहीलाई दमन गरेरै छाड्ने नीतिले बसर नेतृत्वको सरकारलाई दमन गर्न सहज भएको देखिन्छ । दमनबाट त्यहाँका मुस्लिम पछि हट्ने होइन, बरु जेहादका लागि भन्दै मृत्युको मार्ग रोज्नेमा देखिएका छन् ।
सन् १९४५ मा विश्व शान्ति कायम गर्ने, अन्य देशमा हमला नगर्ने, विकासमा सहायक बन्ने र अन्तर्राष्ट्रिय विवादको शान्तिपूर्ण समाधान गर्ने उद्देश्यले गठित संयुक्त राष्ट्रसंघको भूमिकामाथि पनि विभिन्न कोणबाट प्रश्न उठ्दै आएका छन् । राष्ट्रसंघमा सबैभन्दा बढी आर्थिक भार व्यहोर्ने अमेरिका हो । राष्ट्रिय कानुनमा जस्तो अन्तर्राष्ट्रिय कानुनमा तत्काल कानुनी कारबाही गर्न सक्ने अवस्था हुँदैन । तैपनि, प्रजातन्त्र, मानवअधिकार, मानवीय मुद्दामा हमलासमेत गर्न सकिने राष्ट्रसंघीय बडापत्रमा उल्लेख भएको धाराको दुरुपयोग गर्दै शक्तिशाली राष्ट्रले आफ्ना स्वार्थमा हमला गर्ने गरेका छन् । सिरियाको युद्धमा लाखौं मान्छे मरिसक्दा पनि शान्तिपूर्ण समाधानको कुनै सम्भावना देखिएको छैन । युद्धलाई एकप्रकारको राजनीतिक खेलमा प्रयोग गर्ने, हतियार परीक्षण गर्ने नीतिका कारण एलिप्पोलगायत सहर खण्डहरमा परिणत भएका छन् । उक्त सहरबाट मान्छे भाग्नसमेत पाएका छैनन् । बिबिसी टेलिभिजनमा देखाइएअनुसार सहर बगरजस्तै देखिन्छ । दर्जनौं तलाका पक्की भवन ध्वस्त छन् । आधुनिक भनिएको विश्व समाजका लागि सिरियाको उक्त युद्ध लाजमर्दाे विषय भएको छ भने अर्काेतर्फ मुस्लिम अतिवादले जेहाद भन्दै धर्मको नाममा मानव हत्यालाई निरन्तरता दिएको देखिन्छ । वर्षांैसम्म जारी उक्त युद्धले विश्वको अन्य भूभागमा रहेका मानिसलाई समेत आतंकित बनाएको छ । विद्रोहीले सामान्य जनतालाई मानवढाल बनाउने र सरकारी संयुक्त सेनाले सम्पूर्ण नागरिकलाई नै विद्रोही देख्ने गर्दा सामान्य बालबालिका, महिला, घाइते र असक्तले पनि दैनिक ज्यान गुमाइरहेको अवस्था छ ।

टिप्पणीहरू