‘बा’लाई यिनले सुध्रनै नदिने भए बरै

‘बा’लाई यिनले सुध्रनै नदिने भए बरै

-समाजवादी केटो

नेपाली कांग्रेसको १४ महाधिवेशनका सन्दर्भमा वर्तमान सभापति शेरबहादुर देउवाले केहिदिनयता बढाएको संवाद लोभलाग्दो छ । भावी प्रधानमन्त्रीको बलियो दाबेदारसमेत रहेका देउवाले हरेकदिन बिहानदेखि बेलुकासम्म गर्ने संवाद सबैको चासोको विषय हुने नै भयो । पार्टी सभापति, प्रधानमन्त्री पर्खेर बसेको मान्छे, त्यसैमा १४ औं महाधिवेशनपछि कांग्रेस र त्यसको नेतृत्वका विषयले पनि उहाँको ‘मुभ’ अर्थपूर्ण छ ।

मलाई चाहिँ नेपाली राजनीतिमा ‘बा’ प्रवृतिका विषयमा चरम वितृष्णा बढिरहेका बेला हुन हुन लागेको कांग्रेसको १४ औं महाधिवेशनको नेतृत्व र त्यसको उठान गज्जव लागिरहेको छ । र, देउवाले गरिरहेको छलफलमा ‘कांग्रेसमा हजुरजस्तो को छ र ? हजुरको विकल्प कहाँ सोच्न सकिन्छ अहिल्यै’ भनेर दिइँदै गरेका सुझाव बढी अर्थपूर्ण लागिरहेका छन् ।

हुन त ‘बा’ भनेपछि धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको बिम्ब सम्झिन्छन् । तर, नेपाली बहुदलवादी राजनीतिक संस्कारमा ‘बा’ प्रवृति आमरूपमा जबर्जस्त स्थापित एक आश्रित मानसिकताको उपज हो । यो प्रवृति प्रधानमन्त्री ओलीले प्रतिनिधित्व गरेको समूह वा पार्टीको मात्रै होइन नेपालका हरेक पार्टीको जीवन पद्धति नै बनिसकेको छ । दलहरुमा ‘बा’ संस्कृति हुर्कनुमा यहाँको सामाजिक, राजनीतिक संरचना त महत्वपूर्ण छ नै राजनीतिमा रहेका छोराछोरी र नातिनातिना पुस्ताको आश्रित तथा समकक्षीको अस्तित्व अस्वीकार गर्ने मानसिकता थप रोचक छ ।

देउवालाई त्यसरी सुझाव दिनेमध्ये धेरै नेताले आफै पनि काँग्रेसको नेतृत्व सम्हाल्ने ल्याकत राख्छन् होला । कतिपयमा कांग्रेसजस्तो विरासत बोकेको राजनीतिक दलमा जिम्मेवारीको भारी बोक्ने हिम्मत नहुन पनि सक्छ । तर, त्यो समूहका विमलेन्द्र निधि र इतरसमूहका एक से एक नेताले आफूहरू काँग्रेसलाई अझ राम्रोसँग हाँक्न सक्छौं भनिरहँदा पनि कांग्रेसभित्रका ‘बा’ हरूको विकल्प नदेख्नु के को उपज हो ?

नेपाली राजनीतिमा ‘बा’ नसुध्र्रिँदासम्म पार्टी सुध्रिँदैनन्, पार्टी नसुध्रेसम्म देशको राजनीतिक संस्कार र परम्परा सुध्रिँदैन । यो दुबै नसुध्रिएसम्म नेपालको वर्तमान हविगतमा कुनै बदलाव आउने देखिँदैन । जबसम्म नेपालले वर्तमान अहविगतबाट पार पाउँदैन तबसम्म हाम्रा सपनाहरू विभिन्न बहानामा निमोठिइरहन्छन् । हाम्रो व्यवस्थामाथिको संक्रमण थप जटिल बन्दै जानेवाला छ । यस्तो अवस्थामा देशले सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनतामाथिको आक्रमण यो वा त्यो बहानामा भोगि नै रहनेछ ।

यो यथार्थका बीच पनि पार्टीभित्रै सबैभन्दा नजिककाहरूले ‘बा’हरूको विकल्प किन देख्दैनन् ? पटक पटकको परीक्षणमा ‘आहा’ भन्ने कुनै काम नगरे पनि जीवनको उत्तरार्धसम्म तीनिहरूले ‘बा’ को विकल्प किन देख्दैनन् ? ‘बा’ हरूकै कारण केही दिन पद र शक्तिमा रहे पनि तिनैका कारण आफूहरूको उर्बर उमेर अनुत्पादक कर्ममा बर्बाद भइरहेको छ भन्ने जान्दाजान्दै किन यसो हुन्छ ? ‘बा’ हरूले पार्टी त तहसनहस बनाइरहकै छन्, देश पनि बर्बादीतर्फ उन्मुख हुँदै छ भन्ने थाहा हुँदाहुँदै किन यशोगान भइरहेको हुन्छ ?

कांग्रेसमा ‘बा’ को विकल्प नदेख्नेहरू

कांग्रेसको १४ औं महाधिवेशनका प्रारम्भिक काम भइरहेका छन् । क्रियाशील सदस्यता वितरण, छानबिनपश्चात् आगामी साउन १२ गतेदेखि देशभर चुनाव लाग्दै छ । गाउँ÷नगर वडा (श्रावण १२), गाउँ÷नगरपालिका अधिवेशन (श्रावण १६), प्रदेश सभा क्षेत्रीय (श्रावण २०), प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला (श्रावण २३), एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला (श्रावण २६) र प्रदेश (भाद्र १ र २) अधिवेशन हुँदै केन्द्रीय महाधिवेशन भाद्र १६, १७, १८ र १९ गते काठमाडौंमा हुँदै छ ।

सभापतिे पदसहित मसानघाटमा जाने नेपाली कांग्रेसको परम्परा हो । वंशवादको लिगेसीमा निरन्तर पार्टी सत्ता सम्हालेको पक्षबाट आफ्नो पोल्टोमा पारेका वर्तमान सभापति शेरबहादुर देउवापछि धेरैले पार्टी पद्धति, कार्यकर्ताको योगदानको लेखाजोखा र जिम्मेवारी हस्तान्तरणमा नयाँ मानक स्थापित हुनेछ भन्ने अपेक्षा गरेका थिए । योबीचमा एक÷डेढ वर्ष थप बोनसमा पाएका देउवाले त्यस्तो के गरे ? र उनकै हाराहारीमा रहेका अन्य ‘बा’ हरूले पनि के नै राम्रो गरेर ? तर, १४ औं महाधिवेशनको कार्यतालिका संशोधन भएलगत्तै सभापति देउवाले फेरि नेतृत्वमा दावी गरेका छन् । आफ्नो दावीको स्वीकार्यताका विषयमा समूहका नेताहरूको नाडी छाम्ने काम शुरु गरिसकेका छन् । त्यो समूहमा अहिलेसम्म देउवाको विकल्प छ भन्नेमा एक जना (निधि) मात्रै देखिएका छन् । तथापि, निधिले पनि देउवाको अस्वीकार्यता किन भन्ने हिम्मत गरेका छैनन् । बरु, आफ्नो स्वभाविक दावेदारी हो भन्दै देउवाको साथ खोजिरहेका छन् । त्योबाहेक सबैजसोले देउवाको विकल्प नभएको भन्दै थप हौस्याइरहेका छन् ।

४५ वर्षको उमेरमा गृहमन्त्रीबाट सत्ता राजनीतिमा प्रवेश गरेका देउवा ७५ वर्ष पुग्दासम्म निरन्तर शक्तिमै छन् । ४÷४ चोटी प्रधानमन्त्री भएका उनी अहिले पार्टी सभापति छन् । योबीच अविजित संसदीय निर्वाचनमा विजयी भए पनि पार्टी प्रमुखमा भने निरन्तरको प्रयासपछि १३ औं महाधिवेशनमा सफल भए (यद्यपि प्रजातान्त्रिकको सभापति थिए) । यो सफलता देउवाको व्यक्तिगत प्रभाव त होला नै, त्योभन्दा बढी कोइराला परिवारप्रतिको असन्तुष्टि, सुशील कोइरालाको अवसानपछि त्यो समूहमै आएको बिग्रह पनि जितका थप बलिया कारण हुन् । ३ पटक प्रधानमन्त्री हुँदाका बखत देउवाले नेपालको संसदीय व्यवस्थामा निम्त्याएका विकृति र प्रजातन्त्रलाई दरबारमा बुझाएको आरोपले निरन्तर लखेटिरहेको छ ।

सभापति भएपछि देउवामाथि पार्टीमा कोइरालाकालीन अवस्थाभन्दा पार्टी पद्धति थप खस्किएको, संविधान निर्माणपछि चुनाव गरे पनि आफ्नै पार्टीलाई शर्मनाक हार ब्यहोर्न बाध्य बनाएको, संसदमा प्रतिपक्षीको भूमिका निर्वाह नगरेको चरम आरोप छ । देउवाका आफ्नै कर्म र ‘बा’ पुस्ताप्रति बढिरहेको चरम असन्तुष्टिपछि धेरैलाई लागेको थियो, अब कांग्रेसमा देउवालगायत ‘बा’हरूको विकल्प खोज्न उनीहरूकै पालितपोषित समूहका नेताहरूबाट पहल हुनेछ । तर पहलको त कुरै छोडौं उल्टै तपाइँभन्दा अर्को को छ ? भनेर फुक्र्याउनेहरूबाट देउवा थप हौसिएका छन् । लामो समयसम्म त्यो समूहको रक्षाकवच भएका निधिले म विकल्प दिन्छु, सहयोग गर्नुस् भनेपछि सहानुभूतिको सट्टा एक्ल्याउनेसम्मको प्रयास भइरहेका छन् ।

रामचन्द्र पौडेलले प्रतिनिधित्व गर्ने समूहमा भने धेरै विकल्प तयार भएका छन् । कुरैमा भए पनि त्यो समूहका धेरै नेताले अब अरुलाई अगाडि सारेर तपाइँअभिभावकीय भूमिकामा बस्नुस् भन्ने हिम्मत देखाएका छन् । यो सुखद पक्ष हो । तर, ‘बा’ को उपस्थिति अझै जायजै छ भन्ने र समकक्षीको अस्थित्व स्वीकार्नुभन्दा त ‘बा’ नै ठीक भन्नेहरूको चेपुवामा कांग्रेस सुधारको कोर्स कोमामा जाने थुप्रै लक्षण देखिएका छन् ।

बहस विभिन्न कोणबाट जारी छ । विकल्प चाहिन्छ भनेर तत्कालीन संस्थापनबाट १३ औं महाधिवेशनमै अलग्गिएका सिटौला र उनको समूहले आफूलाई कसरी प्रस्तुत गर्छ भन्नेमा कांग्रेसको जीवन निर्भर हुनेछ । यदि यी बहसहरूमध्ये पार्टीमा फेरि ‘बा’ नै ठीक भन्नेहरूले जितेमा देशले केही समय अहिलेको भन्दा फरक अवस्था भोग्ने छैन । बरु योभन्दा दुर्दशा भएमा अचम्म नमाने हुन्छ ।

देशमा ‘बा’ को विकल्प नदेख्नेहरू

संविधान निर्माणपछिको पहिलो निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको नेकपा (एमाले) र पछि माओवादी केन्द्र मिलेर बनेको नेकपामा ओलीको उदय भयो । दुईतिहाई मतसहित प्रधानमन्त्री बनेका कथित पहिलो अध्यक्ष ओलीको महत्वकांक्षा र समयमै त्यसलाई चिर्नुको सट्टा मतियार बनेका दोस्रो अध्यक्ष प्रचण्ड–माधव नेपाल समूहका कारण अहिले नेकपाको अवसान भएको छ । नेकपा (एमाले) कोमामा छ । तत्कालीन नेकपा विवादपछि ओलीलाई पार्टीभित्र बा को भूमिकामा उभ्याएपछि पार्टी पार्टी रहेन । पुरानै पार्टी कायम रहने भनेपछि ओलीलाई नेकपामा भन्दा ठूलो बा मान्नेहरू प्राविधिक रूपमा बलियो अवस्थामा रहेर देश अन्योलताको भुमरीमा छ ।

देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग हल्लिएको छ । यो व्यवस्थाप्रति नागरिकमा चरम वितृष्णा उत्पन्न भएको छ । पार्टी र सत्ता दुबैमा बा को विकल्प देख्न त परै जाओस् सुन्न पनि नचाहे सन्तानको संख्या बढी भएकाले एमालेको जरा उखेलिने अवस्था छ । देश अब कुन बाटोमा जान्छ भनेर विभिन्न अड्कलबाजी भइरहेका छन् । जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा मारिएको छ । लोकतन्त्रमा सबैभन्दा कुरूप मानिएको अध्यादेशबाट देश चलाउने अभ्यास थप कसिलो बन्दै गएको छ । नेताहरू अक्षम भएपछि देशको राजनीति अदालतको आदेशका भरमा चलिरहेको छ । सुधारिएला भनेर ल्याइएको लोकतान्त्रिक गणतन्त्र सबैभन्दा सत्तास्वार्थको चरम व्यवहारले लज्जित भएको छ । तैपनि, बाको जयजयकार रोकिएको छैन । व्यवस्था रहोस् या नरहोस्, सत्ताका लागि जुनसुकै हदसम्मको गलत कर्म भए होस्, पार्टी रहुन् या मरुन् तर बा चाहिँ डगमग हुनुहुन्न भन्ने सन्तानहरूको हौसलाका कारण नेपालका दुर्दिन अझै बाँकी छन्जस्तो लाग्छ ।

समग्रमा बा

केही समययता बा मनोविज्ञानका सान्दर्भमा थुप्रै चर्चा, बहस, टिप्पणीहरू भइसकेका छन् । त्यतातिर जान परेन । यहाँ फेरि ‘बा’ को प्रसंग उत्काएर सबैको अपमान गर्न खोजिएको होइन । अहिलेको राजनीतिमा ‘बा’ भनिएकाहरूले खेल्नुभएको भूमिका र कुनै कालखण्डमा उहाँँहरूको लोकप्रियताको कुरा गरेर साध्य छैन । तर, कुनै कालखण्डका जस्तै वर्तमानमा पनि उहाँहरूको उपादेयता थप अपरिहार्य छ भन्नेमा स्पष्ट असहमति छ ।

नेपालमा ७० कटेका ज्येष्ठ नागरिकलाई थप ज्येष्ठ मानी सोहीअनुसार सामाजिक सुरक्षाको प्रबन्ध गरिएको छ । यो उमेर समूहका नागरिकले विगतमा दिएको योगदानलाई सम्मानीत ठान्दै सहज जीवनयापनका लागि विश्वभर नै सामाजिक सुरक्षाका प्रबन्ध गरिएका छन् । राजनीतिमा उमेरले छेक्दैन भन्ने तर्क गरिन्छ । तर, निश्चित उमेर समूह पार गरिसकेपछि परिवर्तित समयको माग, आवश्यकता, सोच्ने शक्ति र नवीन शैलीहरू निश्चय नै फरक हुन्छन् नै ! विश्वका धेरै देशमा ज्येष्ठ राजनीतिज्ञको अनुभव र ज्ञान, युवाहरूको नयाँ ऊर्जा र सोचका कारण परिवर्तन सम्भव भएका हुन् । यस्ता परिवर्तनमा कतिपय देशमा उमेर पुगेका नेताबाटै कायापलट भएका पनि उदाहरण छन् । यसर्थ राजनीति नीतिहरूको पनि समुच्च रूप हो । यसले स्थापित गरेका नजीर, प्रथा, परम्परा र चालचलनहरू कानुनले भन्दा पनि अकाट्य हुन्छन् । यसर्थ समयक्रमसँगै एउटा विधि बसाल्न उमेरले खारिएका नेताहरू स्वयंले नैतिक योगदान गर्नुपर्छ । तर, कतिपय अवस्थामा जबर्जस्त जमेर बसेको बा प्रवृत्तिलाई उखेल्नका लागि अरूले पनि हिम्मत देखाउनै पर्छ । आवश्यकताले भन्दा पनि स्वघोषित अपरिहार्यताको ढिपीका कारण कुनै पनि देशमा यो प्रवृतिले राम्रो गरेको छैन । हाम्रो देशमा पनि राम्रो गर्दैन, गरिरहेको छैन ।

यसर्थ, यहाँ देउवा र ओलीको नाम लिए पनि कुरो माधव नेपाल, प्रचण्ड, ठाकुरलगायत वर्षौंसम्म पार्टी नेतृत्व कब्जा गर्ने ‘बा’ हरूको पनि हो । अहिले यी ‘बा’ हरू स्वयंले मेरो विकल्प छैन भन्ठान्नु धेरै चिन्ताको विषय होइन । तर, शरीरको अवस्था, विचार र अस्थितत्वमाथिका प्रश्नले बारम्बार प्रहार गरिरहँदासमेत त्यसको सार्थक एवं उपयुक्त उत्तर नभेटिएको अवस्थामा पनि जबर्जस्त ‘तपार्इँ नै हो, तपाईँभन्दा अरु को छ ? तपाई नभए त बर्बादै हुन्छ, तपाईँ त नभई हुँदैन’ भन्ने कथित सन्तानहरू थप डरलाग्दा विषय हुन् । यिनीहरूले आफ्नो स्वार्थका लागि नेतृत्व, पार्टी र समग्रमा देशलाई गम्भीर धोका दिइरहेका छन् । त्यसले अब ‘बा’हरूबाट मात्र होइन, ‘बा’हरूविना आफ्नो अस्थितत्व नदेख्ने र अरुको अस्थितत्व पनि नस्विकार्नेहरूबाट देश खतरामा छ । यिनीहरूलाई समयमै चिनेर तिरस्कार गर्न जरुरी छ ।

टिप्पणीहरू