०१७ साल दोहोरिएला, होस गर है नेता ! « Jana Aastha News Online
Logo
१४ मंसिर २०७८, मंगलवार
|  Tue Nov 30 2021

०१७ साल दोहोरिएला, होस गर है नेता !

प्रकाशित मिति :  ११ कार्तिक २०७३, बिहीबार ०८:०९


नारायण नेपाल


सामन्तको नाइके छैन
कसले पा¥यो माकुरी जालैमा,

जीवन शर्माले गाएका गीतझैँ देश आज जालझेलमा अल्झिएको छ । नेपाली राजनीतिको उल्टो यात्रा पश्चगमन र प्रतिगमनको ओरालो बाटोमा छ । संसद्वादी दल आरोप–प्रत्यारोपको खेलमा छन् । सत्ता उक्लने र पछार्ने लुकामारी चलिरहेको छ ।
नेपाल–भारत सन्धि–सम्झौताको पुनरावलोकन गर्ने छलफलमा आएका भगतसिंह कोशियारीले राष्ट्रिय सभागृहको खुला कार्यक्रममै हामी नेपालमा भुटानजस्तो शान्ति र समृद्धि देख्न चाहन्छौँ भनेका थिए । भारतको दासतामा भुटानी राजतन्त्रले अस्तित्व देखाइरहेछ र बम्बईका वेश्याझैँ मालिकको इशारामा नितम्ब हल्लाइरहन्छ । के नेपालीले चाहेको राष्ट्रिय स्वाभिमान त्यही हो ? दरबार हत्याको ग्र्यान्डडिजाइन भन्दिन्छु भन्दै गिरिजाप्रसाद कोइराला मरे त्यो ग्र्यान्डडिजाइन आजसम्म खुल्न सकेन । प्रचण्डको बेबी किंगको योजना उनैले बेला–बेला भन्दै थिए । आज किन उत्साहित हुँदै छन् राजावादी ? के आर्यघाटमा पुगेको राजतन्त्र बौरिएको हो ? बेलायतमा जनआन्दोलनको उभारसँगै जनताले सडकमै राजालाई काटेका थिए तर त्यही देशमा वर्षाैंपछि खोजी–खोजी राजालाई पुनःस्थापित गरियो । कम्बोडियामा कम्युनिस्ट शासन पतनसँगै राजतन्त्रको पुनः उदय भएझैं नेपालका राजावादी त्यस्तै देखेर उत्साहित भएका हुन् । जहाँ पनि व्यवस्था विरुद्धको आन्दोलनले जितेपछि पूर्वशासक कि मारिएका छन्, कि जेल गएका छन्, कि त निर्वासित जीवन बिताइरहेका छन् । नेपालमा भने पूर्वराजाका हैसियतमा उच्च सम्मान छ । न जेल, न निर्वासन । हिजो सहजै गद्दी त्यागे । सम्झौतामा आज पुनः बौरिन खोज्दै छन् । आन्दोलनबाट धार्मिक अभियान, हिन्दूराष्ट्र अभियान र हिमाली ट्रस्टलगायत नाममा देशभर दौडाह चलिरहेको छ । राजतन्त्रलाई नेपालमा पुनःस्थापना गरे सिक्किममा के गर्ने भन्ने समस्या भारतीयलाई छ । आज नेपाली राजनीतिको शक्तिसन्तुलन फेरिएको छ । हिजो दरबार, दल र दिल्ली राजनीतिको केन्द्रमा थिए । आज दिल्ली, दल र सेना देखापरेका छन् ! विमलेन्द्रले दिल्ली भ्रमणका बेला खुल्लै रूपमा कांग्रेस दिल्ली र प्रचण्ड मिले सब ठीक हुने बताएका थिए । नेपालको संसद्वादी संकट समाधानका लागि वैदेशिक हस्तक्षेप या निरंकुशताको उदय हुने खतरा प्रवल देखिन्छ । वर्तमान संविधान संशोधन नगरी कार्यान्वयनतिरै जाने सम्भावना छैन । संशोधनका लागि दुई तिहाइ पुग्दैन । राप्रपा र राप्रपा नेपाल एकीकरणको अभियान तुहिनुको भित्री रहस्य यही हो । अब संविधान संशोधन नभए तुहिने खतरा छ । संशोधनका लागि एमाले फुटाउनुपर्ने हुन्छ, अन्यथा दुई तिहाइ पुग्दैन । आज यही संकटमा छ संसद्वादी मोर्चा । यो स्थितिमा इच्छाविपरीत संविधान घोषणा गरेकाले त्यो लागू गर्न नदिन भारतले उचालेर आन्दोलन गरेको भन्दै आफूलाई राष्ट्रवादी बनाउन एकथरी मान्छेले निकै बहस चलाएका छन् । तर, भारतको असली नियत भनेको संविधान जारी गर्ने र विरोधी पनि खडा गर्ने हो । विरोधको च्यात्ने–जलाउने नाटक मञ्चनपछि सहमति गरेर अनुमोदन गराउने नियत हो । संविधानविरोधी ठेगान लगाउने जुक्ति हो । जननिर्वाचित पहिलो संविधानसभा विघटन र निर्दलीय सरकार गठन प्रतिगमनको प्रस्थानबिन्दु थियो । भारतीय निकै मच्चिएर चुनावको प्रचार प्रसार र सहयोगमा लागेका थिए । त्यसपछि परिवर्तन र अग्रगमनको एजेन्डा क्रमशः बध गर्न थालियो । त्यो शृंखला जग्गा फिर्ता, जनसेना, जनसत्ता, जनअदालत विघटन हुँदै सालिक पुनःस्थापनासम्म पुगेको छ । नेपाली दलालको उछिन पाछिन प्रतिस्पर्धाबाहेक अन्य केही होइन । ०१५ सालको आमचुनाव बिपीले उपयोग गरे । दरबारको पार्टी गोरखा परिषद् दोस्रो र कांग्रेस पहिलो भए । जुन राजा महेन्द्रको अनुमानविपरीत थियो । दुई वर्षमै देशभित्रको अस्थिरतामा खेल्दै योगी नरहरिनाथहरूले आधार बनाए गोरखकाण्डदेखि, पश्चिम १ नं. लुटपिटकाण्डलाई त्यसैको आडमा ०१७ सालको संसदीय व्यवस्था अन्त्य भयो । निरंकुशताको उदय भयो । कतै आजको संसद्वादी असफलता र सेनाको राजनीतिक अस्वाभाविक चासोले ०१७ साल त दोहोरिँदै छैन ? खास–खास घटनाक्रमलाई आधार बनाएर नेपाली राजनीतिलाई मोड्ने काम भइरहेको छ । पश्चिम १ नं. को लुटपिटकाण्डले पञ्चायतको उदय भयो । सरकार माओवादीको ०५९ सालको दाङ हापुरे वार्ता । दोरम्बा काण्डले भाँडियो ।  अब पनि त्यस्तो नहोला भन्ने के ग्यारेन्टी ?  
शक्ति सन्तुलनको चक्रमा घुमिरहेको नेपाली संसद्वादी दल माओवादी, विदेशीमध्ये कोही न कोही चक्रब्युहमा फस्ने निश्चित देखिन्छ । हिजो दल, दरबार र दिल्ली थिए । प्रचण्डले माओवादीलाई विपक्षमा खडा गरे । आज कांग्रेस, प्रचण्ड र भारतीय एकातिर छन् । विप्लव र उनको पार्टी विकल्पमा खडा भएका छन् । तर, आज भारतीय मात्रै होइन, चीन पनि उत्तिकै चनाखो देखिन्छ । पछिल्लो समय भारत–अमेरिका सैन्य सन्धि भारतले आणविक ऊर्जा निर्यातसम्बन्धी संयुक्त राष्ट्रसंघमा राखेको प्रस्ताव र त्यसको विपक्षमा चीनले मत जाहेर गर्नु दक्षिण चीन सागरमा, अमेरिकी मोर्चामा भारत पुग्नु र बलुचिस्तानमा चीन, पाकिस्तान र अमेरिका भारत धु्रवीकृत हुनुले नेपालको आन्तरिक शक्तिसन्तुलनको चक्रब्युहमा कोही न कोही फस्ने देखिन्छ । राजावादी प्रभावहीन छन्, संसद्वादी दल बद्नाम छन् । सेनासँग पपुलर दल, पात्र छैन । दलसँग बिदेसिएका दलाल मात्रै छन्, सेना छैन । हिजो देशमा द्वन्द्वरत दुई वटा बन्दुक थियो, राजाको बन्दुक र जनताको बन्दुक । सम्झौता त्यही दुई वटा बन्दुकबीच हुन जरुरी थियो । बन्दुक भएकालाई बन्दुक नभएका दलालले कब्जा गरे र नंग्याए । राजनीतिक वृत्तमा संसद्वादी संकट टार्न नयाँ खिलराजको खोजी भइरहेको चर्चा छ । अमेरिकी उक्साहटमा टर्कीका सेनाझैं भारतीय उक्साहटमा नेपाली सेना गए ०१७ साल दोहोरिन सक्ने खतरा छ । आजको बदलिएको शक्तिसन्तुलन भनेको चीन, भारत, दल र सेना हो । यसमा पनि दलको आपसी पोल खोलाखोल, आरोप–प्रत्यारोप, संवैधानिक संकट शून्यताको बहस, जंगी अड्डाभित्र पूर्वजर्नेलको प्रतिरोध गर्ने योजनाको निर्णय, बेमौसमी वक्तव्य आदिले थप खतराको संकेत गरेको छ । जसलाई भेट्दा पनि आफूहरू उसैको साथमा छांै भनी अनुभूति दिलाउने भारतीय विदेशनीतिको सिकार छन् नेपाली कूटनीति र कूटनीतिज्ञहरू । आफ्नै खुट्टामा उभिने आँट गरे मात्रै सफल हुन सकिन्छ । अन्यथा इतिहासको दुःखद पुनरावृत्त हुने खतरा छ ।


प्रतिक्रिया दिनुहोस !