जागिर खाने कर्मचारी,हाजिर हेर्ने अरु

जागिर खाने कर्मचारी,हाजिर हेर्ने अरु

रुकुम पूर्वको भूमे गाउँपालिकाले कर्मचारीहरूको हाजिरीलाई सेवाग्राहीले निगरानी गर्न सक्ने व्यवस्था मिलाएको छ । सेवा प्रवाहको निम्ति कर्मचारीको उपस्थितिलाई पारदर्शी बनाउन उक्त गाउँपालिकाले सार्वजनिक हाजिरीको व्यवस्था गरेको हो ।

कर्मचारीहरूको उपस्थितिलाई नियमित गराउने एवम् उनीहरूको आउजाउबारे सेवाग्राहीले समेत प्रष्टैसँग जानकारी लिन सक्ने गरी पब्लिक हाजिरीको व्यवस्था मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिंह श्रेष्ठले बताउनुभएको छ । ‘को को कर्मचारी कार्यालयमा हुनुहुन्छ भनेर सोधिरहन पर्दैन’ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भन्नुभयो ‘कार्यालय परिसरमा राखिएको हाजिरी विवरणले सबैलाई कर्मचारीको समयमै उपस्थिति हेर्न र सेवाग्राहीलाई सेवा लिन सहज बनाएको छ ।’

गत मंसिरबाट नै शुरु गरिएको उक्त व्यवस्थाले सेवाग्राहीलाई कर्मचारी छ कि छैन भन्ने जानकारी हुने र कर्मचारीलाई पनि कार्यालयको नियमितता र कार्यकक्षमा बसिरहन नैतिक दबाब पुग्ने गरेको छ । ‘यस खालको व्यवस्थाले सेवाग्राहीलाई पालिकामा कति कर्मचारी छन् भन्ने समेत थाहा हुन्छ । साथै कुनै कर्मचारी अनुपस्थित भएमा फलानो कर्मचारीलाई देखिनँ नि भनेर भन्न पाइनेछ,’ श्रेष्ठले भन्नुभयो । यसबाट गाउँपालिकालाई सेवाग्राहीमैत्री बन्न थप हौसला र दबाब मिलेको उहाँको भनाई छ ।

कर्मचारीहरूको उपस्थितिलाई सेवाग्राहीले पनि निगरानी गर्न पाउन् भन्दै सार्वजनिक रुपमा हाजिरी देखाउने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष रामसुर बुढाले बताउनुभएको छ । उहाँका अनुसार फाँट फाँटमा गएर आए नआएको हेर्नुभन्दा सबैले देखिने गरी राख्दा सहज हुने भएकाले सार्वजनिक हाजिरीको व्यवस्था गरिएको हो ।

टिप्पणीहरू