उद्घाटन यौटाको,भाषण अर्कैको

उद्घाटन यौटाको,भाषण अर्कैको

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिथोलिएको राजनीतिको निकास ताजा जनादेशबाट मात्र सम्भव भएको बताउनुभएको छ ।

आज रुपन्देहीको बुटवलमा कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय उद्घाटन गर्दै पौडेलले लोकतन्त्रको प्राण निर्वाचन भएकाले त्यसतर्फ सबैलाई जुट्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत पाउन नसकेको र संसदबाट अर्को वैकल्पिक सरकार बन्न नसक्ने अवस्था आएपछि प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको जिकिर गर्नुभयो । तर, प्रधानमन्त्रीले संविधानको धारा ७६ (३) बमोजिम गठित सरकारले संसदबाट ३० दिनभित्र लिनुपर्ने विश्वासको मत नलिई एकाएक राजीनामा दिएर धारा ७६ (५) को सरकारको दाबी गर्नुभएको हो ।

उहाँले अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा जस्तोसुकै आदेश आए पनि ताजा जनादेशले मात्र राजनीतिक निकास दिने बताउनुभएको छ ।

आज उद्घाटित कार्यालयले स्याङ्गजा भएर बग्ने कालिगण्डकी नदीको पानी नहर र सुरुङबाट तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुको ठूलो क्षेत्रफलमा सिँचाई पुर्याउने आयोजनाको फिल्डको रुपमा काम गर्ने छ । कालिगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सिँचाई सहित १ सय २६ मेगावाट विद्युत समेत उत्पादन गर्ने लक्ष्य राखेको छ ।

उक्त आयोजना सम्पन्न गर्न अहिलेको मूल्यअनुसार १ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

टिप्पणीहरू