लोकतन्त्रमा लोकमान

चारैतिर लोकमानकै चर्चा छ । यता हेरे लोकमान, उता हेरे पनि लोकमान । जता हे¥यो लोकमानै लोकमान । लोकमान अहिले यति चल्तीमा छन् कि उनको अगाडि लोकतन्त्र पनि फिक्का । सांसदले बडो कुशलतापूर्वक लोकमान हटाउने तयारी गरेका थिए । तर, सकेनन् । अझै पनि लोकमान हटिहाल्ला भन्न सकिने अवस्था छैन ।
मुलुकबाट बरु राजतन्त्र हटाउन यति गाह्रो थिएन जति कि लोकमानलाई हटाउन भइरहेको छ । लोकतन्त्र हटाउन बरु सजिलो रहेछ । नेपालबाट धेरैचोटि लोकतन्त्र हटाउने काम भइसक्यो । अहिले पनि मुलुकमा लोकतन्त्र छ भन्न सकिने अवस्था छैन । छ भने पनि कता छ थाहा छैन । तर, लोकमान सर्वत्र छन् । कहाँ छैनन् लोकमान ? सब ठाउँमा छन् । यसो हेर्दा  लाग्छ, देशमा लोकतन्त्रभन्दा त लोकमान नै बढ्ता छन् । अझ बलिया पनि छन् । देशमा लोकतन्त्रको जग बलियो नहुँदै लोकमानको जग बलियो भइसकेको छ ।
अस्ति डा. गोविन्द केसीले एक ठाउँ भन्नुभएको थियो, अझै धेरै लोकमानसँग लडाइँ गर्नु छ । उहाँको भनाइबाट पनि थाहा हुन्छ, देशमा अझै धेरै लोकमान बाँकी छन् । लोकतन्त्र खोज्दा पनि कतै भेटिँदैन । लोकमानचाहिँ पाइलैपिच्छे भेटिइरहन्छन् ।
सायद जताततै भएको कारण होला, लोकमान हटाउन अहिले ज्यादै कष्टकर भइरहेको छ । यति मिहिनेत गरेको भए त देशबाट लोकतन्त्रै हटिसक्थ्यो होला । तर, लोकमान हटेका छैनन् । स्मरण रहोस्, देशमा लोकतन्त्र जसले ल्याइदिएका थिए, लोकमानलाई पनि उनीहरूले नै बहाली गरेका हुन् । उनीहरूले बहाली गरेको लोकतन्त्र अझै बलियो भइसकेको छैन । तर, लोकमान भने पूरै तगडा भइसकेका रहेछन् । अब हेर्नोस् त, लोकमानलाई हल्लाउन खोज्दा पूरा लोकतन्त्रै हल्लिरहेको छ ।

टिप्पणीहरू