नआओस् लोकतन्त्रको अर्को भेल

लोकमान प्रकरणले मुलुकको सबैभन्दा पुरानो र ठूलो लोकतन्त्रवादी दल नेपाली कांग्रेसलाई नराम्ररी पिरोलेको छ । ‘नखाऊँ त दिनभरको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’ भन्ने उखान कांग्रेसको हकमा चरितार्थ भएको देखिन्छ । ०४६ सालपछि कांग्रेस बनेका युवाले नेपाली कांग्रेस वास्तवमै लोकतन्त्रवादी पार्टी भएको बुझाइका कारण आफ्नो युवा जोश त्यसको विकासका लागि खर्चेका हुनाले घटना र सन्दर्भ अनि जनमत र आवश्यकताको मूल्यांकन गर्दै लोकमानविरुद्ध उभिएका छन् भने कांग्रेसभित्रको ठूलो हुकुमी कित्ता लोकमानको बचाउमा अन्तिम अस्त्र प्रयोग गर्नेसम्मको तयारीमा देखिन्छ । उता, दुई प्रवृत्ति र चिन्तनको थोरै थोरै हिस्साबाट बनेका कांग्रेस सभापति शेरबहादुर देउवा भने किंकर्तव्यविमूढ अवस्थामा छन् । के निर्णय गर्नुपर्छ त्यो उनलाई थाहा छ तर भन्न सक्दैनन् किनकि उनीभित्रैका कतिपय प्रवृत्ति, सोच, चिन्तन र व्यवहारले लोकमानलाई आफन्त नै देख्छ ।
उता, एमालेचाहिँ केपी ओलीले भनेझैं आनन्दले देउसी–भैलोमा रम्ने मुडमा छ । उसले त्यस्तो पासा हानेको छ जसले उसलाई फाइदा मात्रै दिन्छ, घाटाको कुनै गुञ्जायस छैन । कतिसम्म ढुक्क छ । एमाले भने ओलीले घोषणा नै गरिसके ‘महाअभियोगको ब्याक गियर हुँदैन’ हुन पनि एमालेलाई कुनै खतरा यसबाट छँदै छैन । जे–जति डामिनुपर्ने हो, डामिइसके अब कसैको मुखमा कालो पोत्न लोकमानले बाँकी राखेका छैनन् । बरु, माओवादी नेतृत्व, विशेषगरी प्रचण्डको ढुलमुलेपनलाई भने यो प्रकरणले पनि उदांगो पार्ने क्रम जारी छ । लोकमानविरुद्धको महाअभियोग पारित भइसक्दासम्म प्रचण्ड कति अड्ने हुन् हेर्न बाँकी नै छ । प्रार्थना गरौं, मुलुकको राज्यसत्ताको बागडोर सम्हालेका नेता र पार्टी योभन्दा बढी नांगिने छैनन् ।
मधेसवादी भनिने दलले आफ्नो पक्षधरता देखाउने नै भए । त्यसमा कुनै अचम्म मान्नुपरेन । त्यसै पनि यहाँ के भनौं भनेर अर्कैतिर सोध्ने प्रवृत्ति र बाध्यता छँदै छ । फेरि पनि सम्पूर्ण नेपाली के विश्वासमा छन् भने लोकमानविरुद्ध अविश्वासको प्रस्ताव पास हुनेछ र उनी हटाइनेछन् । तर, कतिपय कांग्रेसनिकट बुद्धिजीवी भन्ने गर्छन्– नेपालका सांसदको कुनै भर छैन । कुनै गोप्य सम्झौता र केही सीमित नेताबीचको समझदारीले नसोचेको ह्विप जारी हुन सक्छ । विचरा निरीह सांसदले ह्विपको अवज्ञा गर्न सक्ने कुरै भएन । तर, यदि ठूला भनिएका दलले यस्तो अलोकप्रिय निर्णय गरे भने केचाहिँ निश्चित हो भने एउटा डरलाग्दो जनलहर सडकमा स्वतःस्फूर्त उर्लनेछ । त्यसको भेलले लोकमान कहाँ छन् भनेर खोज्ने छैन उनका हरेक मतियार, समर्थक र शुभचिन्तकलाई समेत बढारेर लानेछ ।

टिप्पणीहरू