ढुकुटीको नाममा सयौं चेली सुकुटी

ढुकुटीको नाममा महिला भेला गर्दै सोझालाई छानेर घर न घाटको बनाइदिने धन्दामा चौथो ठूलो पार्टी राप्रपा नेपालका महामन्त्री राजाराम श्रेष्ठ लागेका छन् । प्रतिमा थापा श्रेष्ठमार्फत सोझा महिलालाई घरबारविहीन बनाउने गरेका हुन् । एभरेस्ट क्यासिनोकी जागिरे प्रतिमाले मध्यबानेश्वरमा बसेर त्यस क्षेत्रका महिलालाई ढुकुटी खेलाउने गर्थिन् । २० जनालाई समेटेर १० लाखको ढुकुटी चलाइन् । यसमा शंखमूल बस्ने टीकाकुमारी थापा पनि थिइन् । प्रतिमाले बढीमा ७ लाख बुझाएर १० लाख पाइने हिसाब देखाएपछि हौसिएकी टीका रेस्टुरेन्टमा हुने ढुकुटीको बैठकमा नियमित जान्थिन् । अझ प्रतिमा घरमै आउन र दिदी भनेर कुरा गर्न थालेपछि टीकाले धेरै विश्वास गरिन् । दिदी तपाईंले अहिले पैसा दिनुपर्दैन, मैले भनेपछि दिनुहोला भनी ढुकुटी खेलाएकी प्रतिमाले ४ महिनापछि ७ लाख दिनुस् भनिन् । टीकाले अहिले त्यति धेरै पैसा छैन, एक महिनाभित्र दिन्छु भन्दा प्रतिमाले त्यसरी त हुँदैन दिदी ढुकुटी नै बिग्रन्छ भनी मानिनन् । प्रतिमाले फेरि भनिन्, ‘दिदी तपाईंसँग पैसा छैन भने म १५ लाख दिन्छु, घर मेरो नाममा पास गरिदिनुस् । पास गर्दा नै तीन वर्षभित्र २२ लाख बुझाएपछि घर फिर्ता गर्ने दोहोरो कागज गरौं भनिन् । ढुकुटी खेल्ने अरूले पनि भइहाल्छ नि केही फरक पर्दैन भने ।
सोझी टीकाले शंखमूल चोकमा ३ आनामा बनेको घर ७ लाख ढुकुटीको दिनुपर्ने र १५ लाख अरु व्यवहार टार्नका लागि लिने सर्तमा प्रतिमाको नाममा पास गरिदिइन् । जग्गा पास हुनासाथ बेलुका नै १५ लाख दिने भनेकी प्रतिमाले भोलि बिहान दिन्छु भनिन् । भोलिपल्ट एक÷दुई दिन पर्खन आग्रह गरिन् । घर नै प्रतिमाका नाममा गरिदिएकी टीकाको दैनिकी १५ लाख लिन पछि लाग्ने गर्दै बित्यो । केही दिन टीकासँग सम्पर्क नगरी हराएकी प्रतिमाले घर गुच्चाटोलस्थित पिस ऋण तथा बचत सहकारीमा धरौटी राखी ३५ लाख लिइन् । यसपछि फेरि रेस्टुरेन्टमै केही नयाँ अनुहारका महिला र पुरुषसहित टीका र प्रतिमाको भेट भयो । त्यतिबेला टीकाले १५ लाख माग्दा भनिन्, ‘दिदी, म ५० लाखको ढुकुटी खेलाउँदै छु, तपाईंको १५ लाख त्यहीँ लगानी गरौं, ७÷८ महिनापछि तपाईंले खानुहोला । ४५ लाख त आइहाल्छ, अनि घर निखन्नुहोला ।’ ५० लाखको ढुकुटी खेल्न त्यहाँ उपस्थित ८÷९ जना महिला र पुरुषले पनि भइहाल्छ नि त्यसै गरौं भने । टीका ५० लाखको ढुकुटी खेल्ने भन्दै फर्किइन् । ७÷८ महिनापछि टीकाले भनिन्, ‘बहिनी, अब ढुकुटी म खान्छु र तपाईंको पैसा तिरेर घर फिर्ता गर्छु, छोराछोरीले मलाई टिक्न नदिने अवस्था आउन लागिसक्यो ।’ त्यतिबेला प्रतिमाले दिदी, ढुकुटी नै बिग्रियो अरू कुनै उपाय लगाउँछु भनिन् । त्यसलगत्तै फेरि प्रतिमाले ‘मलाई त श्रीमान्ले कुटपिट गर्न थाले, घरमा बस्नै नसक्ने अवस्था भयो, तुरुन्तै घर खाली गराउँछु भन्छन्, कसरी मिलाउने होला’ भन्दै टीकालाई फकाइन् । अनि उनले नै भनिन्, ‘तपाईं कुनै बैंकको चेक काटेर दिनुस्, म त्यही श्रीमान्लाई देखाएर फकाउँछु ।
टीकाले मेरो त्यस्तो बंैक खाता नै छैन भन्दा प्रतिमाले बानेश्वरस्थित उनको पनि खाता भएको राष्ट्रिय वाणिज्य बंैकमा स्कुटरमा बसाएर आफैं सिफारिसकर्ता बनी एक हजार रुपैयाँ राखेर टीकाको नाममा खाता खोलिदिइन् । यसको भोलिपल्टै मेरो श्रीमान्लाई फकाउन र अरू काम गर्दै गर्न भनी टीकासँग भएको चेकमा २ वटा उनकै नाममा र एउटा मेरो श्रीमान्का नाममा भन्दै जम्मा ७० लाखको हस्ताक्षर गर्न लगाइन् । श्रीमान् भन्दै राप्रपाका महामन्त्री राजाराम श्रेष्ठको नाममा २० लाखको चेक कटाइन् । खासमा राजाराम प्रतिमाका पति होइनन्् । पछि यही चेक देखाएर टीकाको नाममा चेक अनादरको मुद्दा हालिन् । ढुकुटी खेलेर घर बसीबसी लाखौं कमाउने सपनामा बरालिएकी टीकाले एक पैसा पनि हात नपरी घर गुमाइन् नै, उल्टै चेक अनादर गरेको अदालतको आदेशविरुद्ध पुनरावेदन पनि जान पाइनन् । टीकाका कानुन व्यवसायी तुलसीशंकर अधिकारीले प्रतिमासँग मिलेर पुनरावेदन जाने म्याद गुजारिदिए । भदौमा सिडिओ गुहारेर तिजको दरखाने अघिल्लो दिन प्रहरीसहित गई घर खाली गराइन् । बोलाउने नाम धेरै भए पनि बानेश्वर क्षेत्रमा आरजु भनी चिनिने प्रतिमाले मीना श्रेष्ठलाई पनि यस्तै चेक अनादरमा मुद्दा हाल्दा मीनाले त्यहीं कुटपिट गरेकी थिइन् । यशोदा नाम गरेकी महिलालाई पनि चेक अनादरकै मुद्दा लगाएर विराटनगरको ८ का जमिन हडपिन् । सडकको बास भएपछि छोराछोरी पढाउनकै लागि यशोदा अहिले दुबईमा काम गर्दै छिन् । प्रतिमाले यी सबै कार्य राजारामको आड, भरोसा र सहयोगमा गर्दै आएकी हुन् । यस सम्बन्धमा राजारामसँग बुझ्दा उनले शुरुमा टीकाले पैसा लगेर नदिएको भने तर पछि जग्गा किन्न प्रतिमामार्फत लगानी गरेको बताए । श्रीमान्सँग सम्बन्धविच्छेदको नाटक गरी सँगै बस्दै आएकी प्रतिमा र राजारामको सम्बन्ध र ठगी धन्दाबारे कमल थापासम्म कुरा पुगेपछि प्रतिमालाई पार्टीबाट कारबाही गरिएको छ ।  

टिप्पणीहरू