मेलम्ची झन मारमा,बगाएका बिदेशी अझै बेपत्ता « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

मेलम्ची झन मारमा,बगाएका बिदेशी अझै बेपत्ता

प्रकाशित मिति :  १४ असार २०७८, सोमबार ०८:३०


अघिल्लो मंगलबार राती मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय बाढीले चैत अन्तिम सातादेखि राजधानी काठमाडौंमा वितरण गरिएको मेलम्ची खानेपानी परियोजनाको मुहानलाई पनि ध्वस्त बनाएको छ । मुहान मेलम्ची बजारमाथिको अम्बाथान भन्ने ठाउँमा छ । बाढी गएको दुई साता बितिसक्दा समेत त्यहाँ कोही पुग्न सकेका छैनन् ।

अम्बाथान पुग्ने सडक मार्ग नै क्षतविच्छेद भएकाले कोही पनि त्यहाँ जान नसकेका हुन् । ड्रोनबाट खिचिएको अम्बाथानको फोटोबाट समेत मेलम्ची खानेपानी परियोजनाको मुहान (हेडवर्क्स) को क्षतिको आँकलन हालसम्म गर्न सकिएको छैन ।

सिन्धुुपाल्चोकको क्षतिको प्रारम्भिक आँकलनका आधारमा काठमाडौंमा पानीको अभाव र हाहाकार पुनः लम्बिने निश्चित भएको छ । स्थानीयले बताएअनुसार सुरङको मुहानलाई ३० फिट जति अग्लो माटो र ग्रेगरको थुप्रोले पुरेको छ । तर भाग्यवशः त्यहि दिन बिहान ११ बजेदेखि बन्द गरिएकाले सुरुङमा भने क्षति नपुगेको प्रारम्भिक अनुमान छ । प्राविधिक रुपमा अहिलेसम्म त्यसको पनि जाँच गरिएको छैन । सुरुङ बाहिरको मुहानको सबै संरचना भने लेदो माटोले पुुरिएको छ ।

त्यहि दिन दिउँसोदेखि सुरुङ बन्द गर्ने कार्यक्रम र योजना धेरै अघि बनाइएको थियो । लगत्तै बाढी आएकाले सुरुङ जोगिएको छ । सम्भवतः बाढी पसेको भए सोचेकोभन्दा बढी क्षति हुने केयुकेएलका एक जना अधिकारीले बताएका छन् । त्यहाँका अधिकारीहरू क्षतिको आँकलन गर्न तीन पटक मेलम्ची बजारसम्म पुगे पनि त्यहाँबाट माथि जान नसकेपछि फर्केका थिए ।

उनीहरूले सरकारको परियोजना भएकाले नेपाली सेनाको सहयोग लिएर मेलम्चीको मुहानमा पुग्नुपर्ने योजना बनाएका छन् । तत्काल उपाय लगाएर नहर र मुहानको सफाई तथा मर्मत नगरे काठमाडौंमा खानेपानीको समस्या पुनः विकराल हुने अनुमान गर्न थालिएको छ ।

त्यो दिनको बाढीले चिनियाँ, भारतीय र नेपाली गरेर ८ जना प्राविधिक तथा कर्मचारीलाई बगाएको थियो । २ जना चिनियाँको लाश फेला परे पनि अरु ६ जनाको हालसम्म कुनै अत्तोपत्तो छैन ।

रातको समयमा मुहानमा काम गरिरहेका ती प्राविधिकलाई बाढीले बगाएको बताइन्छ । बाढी आएको थाहा पाएपछि अत्तालिएर रातको समयमा उकालो डाँडातिर लागेका जति जोगिएको देखिन्छ । तर, सडकबाट दौडने अरुलाई भने बगाएको थियो । कार्यरत नेपालीहरू अधिकांश भीरतिर लागेका तर चिनियाँ र भारतीय प्राविधिक तथा कामदारहरू भने मेलम्ची खोलाको किनारमा रहेको सडक हुँदै भाग्दा बाढीले बगाएको थियो । चिनियाँहरू सबै सिनो हाइड्रोका कामदार रहेको बताइन्छ ।


प्रतिक्रिया दिनुहोस !