धादिङका पत्रकारको भेलामा गुनासै गुनासो

धादिङका पत्रकारको भेलामा गुनासै गुनासो

स्थानीय सन्चार माध्यम बिज्ञापनमुखी बन्दै गएको धादिङका पत्रकारहरुले गुनासो गरेका छन् । प्रेस काउन्सिल नेपालले शनिवार धादिङबेसीमा आयोजना गरेको कोभिडको कारण सन्चार माध्यममा परेको समस्या र श्रमजीवी पत्रकारको अवस्था विषयक अन्तरक्रियामा पत्रकारहरुले गुनासो राखेका हुन् ।

‘जिल्लामा रहेका धेरैजसो रेडियो, अनलाइनहरु स्थानीय निकायकै बिज्ञापनको भरमा बाँच्नुपर्ने र उनीहरुले स्थानीय निकायको गलत कामको बिरुध्द लेख्न नसक्ने अवस्था सिर्जना भएको छ’, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिहरसिंह राठौरले भने,’यसले समाज परिवर्तनमा प्रत्यक्ष असर पार्दैन ।’ उनले सकारात्मक समाज परिवर्तनको लागि कलम चलाउन पत्रकारहरुलाई सुझाव दिए ।

पूर्ण प्रमाण बिना लेखिएका र सामाजिक सन्जालमा आएका सूचनाको आधारमा समाचार बनाउने प्रवृत्ति बढेकोले पत्रकारिताको आचारसंहिता ख्याल गरेर समाचार प्रकाशित/प्रशारित गर्न अग्रज पत्रकार केशव अधिकारीले सुझाए ।

कोभिडको संकटमा संचारगृहले तलब नदिँदा राष्ट्रिय तथा स्थानीय सन्चारगृहमा काम गर्ने पत्रकार समस्यामा परेका छन् । कोभिड शुरु भएदेखि आफूहरुको पेशा नै संकटमा परेको पनि पत्रकारहरुले गुनासो गरेका छन् ।

अघिल्लो कोभिडको समयदेखि तलब नपाएर निष्क्रिय बसेका पत्रकार मनिश दुवाडी भन्छन् ‘मिडिया हाउसले कोभिडको बहाना गरेर नियतबस तलब दिएन,काम नगर भन्दैन,गर पनि भन्दैन,बिदा बस भन्दैन,नबस पनि भन्दैन ! यति सम्मको व्यवहार गर्छन् कि ८-८ बर्ष काम गरेको सन्चारगृहको अफिसमै पुग्दा पनि चिन्दै नचिनेको व्यवहार गर्छन् !’

सन्चारगृह संचालकहरुले पनि कोभिडका कारण प्रेस बन्द हुँदा पत्रिका प्रकाशनमा समस्या आएको बताएका छन् । कोभिडका कारण सिङ्गो संचारगृह संकटमा गरेको नेपाल पत्रकार महासंघ धादिङका पूर्व अध्यक्ष नवराज छत्कुलीले बताए ।

पत्रकार र सन्चारगृह संचालकको गुनासो सुनिसकेपछि प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले श्रमजीवी पत्रकारको सुझाव सल्लाहअनुसार काउन्सिल अघि बढ्ने बताए । बस्नेतले भने,’हामी श्रमजीवी पत्रकारको पक्षमा निर्णय गर्नेछौं ।’ केही पत्रकारले गरेका अपजस राम्रो पत्रकारिता गरिरहेकाहरुले पनि भोग्नु परेको प्रति भने बस्नेतले दु:ख ब्यक्त गरे ।

कोभिड संक्रमित पत्रकारको निशुल्क उपचार,अनलाइनको लागि लोककल्याणकारी बिज्ञापन र युट्युब ब्यवस्थापन गर्न मापदण्ड बनाउने विषयमा अध्ययन गरिरहेको बस्नेतले जानकारी दिए । कोभिडका कारण प्रभावित बनेका सन्चारकर्मीलाई राहतस्वरुप लेखनबृत्ति कार्यक्रम ल्याउन लागेको पनि उनले जानकारी दिए ।

पार्वत गुरुङ्गले मन्त्री पद छाड्नु दुई दिनअघि प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त गरेपछि जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा बस्नेत पहिलो पटक धादिङ आइपुगेका हुन् ।

टिप्पणीहरू