कमरेडकै कारण पाख्रिवासमा तोडफोड !

कमरेडकै कारण पाख्रिवासमा तोडफोड !

धनकुटाको पाख्रीवास नगरपालिकामा अघि तोडफोड भएको छ । नगरसभाको तयारी भइरहेको बेला नगरपालिका कार्यालय क्षेत्रभित्र स्थानीयले मेयर विर्षबहादुर राईविरुद्ध चर्को नारावाजी गर्दै तोडफोडसमेत गरेको बताइन्छ । वडा नम्बर ३ का सदस्य सरोज राईले स्थानीय वडा नम्बर ४ का रवि पौडेललाई हातपात गरेपछि स्थिति तनावग्रस्त बनेको अर्को पक्षको दावी छ ।

आफ्ना माग राख्दै धर्नामा बसेकालाई वडा सदस्य सरोज राईले हातपात गरेको प्रतिक्रियास्वरुप कार्यालयमा भौतिक क्षति भएको हो । मेयरले एकलौटी गरेको,जनताका समस्या समाधान गर्नेतर्फ ध्यान नदिई गुटलाई मात्र प्रश्रय पुग्ने काम गरेको,विभिन्न रोजगारीमा उम्मेद्वारहरु आफ्नो समुदायलाई मात्र छनौट गरेको,नियमविपरित योजना वितरण गरेको भन्दै आक्रोशित जनताले मेयरविरुध्द चर्को नारावाजी गरेका थिए ।

विघटित प्रतिनिधिसभा सदस्य राजेन्द्र राईले धनकुटाका सातै पालिकाहरुलाई प्रधानमन्त्री केपी ओलीनिकटलाई मात्र फाइदा पुग्ने खालको बजेट निर्माण गर्न लगाएको भनी इतर खेमाले गुनासो पोखेको छ । विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा (एमाले) माधव पक्ष समूह, माओवादी केन्द्र,जसपालगायतले संयुक्त विज्ञप्तिमार्फत गलत कदमविरुध्द एकजुट भई अघि बढ्ने र थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने बताएका छन् ।

धनकुटाका सातै तहमा नेकपा एमालेबाट निर्वाचित मेयर तथा उपमेयर छन् ।

टिप्पणीहरू