यस्तो कुरा राष्ट्रपतिलाई के थाहा !

हुन त आममाफीको घोषणा गर्ने राष्ट्रपतिलाई के थाहा, यसपछि रहेका छलछाम र कुकृत्यबारे । जेलर, कारागार व्यवस्था विभाग र गृह मन्त्रालयका हाकिमले संविधान दिवश र दशैंजस्ता राष्ट्रिय पर्वमा कैदी बन्दीलाई दिइने माफी मिनाहाको सिफारिसमा के–कतिसम्म आर्थिक चलखेल गर्छन् भन्ने यो बलियो उदाहरण हो ।

संविधान दिवशको अवसरमा ५३७ जना कैदीबन्दीले आममाफी पाएर बाँकी कैद भुक्तान गर्नुपरेन । त्यसैगरी, दशैं फूलपातीको दिन पनि १०४ जनाले त्यस्तै उपहार पाए । जसमध्ये एक जना थिए, भारतको पञ्जाब प्रान्त होसियारपुरमा स्थायी बसोबास रहेका रोजित सिंह । उनको कसुर चानचुने थिएन, उही भारतले नेपाली भूमि प्रयोग गरी पाकिस्तानी खुफिया एजेन्सी आइएसआईले नक्कली आइसी कारोबार गरे भनेर पटक–पटक टाउको दुखाउने जाली नोटकै कसुर गरेका थिए । तर, भारु होइन, उनी मेसिन राखेर नेपाली नोट छाप्थे, भक्तपुर ठिमीस्थित डेरामा । यही कसुरमा ०६८ साल असोज १२ गते पक्राउ परेका उनलाई १० वर्ष कैद र १६ हजार ५ सय जरिवाना घोषणा भयो । तर, कारोबार नै ‘कान्छी नानीको’, पैसाको के कमी !
आधा सजाय अर्थात् ५ वर्ष ६ दिन पूरा हुनासाथ नेपाली राष्ट्रपतिको निगाह पाए । तर, त्यो माया पक्कै पनि त्यसै पाएनन् किनकि उनीजस्तै तर निकै कमजोर कसुरमा पूरै सजाय भोग्न बाध्य त्यही डिल्लीबजारस्थित कारागारमा धेरै छन् जहाँबाट गएको फूलपातीको दिन छाती ठोक्दै उनी बाहिरिए ।

पैसाको प्रभावले सरोकारवाला सरकारी कर्मचारीलाई आफ्नो बनाउन नसक्नेहरूचाहिँ भन्छन्, के गर्नु र रोजितको त काम नै पैसा छाप्ने । जति बुझाए पनि, खर्च गरे पनि छाप्दा भैहाल्ने । अरू छाप्छन् बरु, अब नेपाली बजारमा खोटो नोटको बिगबिगी बढ्यो भने दोषी पो कसलाई मान्ने हो कुन्नि !

 

टिप्पणीहरू