अपर तामाकोशी जोडिने,पूर्वदेखि पश्चिमसम्मको लाइन काटिने

अपर तामाकोशी जोडिने,पूर्वदेखि पश्चिमसम्मको लाइन काटिने

नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय गौरवको अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने क्रममा अन्यत्र विद्युत कटौती हुने जानकारी गराएको छ । प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा भोलिदेखि आगामी शनिबारसम्म धनुषाको ढल्केबरदेखि बाँकेको कोहलपुरसम्मका सबस्टेशनहरुमा केही समय विद्युत आपूर्ति बन्द हुने बताइएको छ ।

सूचनाअनुसार अपर तामाकोशीको विद्युत जोड्ने क्रममा केही दिन खिम्तीदेखि लामोसाँघुसम्मको १ सय ३२ केभी प्रशारण लाइन बन्द रहनेछ । जसका कारण राष्ट्रिय प्रशारण प्रणालीमा विद्युत अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनबाट वितरण हुने विद्युत प्रणालीमा छोटो समयको लागि विद्युत कटौती हुने भएको हो ।

विशेषगरी उक्त क्षेत्रका औद्योगिक ग्राहकहरुलाई छोटो समयको लागि विद्युत कटौती हुने भएकाले राष्ट्रिय प्रशारणमा जोड्ने कार्य तोकिएको समयअगावै सम्पन्न भएमा विद्युत प्रशारण सोहीबमोजिम सुचारु हुनसक्ने बताइएको छ ।
प्राधिकरणले विद्युत कटौतीको समय कम गर्न कुलेखानी जलाशयको पानी प्रयोग गरेर थप विद्युत उत्पादन गर्ने जानकारीसमेत दिइएको छ ।

टिप्पणीहरू