नेपाली सांसद भारतमा हराएपछि

शनिबार साँझ सूचना आयो, ‘एमाले सांसद रविन कोइराला शुक्रबारदेखि सम्पर्कमा हुनुहुन्न ।’ कोइराला व्यक्तिगत कामको सिलसिलामा शुक्रबार भारतको सिलिगुडी गएका थिए ।
कोइराला साँच्चै सम्पर्कविहीन भएका हुन् या केही कारणवश घर फर्किन ढिला भएको हो, यो नबुझी झापाका एक सञ्चारकर्मीले फेसबुकमा स्टाटस पोस्ट गरिदिए । कुनै दिन आफूले सांसद कोइरालासँग अन्तर्वार्ता लिँदै गरेको तस्बिर पनि अपलोड गर्न भ्याए । त्यसपछि देश–विदेशमा हल्ला फैलियो । एमाले वृत्तमा पनि चिन्ता बढ्यो ।
झापा मेचीनगर–१० निवासी कोइराला शनिबार साँझसम्म पनि सम्पर्कमा नआएपछि खोजी शुरु भयो । देशका सांसद् २४ घण्टासम्म कसैसँग सम्पर्कमा छैनन् भने खोजी हुनु स्वाभाविकै हो । स्रोतका अनुसार उनी शनिबार काठमाडौं जाने तयारीमा थिए । शनिबारका लागि प्लेन टिकट पनि काटेका थिए । तर, एकाएक टिकट आइतबारका लागि सारेर उनी सिलिगुडी प्रस्थान गरेको बुझिन्छ ।
कोइराला सम्पर्कबाहिर रहेको सूचना जिल्ला प्रहरी कार्यालयमा पनि पुग्यो । एसपी शैलेश थापा तुरुन्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टा पुगे । इन्स्पेक्टर नेतृत्वको टोलीलाई इण्डियन काउन्टर पार्ट (भारतीय प्रहरी युनिट) समक्ष पठाए । एसपी थापा इप्रका काँकडभिट्टामै बसेर यसबारे बुझ्न व्यस्त थिए ।
‘उहाँ शुक्रबार नै भारत जानुभएको रहेछ, अहिलेसम्म (शनिबार साँझसम्म) नेपाल नफर्किंदा सबैमा चिन्ता बढेको छ, हामी प्रयासमा छौँ,’ एसपीले भने । सांसद कोइराला कोसँग, केका लागि र कति बजे भारत प्रस्थान गरेका थिए भन्नेबारे बताउन नचाहेका एसपी थापाले भने, ‘हामी बुझ्दै छौँ, अहिले सबै भन्न मिल्दैन ।’
यता, प्रहरी सांसद कोइरालाको खोजीमा जुटिसकेको थियो, कोइराला भने फेसबुकमा अनलाइन देखिन्थे । जनआस्थाकर्मीले प्रहरीलाई बताउँदा एसपी थापाले भने, ‘हो र ! तपाईं त प्रहरीले जस्तै खोजी गर्नुहुँदो रहेछ ।’ निकैबेर अनलाइन बसेका सांसद् कोइरालाले जनआस्थाकर्मीको म्यासेजको रिप्लाई भने दिएका थिएनन् ।
साँझ ७ बजेपछि एक्कासि एसपीले जनआस्थाकर्मीलाई फोन गरे । र भने, ‘सांसदज्यूसँग मेरो कन्ट्याक्ट भइसक्यो, नेपाल फर्किंदा ढिला भएकाले मिरिकमा बस्नुभएछ, आइतबार बिहान फर्किने भन्नुभएको छ ।’
केहीबेरपछि कोइरालाले पनि फेसबुक च्याटमा भने, ‘सिलिगुडीमा छु, भोलि आउँछु ।’ कोइरालाले प्रहरीलाई मिरिकमा छु भने, पत्रकारसँगको च्याटमा सिलिगुडीमा छु भने । त्यसको केही बेरपछि स्टाटस लेखे, ‘औषधोपचारका लागि भारतको सिलिगुडीमा भोलिसम्म बस्नुपर्ने भयो ।’ तब मात्र उनका शुभचिन्तक, आफन्त र सर्वसाधारण ढुक्क भए । तर, यतिञ्जेलसम्मा उनी सम्पर्कविहीन भएको हल्ला फैलिइसकेको थियो ।
कोइराला सम्पर्कमै रहेको कुरा सार्वजनिक हुन थाल्यो, सामाजिक सञ्जालमार्फत । अघि हतार गरेर फेसबुकमा स्टाटस र तस्बिर हाल्ने सञ्चारकर्मीमाथि खनिए फेसबुक प्रयोगकर्ता । आलोचना हुन थालेपछि ती सञ्चारकर्मीले पनि स्टाटस र फोटो हटाइसके । कोइराला आइतबार दिउँसो नेपाल प्रवेश गरे । र, तुरुन्तै हवाईजहाजमार्फत राजधानी प्रस्थान गरे । कोइराला झापा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । संविधानसभा निर्वाचनमा कांग्रेस नेता विश्वप्रकाश शर्मालाई पराजित गरेका हुन् ।

टिप्पणीहरू