‘चौकी आक्रमणको तयारी गर्दै पासाङ’

‘चौकी आक्रमणको तयारी गर्दै पासाङ’

राजु लामिछाने
‘चिटिक्क मिलेको महत गाउँ । गाउँको सिरानमा तत्कालीन अवस्थामा रहेको प्रहरीको नमूना चौकी । चौकी आक्रमणको योजनासहितको प्रशिक्षणमा तत्कालीन जनमुक्ति सेनाका कमाण्डर तथा हालका उपराष्ट्रपति नन्दबहादुर पुनसहित ५ जनाको मूर्ति । चौकी आक्रमण र प्रहरीले गरेको आत्मसमर्पणको झलक । अनि, तत्कालीन डिएसपी ठूले राईको अपहरणको सन्देश । केही लाशहरुका चित्र । त्यो कहालीलाग्दो विगत भुलाउन गाउँको बीचैमा बुध्दको मूर्ति र छेवैमा शान्ति स्मारक ।’

महत गाउँ

तत्कालीन सशस्त्रद्वन्द्वताका राज्यपक्ष र माओवादीबीचको दोहोरो भिडन्त,माओवादी आक्रमण, राज्यको एकोहोरो चेपुवामा निसास्सिएको रुकुमपूर्वको महत गाउँको यो सजिव चित्रले त्यो युद्ध सम्झाउँछ । साथै,शान्तिको चीर कामना गरिरहन समेत प्रेरित गर्छ । जिल्लाको भूमे गाउँपालिकाले यहाँको ऐतिहासिक भूमिलाई युध्द पर्यटनको रुपमा चिनाउन बनाउँदै गरेको युद्धस्मारक पार्कको यो विशेषताले सबैलाई मोहित पारेको छ,आकर्षण बढाएको छ ।

महतमा लडाईं कसरी भयो ?– ‘त्यसको सचित्र महत गाउँको सिरानमा रहेको भित्तामा टाँसिएको छ ।’ महतवासी के चाहन्छन् ?– ‘अब युद्ध नहोस्,शान्ति होओस् भन्ने कामनालाई गाउँकोबीचमा रहेको शान्ति स्मारक र बुद्धको सालिकले प्रष्ट्याउँछ ।’

बुद्धको मूर्ति र स्मारक

महत गाउँमा जनयुद्धका कारण ज्यान गुमाएकाको सम्झनामा युद्ध फिचर र शान्ति स्मारक यसअघि नै निर्माण गरिएको छ । अहिले भने तत्कालीन जनमुक्ति सेनाका कमाण्डर पासाङसहित पाँच जनाको मूर्ति बन्दैछ । माओवादीले आक्रमण गर्ने बेलाको प्रहरी चौकी,त्यो बेलाको महत गाउँ चित्रमा बन्दैछ । जसलाई तारबार गरेर गाउँपालिकाले युद्ध पर्यटनको रुपमा विकास गर्दैछ ।

महत गाउँमा रहेको प्रहरी चौकीमा २०५६ असोज ५ गते माओवादीले आक्रमण गरेको थियो । आक्रमणका मुख्य कमाण्डर नन्दबहादुर पुन (पासाङ) सहितका ५ जनाको मूर्ति तयार गरेर युद्ध स्मारक पार्कमा राखिँदैछ । प्रशिक्षण दिँदै गरेका पासाङसँगै १ नम्बर प्लाटुन कमाण्डर ओमप्रकाश श्रेष्ठ (हिमाल) र २ नम्बर प्लाटुन कमाण्डर हरिबहादुर पुन (बरुण) को मूर्ति सजाईंदै गरेको भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले बताए ।

हिमाल र बरुणको टोलीले प्रहरी चौकी आक्रमणका लागि पासाङको फौजलाई सहयोग गरेको थियो । त्यसैगरी घाइतेहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी कृष्ण रेग्मी (विवश) र अर्का प्लाटुन कमाण्डर निर्माणको मूर्ति पनि निर्माणको अन्तिम तयारीमा छ । चितवन र दाङबाट दक्ष कालिगढहरु ल्याएर गाउँपालिकाले गाउँमै मूर्ति बनाइँदै छ । मूर्ति तयार हुँदै गरेकामध्ये रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाका निर्माण सहिद हुनुभएको छ भने अरु सबैजना जीवितै हुनुहुन्छ । नन्दबहादुर पुन भने अहिले नेपालको उपराष्ट्रपति हुनुहुन्छ ।

तत्कालीन अवस्थामा रहेको प्रहरीको नमूना चौकी

गाउँपालिका अध्यक्ष रामसुर बुढाको परिकल्पनामा भइरहेको यो युद्ध स्मारक पार्कले बजेट अभावको कारण यसैवर्ष पूर्णता भने पाउने छैन । ‘डीपीआरअनुसारको काम गर्न बजेटले धोका दिइरहेको छ’, अध्यक्ष बुढाले भने, ‘यो वर्ष स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको २० लाखबाट ५ वटा मूर्ति,प्रहरी चौकी, महत गाउँ, विद्यालयको चित्रका साथै तारबारको काम अन्तिम अवस्थामा पुगेको छ ।’ रामसुरको परिकल्पनामा यी युद्ध फिचर हेर्ने र आक्रमणको रहर गर्न चाहनेहरुले अभ्यास समेत गर्न सक्ने बताइन्छ । सबै काम पूरा भएपछि प्लाष्टिकको बन्दुक, हतियार र गोलीको समेत व्यवस्था गरेर युद्धअभ्यासको नक्कल गर्न सकिने उनले जानकारी दिए ।

हामी शान्ति चाहन्छौं भन्ने सन्देश दिन बुद्धको मूर्ति बनाइएको र मृतकको सम्झनामा शान्ति स्मारक निर्माण गरिएको अध्यक्ष रामसुरले उल्लेख गरे । गाउँको सिरानमा निर्माण गरिएको युद्ध फिचरमा दुई पक्षबीचको लडाईंको दृश्यलाई प्रदर्शन गरिएको छ, जसले युद्ध अब स्मरणमा मात्रै रहोस् भनेर सन्देश दिन खोजिएको अध्यक्ष बुढाको भनाई छ । युद्ध फिचर राखिएको स्थानलाई युद्धस्मारक पार्कको रुपमा विकास गरिँदैछ । जनता विकास र समृद्धी चाहन्छन्, यसका लागि स्थायी शान्ति आवश्यक छ भन्ने सन्देश प्रवाह गर्न युद्ध फिचर र शान्तिको स्मारक निर्माण गरिएको हो ।

मुर्ति बनाउँदै कालिगढ

२०५६ साल असोज ५ गते महत गाउँको प्रहरी चौकीमा माओवादीले आक्रमण गरी तत्कालीन डिएसपी ठूले राईलाई अपहरण गरेपछि भोलिपल्ट गाउँमा प्रहरी पसेर दुई जना सर्वसाधारणको हत्या गरेको थियो । आक्रमणमा परेर दुई जना प्रहरी र प्रहरीको संरक्षणमा रहेका दुई जना काँग्रेस कार्यकर्ताको ज्यान गएको थियो । त्यसको केही दिनपछि असोज ३० गते गाउँकै सात जनालाई गिरफ्तार गरी नजिकैको जंगलमा लगेर छ जनाको हत्या गरिएको थियो ।

तेस्रोपल्ट २०६० साल असोज ५ गते सेनाले गाउँ घेरा हालेर १७ जना सर्वसाधारणको हत्या गरेको थियो । जसमध्ये ६ वर्षीय, १० बर्षीय र १४ बर्षीय नावालकका साथै ७६ वर्षीय वृद्धले समेत ज्यान गुमाउनुपरेको थियो । साविकको महत गाविसमा मात्रै राज्यपक्षबाट ५२ जनाले ज्यान गुमाएका थिए भने विद्रोही पक्षबाट ६ जनाले ज्यान गुमाएका थिए ।

त्यही दर्दनाक पीडालाई बिर्साएर ज्यान गुमाएकाहरुको योगदानलाई कदर गर्न गाउँको बीचमा गौतम बुद्धको मूर्ति, बुद्धमूर्तिसँगै मृतकहरुको नाम अंकित स्तम्भ र गाउँको सिरानमा युद्धस्मारक पार्क बनाइएको छ । युद्ध संग्रहालय निर्माण गर्ने भनिएको चुन्वाङ भूमे गाउँपालिकाभित्रै पर्ने र गुरिल्ला पदमार्ग पनि यही बाटो भएर अगाडि बढ्ने भएका कारण पनि भूमेको भूमिलाई युद्ध पर्यटनमा चिनाउने गरी काम गर्ने गाउँपालिकाले बताएको छ ।

युद्धको-झल्को-दिने-युद्ध-फिचर

टिप्पणीहरू