धनीलाई चमेली, छँदै छ चइन

अहिलेका सत्ताधारी कम्युनिस्ट पञ्चायतकालमा मच्चिइमच्चिई गाउँथे, ‘धनीलाई छँदै छ चइन, गरिबलाई चमेली लाग्दछ अइन ।’ नेपालकै सबभन्दा धनीको रूपमा विश्वचर्चित विनोद चौधरीको चितवन कसरास्थित सेभेन स्टार होटलका पाहुनालाई राप्ती नदी सयर गराउन डुंगा बनाउँदै गर्दा गैंडा मरेपछि जेल सजाय तोकिएका भारतीय नागरिकको हकमा यो गीतको मर्म ठ्याक्कै मिल्न आउँछ । १५ भदौदेखि जंगलमा डुंगा बनाउन थालियो, १९ मा त्यो काम सकियो । २४ गते एउटा गैंडा म¥यो । उक्त होटलबाट बिजुली तानेर जंगलमा लगी दिनभर काठ खोप्ने र राति सामान चोरी होला भनेर नांगो तार त्यत्तिकै छाड्ने गरिएको रहेछ । त्यसैमा अल्झिएर विश्वमै दुर्लभ र संरक्षित एकसिंगे गैंडा मरेपछि वेल्डर, इलेक्ट्रिसियन, प्लम्बर, हात्तीका माउतेलाई समातेर मुद्दा चलाइएको थियो । यस प्रकरणमा बहस गर्न होटलका म्यानेजर रितेश भट्ट र प्रकृतिविद् दीपु शशिको तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, सुशील पन्त चितवन झरे । पुनरावेदनको निम्ति हेटौंडासम्म पनि पुगे । मुद्दा चल्यो ९ जनामाथि । १ जनालाई धरौटी र ४ जनालाई तारेखमा छाडेर जिल्ला अदालतले दुई भारतीयसहित नेपालीका २ छोरा (जीवन र सुनील महतो) लाई मात्र पुर्पक्षका निम्ति जेल हाल्ने निर्णय सुनायो तर विडम्बना, गरिबका सन्तान हुनुको फलस्वरूप दुई नेपाली छोरा जेलमा छन् भने भारतीय नागरिकलाई एक रात पनि थुनामा नपठाई दूतावासको दबाव र पैसाको प्रभावमा एउटाको किड्नी र अर्कोको फोक्सो खराब भन्ने नक्कली मेडिकल रिपोर्ट बनाएर अस्पतालमै बस्ने सुविधा मिलाइएको छ । दशैं–तिहारको छुट्टीमा समेत घर नगई ५ जना प्रहरी तिनको सुरक्षार्थ तैनाथ छन् । अघिल्लो बिहीबार दिनभर बहस सुनेर तथा भएभरका कागजात अध्ययन गरेर पनि निश्कर्षमा पुग्न नसकी पुनरावेदन अदालत हेटौंडाका न्यायाधीशद्वय बाबुराम रेग्मी र वीरेन्द्र कर्णले मुद्दाको मिसिल झिकाउने आदेश जारी गरेका छन् । संरक्षित वन्यजन्तु कसैको लापरबाहीले मरे ५ देखि १५ वर्षसम्म कैदको प्रावधान छ । अझ विदेशीको हकमा त ६ महिनाको निम्ति मात्र सजाय पाए पनि जेल जानै पर्ने नियम छ । तर, यी दुईको हकमा नेपालमा स्थायी बसोबास नगर्ने हुनाले उन्मुक्ति दिइनुपर्छ भन्ने धनी चौधरीहरूको जिकिर छ । यसअघि पनि ठूला व्यापारी र पहुँचवालाहरू जेल नगई अस्पतालमै बसेर कैद अवधि काट्ने गर्थे । यहाँ पनि धनी चौधरीका विदेशी कर्मचारीलाई जेल नपठाएर गरिब महतोहरूको दिल दुखाउने काम भएकामा पुनरावेदन बारतिर ठूलो हल्लीखल्ली छ ।

टिप्पणीहरू