सर्वोच्चले सेटिङमा मन्त्री हटाएको प्रधानमन्त्रीको आरोप

सर्वोच्चले सेटिङमा मन्त्री हटाएको प्रधानमन्त्रीको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको निश्पक्षतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै सर्वोच्च अदालतको मंगलबारको अन्तरिम आदेशप्रति आशंका व्यक्त गर्नुभएको छ । उहाँले न्यायालयको निर्णय अगावै भएको चर्चाले शंका उब्जाएको बताउनुभएको हो ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवम् प्रकाशित पुस्तकहरुको लोकार्पण कार्यक्रमलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्रीले अघिल्लो दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले ‘यस्तो गर्दैछ’ भनी अभिव्यक्ति दिनु र भोलिपल्टै त्यस्तो आदेश आउनुले न्यायालयको निश्पक्षतामााथि प्रश्नचिन्ह खडा भएको बताउनुभएको हो ।

भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो,कसरी त्यो भयो ?’

उहाँले भन्नुभयो, ‘कसैले अघिल्लै दिन घोषणा गरेका थिए । कसरी गरे त्यो पनि गजबै छ । धादिङमा अघिल्लै दिन भोलि अदालतले हटाउँदैछ भनेको सूचना मैले पाएको छु । न्याय निश्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ?’ प्रधानमन्त्रीले सेटिङ शब्दको सन्दर्भ उल्लेख गर्ने क्रममा अदालतको आदेशसँग जोड्दै भन्नुभयो, ‘नत्र भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लै दिन धादिङमा स्याल करायो,कसरी त्यो भयो ?’

प्रधानमन्त्री ओलीले खुलमखुल्ला विदेशी हस्तक्षेपको अपेक्षा गर्नेहरुले नै आफूलाई आडम्बरी देशभक्ति भनी टिप्पणी गर्ने गरेको उल्लेख गर्नुभएको छ । एकजना पूर्वप्रधानमन्त्रीले हालै दिएको टेलिभिजन अन्तर्वार्ताको सन्दर्भ उल्लेख गर्दै उहाँले विपक्षी गठबन्धनका पूर्वप्रधानमन्त्रीहरुले विदेशीलाई गुहारेर उल्टै आफूमाथि नक्कली र आडम्बरी देशभक्तिको आरोप लगाएको बताउनुभएको छ । सम्बोधनको क्रममा उहाँले प्रजातन्त्र र संविधानविरुद्ध अराजकता ल्याउन खोज्नेहरुविरुद्ध एकजुट हुन महन्थ ठाकुरलाई साथमा लिएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरुले महन्थ ठाकुरजीलाई प्रधानमन्त्री बन्दिनोस् भन्दा सही हुन्छ । मैलेसाथ लिँदा गलत हुन्छ !’

टिप्पणीहरू