खाँचो भन्दै खान दिने हो खुराक ख्वाप्पै ? « Jana Aastha News Online
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022
Logo
१३ असार २०७९, सोमबार
|  Mon Jun 27 2022

खाँचो भन्दै खान दिने हो खुराक ख्वाप्पै ?

प्रकाशित मिति :  ११ कार्तिक २०७३, बिहीबार ०७:३६


हामीलाई संसारको अर्को कुनासम्म छुन आफ्नै जहाज आवश्यक छ तर खाँचो प¥यो भन्दैमा नियम, कानुनको धज्जी उडाएर व्यक्ति मोटाउने खेलमा सिंगो राज्यसंयन्त्र फस्नु कत्तिको उपयुक्त होला ? हामीसँग राजधानीबाट १५ देखि २५ मिनेट दूरीका सिमरा, पोखरा, भरतपुरसम्मको उडानलाई नियमितता दिने हुती छैन तर सीधै युरोप हान्ने सपना देखाइँदै छ । भएका ट्विनअटर र वाई– १२ चलाउन नसकेर तारा एअरलाई भाडामा दिनुपरेका बेला ‘म दूरसञ्चार संस्थानको महाप्रबन्धक हुँदाका अध्यक्ष लोकमानसिंह कार्की अहिले अख्तियार प्रमुख हुनुहुन्छ, उहाँ हुँदासम्म कसैले डराउनुपर्दैन’ भन्दै कनिष्ट कर्मचारी र आफन्तहरूको ल्याप्चे लगाएर ठूलो आकारका दुईवटा जहाज खरिद प्रक्रिया अघि बढाइएको छ । ‘आफैं त मागी–मागी छोराको बिहे’ भनेझैं कर्मचारी सञ्चयकोषबाट सापटी मागेर एअरबस किन्न लागिएको हो । दशैंबिदा शुरु हुनै लाग्दा असोज ७ गते शुक्रबार सम्पन्न नेपाल वायुसेवा निगम सञ्चालक समितिको १७औं बैठकले एक नम्बर बुँदामै राखी यससम्बन्धी निर्णय लिएको कागजातले देखाउँछ । एजेण्डामा कुन कम्पनीको जहाज किन्ने खुल्दैन तर नेपाल वायुसेवा निगम आर्थिक नियमावली– ०६५ परिच्छेद २६ को दफा २३६ को १ र २ बमोजिम एअरबस ए ३३०–२०० खरिद गर्न ४५ दिने सूचनासमेत जारी गरिसकिएको छ । यसमा प्रतिस्पर्धाको कुरै छैन । जुन कुरा नेपाल राजपत्र खण्ड ६६ अतिरिक्तांक ५ मिति ०७३ असार ३० को भावनाविपरीत समेत भएको बताइन्छ । सोको बुँदा २९ (१) च मा एभिएसन वा विमानसँग सम्बन्धित उपकरण खरिद गर्नुपरे प्रतिस्पर्धा गर्नु नपर्ने आशय झल्किएको छ तर कुनै चिजका पार्टपुर्जा किन्नु र सिंगै सामान खरिद गर्नु फरक कुरा हो । वायुसेवाले हवाला दिएको आर्थिक विनियमावली दफा २३६ को उपदफा २ पुरानो विमान खरिदको हकमा आकर्षित हुने बुँदा हो । यहाँनेर पनि चोरबाटो अपनाउन खोजेको देखिन्छ । अहिले नै अर्डर गरेर सन् २०१९ सम्म नयाँ जहाज प्राप्त गर्न नसकिने भन्दै छिटो र कम मूल्यमा बाहिरी विमान सञ्चालक या बिचौलियामध्येबाट फ्याक्ट्री मूल्य २५७ मिलियन डलरभन्दा आधा जस्तो कम्ती भाउमा एअरबसकै जहाज ल्याउन खोजिएको हो । आफ्नो उत्पादन बिकाउन उक्त कम्पनीका क्षेत्रीय प्रबन्धक भारतीय मूलका शील शुक्ला महिनाको ३ पटकसम्म नेपाल आउने गरेका छन् । जबकि हामीसँग रहेका २ वटा बोइङमध्ये ९ एनएसिए (कर्णाली) लाई ६ महिनादेखि सिंगापुरमा लगेर थन्क्याइएको छ (त्यसको हिसाब मिलाउन हाकिम अहिले उतै पुगेका छन्) भने सोको बिक्रीसँगै अर्को बोइङ एसिबीसमेत बिक्रीको निम्ति मार्गप्रशस्त हुनेछ । हामीसँग पहिला नै बोइङका १९ पाइलट अतिरिक्त समूहका कर्मचारीझैं काम नपाई घाममा सुतेर दिन बिताउन बाध्य छन् । यसअघि केबी लिम्बूको पालामा मर्मत खर्च, तेल खपत, जनशक्तिको उपलब्धता र उडानमा सहजताको हिसाबले कुन कम्पनीको जहाज खरिद गर्न उपयुक्त हुन्छ भनी कापा कम्पनीलाई अध्ययन रिपोर्ट पेश गर्न ५० हजार डलरमा काम लगाइएको थियो । फ्रि सर्भिससमेत दिने हुँदा बोइङ नै उपयुक्त हुने प्रतिवेदन हातमा हुँदाहुँदै एअरबस कम्पनीलाई जबर्जस्ती साढे सात लाख डलर पेश्की पठाउँदा सुगतरत्न कंसाकार जेल परेका थिए । अहिले पनि कम्बल ओढेर घ्यू खाने स्वभावका उनी नै अनेक छलछाम गर्दै एअरबस किनेर आफ्नो नियुक्तिको खर्च उठाउन भातपानी छाडी लागिपरेको बताइन्छ ।
– हरि गजुरेल


प्रतिक्रिया दिनुहोस !