विगत नबिर्स जर्साब’, पाप लाग्छ « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

विगत नबिर्स जर्साब’, पाप लाग्छ

प्रकाशित मिति :  ११ कार्तिक २०७३, बिहीबार ०७:३४


भनिन्छ, इतिहास जित्नेको घोडा हो जो किताबमा पनि सवार भइरहन्छ । लिखत प्रमाणमा बोलिरहन्छ । तर हराइएका, खेदिएका र निचोरिएकाहरू बीचैमा अलप भइदिन्छन् । यस्तै देखिन्छ केही समयअघि उत्तराखण्डको रूपमा नयाँ राज्यको मान्यता पाएर हाम्रो दार्चुलापारि धार्चुलाको प्रतिनिधित्व गर्दै मुख्यमन्त्री बन्न पुगेका हरिश रावत सरकारको राजधानी देहरादुनमा । जोसँग नेपालको दुई वटा घनिष्ट साइनो गाँसिएको छ, बहादुरी र विरहको । त्यहींको नालापानी किल्लामा सेनापति अमरसिंह थापाका नाति बलभद्र कुँवरले केटाकेटी र महिलासहित ६ सय जनाको साथमा कहिल्यै सूर्यास्त नहुने देश बेलायतका मै हुँ भन्ने हस्तीलाई जिन्दगीकै अन्तिम थोपा पानी पिलाउँदै अन्ततः बैरीद्वारा मुहान थुनिएको त्यही पानीको अभावमा रणमैदान खाली गर्न बाध्य भएका थिए । उनैको बहादुरीको सम्झनामा हो, कपटपूर्वक गोर्खाली क्याम्प कब्जा गर्न ‘सफल’ ब्रिटिश जर्नेलहरूले प्रशंसाको शिलालेख खडा गरेको । आफूतर्फ दुईतारे जर्नेल रोबर्ट रोल्लो जिलेस्पी, क्याप्टेन क्याम्पवेल, लप्टन गोस्लिङ, ओ’हारा, ह्यारिङटन, लक्स्फोर्ड, कनिङसहित ३१ गोरा अफिसर र ७५० जवानलाई ३१ अक्टोबरदेखि २७ नोभेम्बर सन् १८१४ को २७ दिनबीच एकै चिहान बनाउने बलभद्रको बहादुरीको सम्मानमा गोराहरूले गाडेको शिलालेख आज कहाँ छ ? त्यही नालापानीमा पोहोर मात्रै देहरादुनस्थित नेपालीले एउटा स्मारक खडा गरेका छन् । नेपालीका निम्ति त्यो गौरवपूर्ण युद्धस्थल पुग्न एकनाशको सालको घना जंगल पार गर्नुपर्छ । बाटोमा कुनै चिह्न छैन । दाङ, घोराहीका शिक्षक र इतिहासका केही विद्यार्थी नेपालबाट गइरहेका बेलाखबत भेटिन्छन्, बडो मुस्किलसाथ ठाउँ पत्ता लगाएर । बाटोमा तिब्बती शरणार्थी क्याम्पको चहल–पहल देखिएला तर गोर्खाली गाथा झल्काउने बाँकी कुनै चिह्न भेटिन्न । बरु ६ किलोमिटर तल शहरमा देखिन्छ खलंगा पार्क, जहाँ त्यतिबेला गोर्खालीको हातबाट मारिएका गोराको स्मृति ताजा छ । नेपाली सेनाअन्तर्गत पुरानो गोरखगणका क्याप्टेन थिए, बलभद्र । उनैको पल्टनका मानार्थ कर्णेल कमाण्डेन्ट हुन् यसअघिका प्रधानसेनापति गौरव समशेर, संयोगवश उनी बलभद्रका सन्तति हुन्  । गौरवले सेकेण्ड लप्टनको रूपमा यही पल्टनबाट सैनिक जीवन शुरु गरेका थिए । ससुराली नाता भारतमै गाँसिएका उनको भारतीय सेनासँग पनि राम्रो सम्बन्ध छ । अर्थात् गौरव उतैबाट मानार्थ सेनापतिको पदले विभूषित व्यक्तित्वसमेत हुन् । तर, आफूहरू ६० जनामा सीमित रहँदा पनि आधुनिक हतियारले सुसज्जित ३५ सय गोरा फौजमध्ये ७५० लाई मार्ने र १५३५ जनालाई घाइते बनाउने बलभद्रको २०२ वर्ष पुरानो सौर्यलाई आजको पुस्तासम्म स्मरणीय बनाइराख्ने सम्पदाको संरक्षणका निम्ति गौरवले भारतीय सेना र सरकारसँग न आफ्नो तीन वर्षे सेनापतित्व कालमा, न अहिले नै औपचारिक आग्रह गरेको पाइयो । आफ्नो गौरवशाली इतिहासको सम्झना गर्नु के प्रत्येक नेपालीको दायित्व होइन ? पदमा हुँदा सिन्को नभाँच्नेले गत साता अरूले त्यो ठाउँ पुगेर सामाजिक सञ्चालमा दुःख मनाउका रिपोर्ट लेखेपछि त्यसैमा दुई÷चार शब्द मात्रै टिप्पणी कोर्नुको के मज्जा ! आफूतर्फ अपूरणीय क्षति पु¥याएर बाटो लाग्ने बलभद्रको प्रशंसामा गोराले खडा गरेको शिलालेखसमेत जोगाउन या खोजतलास गर्न नसक्ने नेपाली सेनाले हाम्रा पुर्खा यस्ता र उस्ता थिए भनेर इतिहासको ठेली निकाल्नुको पनि के स्वाद ! देहरादुन र समाजसुधारको काम थाल्दाथाल्दै ४ महिनामै प्रधानमन्त्रीबाट भाइभतिजको षड्यन्त्रमा खेदिएका देव समशेरको साइनो पनि रमाइलो छ । सम्भवतः ३८ वर्षको उमेरमा धनकुटाबाट पूर्व इलाम हुँदै फनक्क मोडिएर देवले हाम्रो नगरकोटजस्तै चिसो पहाडी भूमि मसुरीको झरिपानीमा जीवनका बाँकी १३ वर्ष बिताएका थिए । कान्छी रानी शारदातर्फका सन्तति कैलाश समशेर नै सम्भवतः अन्तिम व्यक्ति हुन्, जसले पुर्खाको बिँडो थामेर झरिपानीको एकान्त डाँडालाई सधैंको निम्ति परित्याग गरे । आजभन्दा ३२ वर्षअघि ८० एकड अर्थात् झण्डै १६०० रोपनीको पहाड सारजहाँपुरका सरकारी कर्मचारी चौधरी, जैनलगायतलाई जम्मा भारु. २० लाखमा जिम्मा लगाएर देव समशेर खलकले सधैंलाई त्यो ठाउँ छाडेको नेपालगञ्ज नगरपालिकाका पूर्व मेयर धवल समशेर बताउँछन् । उनी देव समशेरकै सन्तति हुन् । त्यो जमिनमा अहिले ५५ वटा कटेज बनेको छ । दिल्ली, देहरादूनलगायत विभिन्न ठाउँका धनिमानीले गर्मीको छुट्टी मनाउन या विदेशीलाई भाडामा दिन ती अलग–अलग कटेजको स्वामित्व हासिल गरेका छन् । यो त  दक्षिणी भागको कुरा भयो । बीचको भाग जहाँ देव समशेरको मूल दरबार छ । स्वच्छ बगैंचा नामक त्यस ठाउँलाई नयाँ मालिकले आफ्नो निवासस्थान भनेर कमल चौधरी रेसिडेन्स लेखाएका छन् । २० वर्षदेखि यो सबै सम्पत्तिको रेखदेख गर्दै आएका म्यानेजर विजय शर्मा भन्छन्– यहाँ कतिले स्कुल चलाए, केहीले कलेज खोले । कसैलाई फलिफाप भएन । तपाईंहरूको देव समशेर महाराज बसेको दरबार भत्काएर नयाँ संरचना खडा गर्न खोज्ने दिल्लीका साहुजीको पनि बीचैमा परलोक भयो र अहिले त्यो खण्डहर त्यत्तिकै छ । यस्तो किन भयो त ? ५१ वर्षको उमेरमा आफ्नै बन्दुक चलाएर रहस्यमय मृत्युवरण गरेका भनिएका देव समशेरको अतृप्त मन त कतै त्यस वरिपरि बसिरहेको छैन ! तर, उनका सन्ततिले सबथोक छाडेर नेपाल फर्किसके । सम्पत्ति अरूको भइसक्यो । अब संरक्षण गर्नु पनि कसरी ?


प्रतिक्रिया दिनुहोस !