थुनामा रहेकी ज्वाला (टीका) संग्रौलाको म्याद पाँच दिन थप

थुनामा रहेकी ज्वाला (टीका) संग्रौलाको म्याद पाँच दिन थप

कुटपिट मुद्दामा आइतबार पक्राउ परेकी सामाजिक सुधारक भनिने ज्वाला संग्रौलाको प्रहरी हिरासतको म्याद पाँच दिन थपिएको छ । युवा संघमा आवध्द संग्रौलाकी पहिलेकै साथी खुश्बु ( नविता) घिमिरेलाई कुटपिट गरेको जाहेरीका आधारमा पक्राउ परेकी संग्रौलाको अनुसन्धान पूरा नभएकाले म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

संग्रौलाबिरुद्ध घिमिरेले दिएको जाहेरीलाई आधार मानेर अनुसन्धान गर्दा उनीहरुबीच वैमनश्यता रहेको केही प्रमाण भेटिएको बताइएको छ । यद्यपि, पछिल्लो झगडा र कुटपिटको सम्बन्धमा अनुसन्धान गर्न तीन दिनको समय कम भएपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट थप पाँच दिन समय माग गरी अनुसन्धान प्रक्रिया अघि बढाएको परिसरले जनाएको हो ।

संग्रौलासहित उनको समूहका केहीले जेठ १४ गते खुश्बुलाई कुटपिट गरेको किटानी जाहेरीमा उल्लेख छ । उता,जातीय विभेद गरेको आलोचनासमेत खेपिरहेकी संग्रौलाबिरुद्ध विभेदमा परेका भनिएका ट्राफिक प्रहरीका असई मणिनन्द झाले संग्रौलाबिरुद्ध उजुर हाल्ने मनशाय नबनाएको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता कृष्ण अधिकारीले बताउनुभएको छ । अधिकारीका अनुसार झा अहिले उजुर हालेर थप लफडा मोल्ने पक्षमा छैनन् ।

टिप्पणीहरू