माओवादी छाडी एमाले बन्ने थप १४ जनाको पद गयो

माओवादी छाडी एमाले बन्ने थप १४ जनाको पद गयो

नेकपा विभाजनको असर स्थानीय तहसम्म पर्न थालेको छ । अदालती आदेशबमोजिम पूर्ववत् एमाले र माओवादी केन्द्र बनेपछि संघीय संसद,प्रदेश सभा हुँदै स्थानीय तहको विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुले दल परिवर्तन गरेसङ्गै कानुनबमोजिम उनीहरुको पद गएको हो ।

स्थानीय निर्वाचनमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुले गत फागुन २३ पछि दल परिवर्तन गरेर एमालेमा गएकोले पार्टी निर्णयअनुसार निर्वाचन अयोगले उनीहरुको पद रिक्तताको सूचना आज जारी गरेको छ । प्रकाशित सूचनामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित १४ जना स्थानीय तहका जनप्रतिनिधिको पद आयोगको असार ९ गतेको निर्णयानुसार स्वतः रिक्त भएको जनाइएको छ ।यसरी पद गएका जनप्रतिनिधिहरुमा रौतहटका ७, कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । उनीहरु सबैले माओवादी केन्द्रबाट राजीनामा दिएर नेकपा एमालेमा प्रवेश गरेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को दफा २२ बमोजिम दल त्याग गरेका उनीहरुलाई पदमुक्त गराइएको आयोगले जनाएको छ ।

यसरी पदमुक्त भएकाहरुमा सर्वोच्चद्वारा मन्त्री पद खाइएका शहरी बिकास मन्त्री प्रभू साह पत्नी रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह,कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाह, देवाही गोनाही गाउँपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुरका उपप्रमुख गौरिशंकर प्रसाद,फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी,माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह,यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष श्रीमती गीतादेवी साह रहेका छन् ।

त्यस्तै,सिराहाको लहान नगर कार्यपालिकाका सदस्य सतमीलाल दास ताती,महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक,कैलालीको भजनी नगरपालिकाकी उपप्रमुख छायाँदेवी देवकोटा,गौरीगंगा नगरपालिकाकी वडाध्यक्ष भागरथी बिष्ट,गोदावरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष पुरन सिंह बिसी र ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुरेशकुमार थापा रहेका छन् ।

टिप्पणीहरू