सरकारविरुद्ध इञ्जिनियरहरू सडकमा

सरकारविरुद्ध इञ्जिनियरहरू सडकमा

पुनर्निर्माण प्राधिकरण प्राविधिक हकहित संरक्षण समितिले आफना माग सरकारले पूरा नगरेको भन्दै अहिले माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरिरहेको छ ।

प्राधिकरणले महामारीमा प्राविधिकको व्यवस्थापन नगरेकाले भत्तासहितको माग राख्दै असार ९ गतेसम्मको अल्टिमेटम दिएको थियो । सो माग पूरा नगरेको भन्दै आज सरकारको विरुद्धमा प्रदर्शन भएको हो ।

आज बिहान प्राधिकरणमा कार्यरत ३२ जिल्लाका लगभग ३ हजार प्राविधिकको साझा संगठन प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिका उपाध्यक्ष इञ्जिनियर जोहन श्रेष्ठको नेतृत्वमा अनामनगरको हनुमानस्थानबाट बिजुलीबजार हुँदै उनीहरू माइतीघर पुगेका छन् ।

धरहरा बनाउने हामी नै हौं,खाडी जान बाध्य नबनाइयोस्

प्रदर्शनकारीहरूले धरहरा बनाउने हामी नै हौं,खाडी जान बाध्य नबनाइयोस्,प्राविधिकहरूको दुर्घटना बीमा लागू गर,कर्मचारी व्यवस्थापनको सुनिश्चितता गर, लाखौं भूकम्प पीडितहरूको मुहारमा खुशी ल्याउने हामी हौं जस्ता नारा र प्लेकार्ड बोकेका थिए ।

त्यसअघि समितिले केन्द्रीय आयोजना कार्यान्वयन इकाइ भवन बबरमहलमा बैठकको आयोजना गरेको थियो । निर्देशक श्यामकिशोर सिंहसहित १५ जना आन्दोलनरत इञ्जिनियरहरु सहभागी बैठकमा विभिन्न माग राखी सिंहदरबार घेर्ने र संयुक्त राजीनामा बुझाउनेसम्मको छलफल भएको बताइन्छ ।

समितिका संयोजक अविनश अम्बरको अध्यक्षतामा बसेको उक्त बैठकमा सहसंयोजक दिपकजंग शाही,सदस्यहरु अजय यादव, राकेश महतो,रोहितकुमार शाह, निरजकुमार सिंह,सिध्दार्थ सोनु कर्ण,इन्द्रभूषण साह, विकासकुमार मण्डल,धनबहादुर खत्री,विनिता श्रेष्ठलगायत १५ जनाको उपस्थिति थियो ।

टिप्पणीहरू