गृहका हकदार

गृहका हकदार

प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गर्नुभएको मन्त्रिपरिषद् विस्तारमा आफू गृहमन्त्री पक्कापक्की भइसक्दा पनि बालुवाटारकै कुनै धुन्धुकारीले नाम काटेको आरोप कमरेड महेश बस्नेतले लगाउनुभएको छ । अहिले सञ्चार माध्यमहरूमा उहाँको भनाई छ्यापछ्याप्ती छ । गृहमा उहाँ पक्का हुनुभएको थियो, तर नाम काटियो ।

हुन त उहाँ आफैँले भन्नुभएको थियो, गृहमा उहाँ पक्का भनेर । तर, मलाई भने यसमा त्यति विश्वास भइरहेको छैन । किनभने गृहमा उहाँको सम्भावना त्यति छ जस्तो मलाई लाग्दैन । बरु गृहमा सम्भावना त गोकुल बाँस्कोटाको हुनुपर्ने हो । किनभने प्रधानमन्त्री ओली बालुवाटार बसुन्जेल उहाँको बालकोटस्थित गृहको पूरा जिम्मेवारी गोकुल बाँस्कोटाले सम्हाल्नुभएको थियो ।

त्यो अवधिमा गोकुल बाँस्कोटाले कोटेश्वरको आफ्नो घर बमले पड्किए पनि बालकोटको गृह भने बडो राम्ररी नै सञ्चालन गर्नुभएको थियो । अतः गृह सञ्चालन गर्न बाँस्कोटा सक्षम भएको कुरा यसबाटै पुष्टि भइसकेको छ ।

बालकोटको गृह सफलतापूर्वक सञ्चालन गरेका कारण प्रधानमन्त्रीले उहाँलाई मुलुककै गृहको जिम्मेवारी दिनुपर्ने थियो । किनभने बालकोट सञ्चालन गरिसकेपछि थानकोट, नुवाकोट, मुसिकोट जुनसुकै कोट पनि सञ्चालन गर्न सकिन्छ । तर बालुवाटारमा कसले के पोल लाइदियो कुन्नि, बाँस्कोटाले गृह पाउनुभएन ।

तर, केही छैन । गृह नपाए पनि म त भन्छु, गृहका असली हकदार बाँस्कोटा नै हो, बस्नेत होइन । अरे यार, दुई चार जना सांसद अपहरण गर्दैमा कहाँ गृह पाउन सकिन्छ र भन्या ? होइन त खगराजजी ?

टिप्पणीहरू