भारत भ्रमण र मधेसीको भनाइ « Jana Aastha News Online
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022
Logo
१५ आश्विन २०७९, शनिबार
|  Sat Oct 1 2022

भारत भ्रमण र मधेसीको भनाइ

प्रकाशित मिति :  १३ आश्विन २०७३, बिहीबार ०९:१०


– डा. राजेश अहिराज


भारतसँग हाम्रो सम्बन्ध ‘आशसहितको आक्रोश र अविश्वाससहितको दोस्ती’ मा आधारित रहँदै आएको छ । आफूले पाउँदा सहयोग र अरुले पाउँदा हस्तक्षेपको धारणा प्रचुर छ । अब घरेलु समस्यालाई घरभित्रै समाधान गर्ने र घर (नेपाल) बाहिर एकस्वरमा बोल्ने परिपाटी थालनी गर्नुपर्छ । देशीलाई सन्तुष्ट नगरी विदेशीबाट स्वागत गराउने प्रयास गलत हो । घरभित्र कलह जिउँदै राखेर बाहिर शान्ति खोज्दै हिँड्नेहरू राष्ट्रकै शत्रु हुन् ।
नेपाली जनता मौन छन् तर मूर्ख छैनन् । यो कुरा बुझ्न जरुरी छ । सहयोग र दानबीचको भिन्नता बुझ्नुपर्छ । राष्ट्र विकासमा कसले कति दियो ? के दियो यो ठूलो कुरा होइन । कुन दर्जामा राखेर दियो ? के उद्देश्यले दियो र त्यसको असर कस्तो पर्छ ? भन्ने कुरा प्रधान हो । सम्मान विनाको सम्पन्नता, शान्ति विनाको विकास र आत्मीयता विनाको सम्बन्धको कुनै अर्थ हुँदैन । छिमेकीको दृष्टिकोणमा सुधार ल्याउन आफ्नो कमी–कमजोरी सुधार्नु जरुरी छ । आपसी मतभेद, द्वन्द्व, कुण्ठा र विरोध कायम राखेर बाहिर सम्मान खोज्नु बेतुकको हुने गर्छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भात भ्रमण एक नियमित र औपचारिक कार्यक्रम हो । समानता विनाको दान बोकेर हिंड्ने हाम्रो नेतृत्वले भ्रमण स्थलको बसाई, खानपान, सत्कार र सहुलियत मात्रलाई सफलताको आधार बनाउनु ठीक होइन । सधैं मागी बस्ने र मित्रमाथि विवाद गर्ने राजनीति सधैं र सबैका लागि बन्द गरिनुपर्छ । ठूलो–सानो, धनी–गरिब, बलिया–कमजोरलगायत कुरा आफ्नो ठाउँमा होलान् । तर, असल छिमेकीको नाताले एकअर्काको शान्ति, विकास, सद्भाव, सन्तुलन र सहकार्यतामा सहयोग पुग्ने गरी भूमिका निर्वाह गर्नुपर्छ । सम्बन्ध समानतामा आधारित हुनुपर्छ, सहयोग सम्मानमा आधारित हुनुपर्छ ।
के चाहन्छ मधेस ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणपूर्व मधेसी मोर्चाका नेतासँग फुटकर संवाद गरे पनि अन्य सरोकारवालासँग संवाद हुन सकेन । मधेसका जनतालाई के चाहिन्छ वा कुन मुद्दामा कुरा गर्दा समावेशिताको अर्थ लाग्छ भन्ने कुरामा खासै सरोकार थिएन । प्रधानमन्त्रीलाई मधेसी मोर्चाले पनि लिखित रूपमा कुनै एजेन्डा दिन सकेन । मधेसको सर्लाहीबाट निर्वाचित प्रचण्डले मधेसी जनताको पक्षमा विशेष पहल गर्लान् भन्ने आश छ । प्रधानमन्त्रीबाट मधेसको परिप्रेक्ष्यमा गरिएका आशाहरू ः सीमा क्षेत्रका जनताले कम्तीमा ४० हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा भन्सार नलाग्ने र सहजै ओसारपसार गर्न पाउने । कृषि, शिक्षा, धर्म र संस्कृतिलगायत प्रयोजनका निमित्त पाँच लाख नेपाली रुपैयाँ बराबरको खर्च सीमा क्षेत्रका जनताले विनाभन्सार प्रयोग गर्न पाउने । मधेसमा रहेको भारतीय रुपैयाँ अभाव तत्काल सहज र सुलभ हुनुपर्ने । भारतीय बैंकमा खाता खोल्ने सहजता । सीमा व्यवस्थापन । लगानीमा समानता । रासायनिक मलको सहज उपलब्धता, कृषि उपकरणमा शून्य भन्सार, भारतीय बिमा कम्पनीमा विशेष प्राथमिकतामा कृषि वा पशु बिमाको व्यवस्था । तटबन्ध, नहर, निर्माण, सतह सिञ्चाइ र ऊर्जा व्यवस्थापन । कृषि, शिक्षा, उन्नत बीउ, रासायानिक मलमा सहजता । हुलाकी सडक र महेन्द्र राजमार्गसँग जोडिएको लिंकरोड तत्काल निर्माण हुनुपर्ने । रामायण सर्किट रेल्वे व्यवस्था ।
मधेसबाटै जितेका प्रचण्डले आफ्नो माग, एजेण्डा र प्रस्तुतिमा मधेस र मधेसीको सम्बन्धलाई उचित स्थान दिएनन् ।
किन स्वागत भएन ?
खुला सिमाना भएकाले छिमेकी मुलुक अशान्त हुँदा यसको प्रभाव पर्नसक्ने आशंका कारण भारतले गरिरहेकै छ । संविधान जारी भएपछि दुई–दुई जना प्रधानमन्त्रीले भारत भ्रमण गरिसक्दा पनि संविधानको स्वागत नहुनुलाई सूक्ष्म तरिकाले विश्लेषण गर्न जरुरी छ ।
एउटा समुदाय विजित र अर्को समुदाय पराजित भएको मानसिकतामा बाँडिएको नेपाली समाजको मनोवृत्तिबारे भारत विज्ञ छ । मधेसलाई द्वन्द्वमा राखेर, सीमालाई अशान्त बनाई, अन्य पक्षलाई चलखेल गर्ने ठाउँको सुनिश्चितता गर्दै मधेसीलाई भारतविरोधी बनाउने कार्य कदापि स्वीकार्य हुनै सक्दैन ।
संविधान लागू हुनुपर्छ भनी अडान राख्ने जमातले आफैं संविधान पालन नगरेको थुप्रै दृष्टान्त छ । यो भ्रमणलाई भारतसँग सम्बन्ध नवीकरणका रूपमा हेर्न सकिए पनि मधेसको दृष्टिकोणले सन्तोषजनक नरहेको भ्रमण टोलीकै सदस्यले भन्दै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !