एमालेमा सुकुचा

एमालेमा सुकुचा

सत्तारुढ पार्टी नेकपा (एमाले) का वरिष्ठ नेताहरूको राजनीति बुझ्न कठिन हुँदै गएको छ । कुनै पनि एमाले नेतालाई अहिले कुनै पनि एमाले नेता मन पर्दैन । उहाँहरूलाई अहिले आफ्नै पार्टीका नेताहरूभन्दा पनि अरु पार्टीका नेताहरू बढी मन पर्न थालेको देखिन्छ । आफ्नो पार्टीको नेता मन नपर्ने, अर्काको पार्टीको नेता मन पर्ने ।

अब हेर्नोस्, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई आफ्नै पार्टीका वरिष्ठ नेता कमरेड माधव नेपाल, कमरेड झलनाथ खनाल भन्दा पनि जसपाका नेताहरू महन्थ ठाकुर एवं राजेन्द्र महतो मन पर्ने । वरिष्ठ नेता माधव नेपाललाई आफ्नै पार्टीका अध्यक्ष केपी ओलीभन्दा पनि कांग्रेस सभापति शेरबहादुर देउवा एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल मन पर्ने । आफ्ना नेता पटक्कै मन नपर्ने, अर्काको नेता औधी प्यारो हुने । कस्तो रोग हो यो ?

उहाँ नेताहरूको यो ताल देखेर मलाई आफ्नै छिमेकी सुकुचाको चाला याद आयो । सुकुचाको घरमा सुकुचा र श्रीमतीबाहेक अरु कोही बस्दैनन् । घरमा दुई जना मात्रै बस्ने भए पनि सुकुचाको चाला भने अर्कै । उनी श्रीमतीलाई पटक्कै मन पराउँदैनन् । बरु छिमेकीको श्रीमती मन पराउने । अनि त्यो छिमेकीकी श्रीमतीलाई पनि आफ्नो श्रीमान् मन नपर्ने, बरु अर्काको श्रीमान् भइसकेका सुकुचा मन पर्ने ।

अहिले म सोचिरहेको छु, सुकुचा पनि एमाले भएछन् कि क्या हो ?

टिप्पणीहरू