किन झिकेको केकीलाई ?

‘प्रयास गर्नेहरू कहिल्यै हार्दैनन्’ हरिवंश राय बच्चनको यही भनाइ बारम्बार उद्धृत गर्दै नायिका केकी अधिकारीले याक एण्ड यती होटलमा आँसु चुहाएको भर्खरै हो । प्रेसिडेन्सियल कलेजबाट एमबिए ग्र्याजुएट गर्दै गर्दा केकी अधिकारी निकै भावुक बनेकी थिइन् । पिता बद्रिको नाममा बैंकबाट लिएको कर्जा ३५ दिनभित्र चुक्ता नगरे  सिभिल बैंकले लिलाम गर्ने सूचना दैनिक पत्रिकामा निकालेसँगै केकी मानसिक तनावमा थिइन् । सोही पीडादायी दिनलाई उनले उपराष्ट्रपति नन्दबहादुर पुनका अगाडि प्रकट गरेकी हुन् । यिनै नायिका अधिकारी पछिल्लो समय एउटा चलचित्रबाट हराइनेमा परेकी छन् ।   
रमेश उप्रेतीले निर्माण गर्ने भनिएको ‘ऐश्वर्या’मा केकीलाई नायिकाको रूपमा लिइने कुरा थियो । चर्चा चलेको एक वर्ष बित्यो । तर, वर्ष दिनपछि सुटिङ त सुरु भयो तर केकीलाई नराखेर ।
यता, दसैंको छेको पारेर विवाह बन्धनमा बाँधिने तयारी गरिरहेकी नायिका शिल्पा पोखरेललाई छवि ओझाले निर्मात्री बनाएका छन् । चलचित्र ‘हिफाजत–२’ मा शिल्पा निर्मात्रीसँगै नायिकाको भूमिकामा देखिने भएकी हुन् ।
हाल यी दुईको चर्चा विवाहको हल्लाका कारण बढेको छ । उता, छविले शिल्पालाई निर्मात्री बनाउने घोषणा गरिरहँदा पूर्वपत्नी रेखा थापाले भने अबउप्रान्त आफूले चलचित्र निर्देशन नगर्ने बताएकी छन् ।

टिप्पणीहरू